सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रिमियर लिग

आजदेखि सुरु हुँदैछ नेपाली क्रिकेटको महाकुम्भ ‘एनपीएल’

उद्घाटन खेलमा जनकपुर बोट्ल्स र विराटनगर किङ्स भिड्ने । हेर्नुहोस् ‘एनपीएल’बारे सम्पूर्ण जानकारी ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपीएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ ।

यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ । यही मङ्सिर १२ गते नै टिकट बुक गरेका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताए । त्यसो त एनपीएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ ।

विश्व चर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो । भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गुप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२० का स्टार खेलाडीको सहभागिताले पनि एनपीएल निकै चर्चामा आएको हो ।

विश्वचर्चित खेलाडीसँगै एनपीएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन । फ्रेन्चाइज टिम किन्नकै लागि करिब तीन करोड माथिसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले करिब तीन करोड ५७ लाखमा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि कम्तीमा एक करोडभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ । एनपीएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो ।

नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन । आजको उद्घाटनमा खेलमा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल साह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् ।

जनकपुरले एनपीएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुन् ।

दासानायकेले सुरुआतमा सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यसदौरान उनकै प्रशिक्षणमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । त्यस्तै नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलोदशमा भएको विश्वकपमा सहभागितासमेत जनाएको थियो । उनकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोटल्स विश्वस्त रहेको छ ।

जनकपुरका कप्तान अनिल साहले आफनो टोलीको तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको भन्दै टिम जित्नकै लागि मैदानमा उत्रिने बताए । विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगको अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुसी लागेको बताउँदै जनकपुरविरुद्धको पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताए ।

विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् । उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ ।

‘एनपीएल’बारे सम्पूर्ण जानकारी

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आजबाट सुरु हुँदैछ । नेपाली क्रिकेट प्रेमी प्रतियोगिताका लागि व्यग्रतापूर्वक प्रतिक्षामा छन् । नेपाली क्रिकेटको आजबाट सुरु हुने यो महाकुम्भको उद्घाटन खेलमा विराटनगर किंग्स् र जनकपुर बोल्ट्स खेल्दैछन् । यहाँ प्रतियोगिताको विशेषता, सहभागी टिम, मैदान, खेल तालिका, हेर्ने प्लेट्फर्म लगायतका सबै विषयमा जानकारी दिने प्रयास गरिएको छ ।

कुन टोली कस्तो ?
विराटनगर किंग्स

एमएडी ड्रिम स्पोर्ट्सले अक्सनबाट एक करोड ५१ लाख रुपैयाँमा यस टोलीलाई किनेको हो । टिमको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका सन्दीप लामिछाने छन् ।

टोली
मार्की खेलाडी – सन्दीप लामिछाने
अन्य खेलाडी – जितेन्द्र मुखिया, बसिर अहमद, लोकेश बम, दीपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, प्रतिश जिसी, मृगंल गुरुङ, अनिल खरेल, राजेश पुलामी ।
विदेशी खेलाडी – मार्टिन गप्टिल (न्युजिल्यान्ड), अकिब इल्यास (ओमान), क्रिस सोल (स्कटल्यान्ड), इस्मत आलम (अफगानिस्तान), निकोलस किर्तन (क्यानडा) ।
आइकनिक खेलाडी – कमल खत्री, फिर्दोश अन्सारी र सुजन थपलिया ।
मुख्य प्रशिक्षक – केभिन ओ‘ब्रियन
गुडविल ब्रान्ड अम्बासडर – दयाहाङ राई

जनकपुर बोल्ट्स

यो टोली एनपीएलको तेस्रो महँगो टोली हो । ड्रिम स्पोर्ट्सले जनकपुर बोल्ट्सको स्वामित्व दुई करोड पाँच लाखमा किनेको हो । टोलीको मार्की खेलाडीका राष्ट्रिय क्रिकेट टोलीको विकेटकिपर आसिफ सेख छन् ।

टोली
मार्की खेलाडी – आसिफ सेख
अन्य खेलाडी – अनिल साह, ललितनारायण राजवंशी, हेमन्त धामी, सुवास कंसाकार, किशोर महतो, शेर मल्ल, रुपेश सिंह, तुल थापा, आकाश त्रिपाठी, अरनिको यादव ।
विदेशी खेलाडी – जिम्मी निसम (न्युजिल्यान्ड), मोहम्मद माहसिन (पाकिस्तान), जोसुवा ट्रोम्प (अमेरिका), सोहैब मक्सुद (पाकिस्तान), लहिरी मिलान्था (अमेरिका), हर्ष ठाकर (क्यानडा), बेन माइक (इंग्ल्याण्ड) ।
आइकनिक खेलाडी – ओमकार यादव, विशाल सुस्लिन, साइमोन रोय, नविन यादव ।
मुख्य प्रशिक्षक – पुबुदु दासानायके
ब्रान्ड अम्बासडर – पूजा महतो

चितवन राइनोज

चितवन मेडिकल कलेजले यस टोलीलाई एक करोड ७६ लाख रुपैयाँमा किनेको हो । टिमको मार्की खेलाडीको रूपमा नेपाली क्रिकेट टिमका युवा ब्याटर कुशल मल्ल छन् ।

टोली
मार्की खेलाडी – कुशल मल्ल
अन्य खेलाडी – शरद भेषवाकर, कमलसिंह ऐरी, दीपक बोहरा, रिजन ढकाल, सन्तोष कार्की, गौतम केसी, रञ्जित कुमार, विपीन रावल, अमरसिंह रौटेला, दीपेश खतिवडा ।
विदेशी खेलाडी – जान निकोल लफ्टी इटोन (नामिबिया), रवि बोपारा (इंग्ल्यान्ड), लुक बेन्किन्सटन (इंग्ल्यान्ड), हसन एसाखिल (अफगानिस्तान) ।
आइकनिक खेलाडी – सलाहुद्दीन खान ।
मुख्य प्रशिक्षक – उमेश पटवाल

काठमाडौं गुर्खाज

काठमाडौं गुर्खाज एनपीएलको दोस्रो महँगो टोली हो । यसलाई कान्तिपुर मिडिया ग्रुपले तीन करोड ३३ लाखमा किनेको छ। टिमको मुख्य प्रशिक्षकमा वसन्त शाही छन् । राष्ट्रिय टिमका बलर करण केसीलाई काठमाडौंले मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ । काठमाडौंले अक्सनबाट भीम सार्की र साहब आलमलाई सबैभन्दा धेरै १५ लाख रुपैयाँ खर्चिदै टिममा भित्र्याएको छ । स्टेफन एस्किन्जी र डान डथवेथ टिमका चर्चित विदेशी अनुहार हुन् ।

टोली
मार्की खेलाडी – करण केसी
अन्य खेलाडी – साहब आलम, दीपेश कँडेल, कृष्ण कार्की, राशिद खान, विवेक केसी, सुमित महर्जन, शंकर राना, प्रतिक श्रेष्ठ, कृष कार्की ।
विदेशी खेलाडी – गेर्हार्ड इरास्मस (नामिबिया), माइकल लेभिट (नेदरल्यान्ड्स), स्टेफन एस्किन्जी (इंग्ल्याण्ड), डान डथवेट (इंग्ल्याण्ड), नाथन सोटर (इंग्ल्याण्ड)
आइकनिक खेलाडी – क्रिस कार्की ।
मुख्य प्रशिक्षक – वसन्त शाही
ब्रान्ड अम्बासडर – इन्दु बर्मा (क्रिकेटर)
आइकनिक खेलाडी – क्रिस कार्की

पोखरा एभेन्जर्स

यो एनपीएलको सबैभन्दा महँगो टिम हो । नेपाल टी–ट्वान्टी प्रा.लि.ले क्यानबाट तीन करोड ५७ लाखमा टिमको फ्रेन्चाइजी खरिद गरेको हो । टिम भारतीय प्रशिक्षक राजीव कुमारको प्रशिक्षणमा छ । राजीव इन्डियन प्रिमियर लिग (आईपीएल)को टोली चेन्नई सुपर किंग्सका फिल्डिङ प्रशिक्षकसमेत हुन् ।

टोली
मार्की खेलाडी – कुशल भुर्तेल
अन्य खेलाडी – आकाश चन्द, तीर्थराज दास, सागर ढकाल, सुनम गौतम, अमृत गुरुङ, नारायण जोशी, दिनेश खरेल, विपीन खत्री, दिलीप नाथ, किरण ठगुन्ना ।
विदेशी खेलाडी – बास डे लिडे (नेदरल्यान्ड्स), माइकल लिस्क (स्कटल्यान्ड), आन्द्रियास गौस (अमेरिका), म्याट क्रिट्चली (इंग्ल्यान्ड), रेमोन रेफर(वेस्ट इन्जिड) ।
आइकनिक प्लेयर – सुदीप अर्याल ।
मुख्य प्रशिक्षक – राजीव कुमार
मेन्टर – जोन्टी रोड्स

लुम्बिनी लायन्स

फच्र्युन हेल्थ केयरले क्यानबाट एक करोड ८६ लाखमा लुम्बिनीको स्वामित्व किनेको हो । टिमको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कन्सलट्यान्ट प्रशिक्षक समेत रहेका फाडनिस छन् । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचन टिमको मेन्टर छन् । लुम्बिनी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलकै कप्तानीमा मैदान उत्रिनेछ । टिमले अभिनेता राजेश हमाललाई ब्रान्ड अम्बासडरको रूपमा नियुक्त गरेको छ ।

टोली
मार्की खेलाडी – रोहितकुमार पौडेल
अन्य खेलाडी – अर्जुन साउद, सूर्य तामाङ, विकाश आग्री, दिनेश अधिकारी, अभिषेस गौतम, आयुतोष घिरैया, सन्दीप जोरा, दूर्गेश गुप्ता, तिलकराज भण्डारी, विवेक यादव ।
विदेशी खेलाडी – बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मोरेस (इंग्ल्यान्ड), रोमन सिमोन्ड्स (वेस्ट इन्डिज) ।
आइकनिक खेलाडी – आरिफ खान ।
मुख्य प्रशिक्षक – नन्दन फाडनिस
मेन्टर – शक्ति गौचन
ब्रान्ड अम्बासडर – अभिनेता राजेश हमाल

कर्णाली याक्स

एनपीएलमा सबैभन्दा चर्चा भएको टिम हो, कर्णाली याक्स । यो सबैभन्दा सस्तो टोली पनि हो । यसको स्वामित्व हिमालयन बिल्डर्सले क्यानबाट एक करोड ११ लाख रुपैयाँमा खरिद गरेको थियो । यसको प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल छन् ।

कर्णाली नेपाली टिमका नियमित सदस्य सोमपाल कामीको कप्तानीमा मैदान उत्रिनेछ । भारतीय टिमका पूर्वओपनर शिखर धवन सबैभन्दा चर्चित विदेशी खेलाडी हुन् । कर्णालीले नेपाली टिमका युवा अलराउन्डर गुल्शन झालाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । उनलाई किन्न अन्य टिमले पनि प्रतिस्पर्धा गरेका थिए तर, चिठ्ठामार्फत गुल्शनलाई कर्णालीले आफ्नो पक्षमा पारेको हो ।

टोली
मार्की खेलाडी – सोमपाल कामी
अन्य खेलाडी – गुल्शन झा, देव खनाल, मौसम ढकाल, दीपेन्द्र रावत, दीपक डुम्रे, रित गौतम, अर्जुन घर्ती, भुवन कार्की, युनिस सिंह, नन्दन यादव ।
विदेशी खेलाडी – शिखर धवन (भारत), हुसैन तलात (पाकिस्तान), चान्डविक वाल्टन (वेस्ट इन्डिज), बाबर हायात (हङकङ) ।
आइकनिक खेलाडी – विपिनप्रसाद शर्मा ।
मुख्य प्रशिक्षक – ज्ञानेन्द्र मल्ल
ब्रान्ड अम्बासडर – स्वस्तिमा खड्का
यूथ ब्राण्ड अम्बासडर – सिसन बानियाँ

सुदूरपश्चिम रोयल्स

क्यानबाट सुदूरपश्चिम रोयल्सको स्वामित्व इम्पायर स्पार्ट्सले एक करोड ६८ लाख रुपैयाँमा किनेको थियो । टिमको मुख्य प्रशिक्षकमा नेपाली युवा टिमको प्रशिक्षण जिम्मेवारी सम्हालिरहेका जगत टमाटा छन् । सुदूरपश्चिमले अस्ट्रेलियाका पूर्वमध्यक्रम ब्याटर ब्राड हगलाई मेन्टरमा बनाएको छ ।

टिमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले नेपाली टिमकै मध्यमक्रम ब्याटर आरिफ सेखलाई अक्सनबाट १५ लाख रुपैयाँमा किनेको छ ।

टोली
मार्की खेलाडी – दीपेन्द्रसिंह ऐरी
अन्य खेलाडी – विनोद भण्डारी, भोजराज भट्ट, अभिनाश बोहरा, खडक बोहरा, नरेश बुढाएर, अर्जुन कुमाल, इशान पाण्डे, नरेन साउद, आरिफ सेख, अमित श्रेष्ठ ।
विदेशी खेलाडी – ब्रान्डन म्याकमुलम (स्कटल्यान्ड), सेफ अली जेब (इङ्ल्यान्ड), स्टक कगेलेन (न्युजिल्यान्ड), रोहन मुस्तफा (यूएई) ।
आइकनिक खेलाडी – वसन्त खत्री ।
मुख्य प्रशिक्षक – जगत टमाटा
कन्सलट्यान्ट – ब्राड हग
मेन्टर – ब्राड हज
सोसियल एक्टिभिस्ट अम्बासडर – केपी खनाल

खेलाडीको पारिश्रमिक

एनपीएलमा मार्की खेलाडीको पारिश्रमिक २० लाख रुपैयाँ छ । यो रकम क्यानले तय गरेको हो । अन्य नेपाली खेलाडीको पारिश्रमिक अक्सनबाट तोकिएको छ । विदेशी खेलाडीको हकमा भने सम्बन्धित टोलीले तोक्न सक्नेछ । विदेशी खेलाडीको पारिश्रमिक अहिलेसम्म कुनै टिमले सार्वजनिक गरेको छैन ।

पुरस्कार राशी

एनपीएलमा भएको बृहत लगानीले सबैको ध्यानकर्षण गरिरहँदा खेल समर्थकमाझ यसको पुरस्कार राशी कति होला भने चर्चा चलिरहेको छ । समर्थक पनि एनपीएलको पुरस्कार राशी थाहा पाउन आतुर छन् । यद्यपि, क्यानले यसको औपचारिक घोषणा भने गर्न बाँकी नै छ । तथापि, पुरस्कार राशी आकर्षक हुने अनुमान गरिएको छ ।

‘प्लेयर अफ दि सिरिज’लाई कार

एनपीएलको सर्वोत्कृष्ट खेलाडीले एउटा कार प्राप्त गर्नेछ । ‘प्लेयर अफ दि सिरिज’लाई शारडा समूहले कार दिनेछ । एनपीएलको मार्की खेलाडीदेखि अक्सन र ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्दा नेपाली क्रिकेटरको आर्थिक स्थिति बलियो बन्ने आशा सबैले गरेका छन् । खेलाडीको आर्थिक स्थिति सुधार भएसँगै भौतिक संरचना निर्माण र नियमित रुपमा प्रतियोगिताहरु आयोजना भए नेपाली क्रिकेटले नयाँ उचाइ लिने विश्वास छ ।

टिकट मूल्य

त्रिवि क्रिकेट मैदानमा भीआइपी र सामान्यतर्फ गरी लगभग १२ हजार दर्शक क्षमता रहेको छ । उद्घाटन खेलमा टिकटको मूल्य साधारणतर्फ ३०० र भीआइपीतर्फ ७०० रुपैयाँ तोकिएको छ । लिग अन्य खेलमा साधारणतर्फ ३०० र भीआइपीतर्फ ५०० टिकट मूल्य तोकिएको क्यानले जनाएको छ ।

लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ । यस्तै, प्लेअफ खेलमा साधारणतर्फ ५०० र भीआइपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य तोकिएको छ । फाइनल खेलको ५०० र एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । सिजनल पासको लागि साधारणतर्फ ४ हजार ४८० रुपैयाँ र भीआइपीतर्फ ८ हजार २४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ ।

कसरी हेर्ने ?

क्यानले एनपीएलको अन्तराष्ट्रिय प्रसारणका लागि स्टार स्पोर्ट्ससँग सम्झौता गरेको छ । स्टार स्पोर्ट्स क्रिकेट खेल प्रसारण गर्ने विश्वकै चर्चित टीभी च्यानल हो । युट्युब वा इन्टरनेटमा फ्यानकोड च्यानलबाट हेर्न सकिनेछ ।

नेपालको हकमा भने डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । डिशहोमले एनपीएलका सबै खेल प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी नामक युट्युब च्यानलमा प्रशारण गर्नेछ । एनपीएलका सम्पूर्ण खेलहरु नेपालभित्र जुनसुकै स्थानबाट सहज रुपमा हेर्न सकिनेछ ।

राइट्स/स्पोन्सर

एनपीएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक हो । विज्ञापन एजेन्सी ब्रान्ड डिजिटल लजिक प्रा.लि.ले क्यानले मागेको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रूपैयाँ बोली लगाएर एनपीएलको प्रचार र व्यवस्थापनको अधिकार प्राप्त गरेको छ ।

यस सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको जिम्मेवारी ब्रान्ड लजिकलाई दिइएको छ । एनसेलले नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजन गर्ने भएको छ । यद्यपी, लागत भने खुलाइएको छैन ।

कमेन्टेटर

एनपीएलमा ६ जना विदेशीले कमेन्ट्री गर्ने भएका छन् । कमेन्टेटरमा अमेरिकाका एन्ड्रयु लेनर्ड, एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानी छन् । एन्ड्रयु नेपाली क्रिकेटमा चिनिएका कमेन्टेटर हुन् । नेपालका हरेक खेल प्रायः उनले नै कमेन्ट्री गर्दै आएका छन् । एचडी दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी हुन् भने ड्यारेन इङ्ल्यान्डका पूर्वक्रिकेटर हुन् । उनले इङ्ल्यान्डबाट टेस्ट, ओडीआई र टी–२०आई खेल खेलेका छन् ।

यस्तै, श्रीधरण भारतीय क्रिकेट टोलीका पूर्वसदस्य हुन् । उनले सन् २००० देखि २००४ सम्म भारतका लागि खेलेका थिए । मिखाइल पनि भारतका पत्रकार तथा कमेन्टेटर हुन् । र, मोनाली क्यानडाकी पूर्वक्रिकेटर हुन् । उनले सन् २०१९ मा क्यानडाबाट दुई टी–२०आई खेल खेलेकी छन् । कमेन्टेटरमा अमेरिकाका एन्ड्रयु लेनर्ड, एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानी छन् ।

धरहराबाट ट्रफी सार्वजनिक

एनपीएलको ट्रफी सार्वजनिक भइसकेको छ । १० मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी निकै आर्कषक छ । ट्रफीको माथिल्लो भागमा रहेको ढुङ्गा चर्चामा रहेको छ । उक्त ढुङ्गा सगरमाथाको कालापत्थरबाट ल्याइएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले त्यहाँबाट ल्याएको बताएका थिए । नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुङ्गा राखिएको क्यानका सचिव पारस खड्काले बताएका थिए ।

खेल तालिका

१५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्टको भिडन्त हुनेछ । उद्घाटन खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुने क्यानले जनाएको छ । फाइनल खेल भने ६ पुसमा हुनेछ । लिगका खेल हरेक दिन दुई वटा हुनेछ ।

मंसिर १५ गते

विराटनगर किङ्गस भर्सेस जनकपुर बोल्टस् दिउँसो १२ः१५ बजे

मंसिर १७ गते

काठमाडौं गुर्खाज भर्सेस चितवन राइनोज बिहान ९ः१५ बजे
जनकपुर बोल्टस् भर्सेस कर्णाली याक्स दिउँसो १ः१५ बजे

मंसिर १८ गते

सुदूरपश्चिम रोयल्स भर्सेस विराटनगर किङ्गस बिहान ९ः१५ बजे
चितवन राइनोज भर्सेस पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे

मंसिर १९ गते

कर्णाली याक्स भर्सेस काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
विराटनगर किङ्गस भर्सेस लुम्बिनी लायन्स दिउँसो १ः१५ बजे

मंसिर २० गते

पोखरा एभेन्जर्स भर्सेस जनकपुर बोल्टस् बिहान ९ः१५ बजे
काठमाडौं गुर्खाज भर्सेस सुदूरपश्चिम रोयल्स दिउँसो १ः१५ बजे

मंसिर २१ गते

कर्णाली याक्स भर्सेस चितवन राइनोज बिहान ९ः१५ बजे
लुम्बिनी लायन्स भर्सेस पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे

मंसिर २२ गते

लुम्बिनी लायन्स भर्सेस सुदूरपश्चिम रोयल्स बिहान ९ः१५ बजे
कर्णाली याक्स भर्सेस विराटनगर किङ्गस दिउँसो १ः१५ बजे

मंसिर २३ गते

जनकपुर बोल्टस् भर्सेस लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
सुदूरपश्चिम रोयल्स भर्सेस चितवन राइनोज दिउँसो १ः१५ बजे

मंसिर २५ गते

चितवन राइनोज भर्सेस लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
कर्णाली याक्स भर्सेस पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे

मंसिर २६ गते

जनकपुर बोल्टस् भर्सेस सुदूरपश्चिम रोयल्स बिहान ९ः१५ बजे
काठमाडौं गुर्खाज भर्सेस लुम्बिनी लायन्स दिउँसो १ः१५ बजे

मंसिर २७ गते

पोखरा एभेन्जर्स भर्सेस विराटनगर किङ्गस बिहान ९ः१५ बजे
जनकपुर बोल्टस् भर्सेस काठमाडौं गुर्खाज दिउँसो १ः१५ बजे

मंसिर २८ गते

लुम्बिनी लायन्स भर्सेस कर्णाली याक्स बिहान ९ः१५ बजे
विराटनगर किङ्गस भर्सेस चितवन राइनोज दिउँसो १ः१५ बजे

मंसिर २९ गते

पोखरा एभेन्जर्स भर्सेस काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
चितवन राइनोज भर्सेस जनकपुर बोल्टस् दिउँसो ११५ बजे

मंसिर ३० गते

विराटनगर किङ्गस भर्सेस काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
पोखरा एभेन्जर्स भर्सेस सुदूरपश्चिम रोयल्स दिउँसो १ः१५ बजे

मंसिर ३१ गते

सुदूरपश्चिम रोयल्स भर्सेस कर्णाली याक्स बिहान ९ः१५ बजे

पुस ३ गते

तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर) बिहान ९ः१५ बजे
पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर) दिउँसो १ः१५ बजे

पुस ४ गते

एलिमिनेटर विजेता भर्सेस पहिलो क्वालिफायरमा पराजित टोली (दोस्रो क्वालिफायर) दिउँसो १२ः१५ बजे

पुस ६ गते

फाइनल – पहिलो क्वालिफायर विजेता भर्सेस दोस्रो क्वालिफायर विजेता दिउँसो १२ः१५ बजे

सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार ०५:४८

लोकप्रिय