बाँकेमा दुर्घटनाको जोखिम बढ्दै गए पनि चालकहरूले अनियन्त्रित गतिमा सवारी दौडाउने गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले पनि जिल्लाका मुख्य राजमार्गमा विशेष निगरानी बढाएको छ । दिनहुँजसो सामान्य दुर्घटना भइरहने र चालकहरूले तीव्र गतिमा सवारी हाँक्ने हुँदा सुरक्षाका लागि प्रहरीले कदम चालेको छ ।
अहिले जिल्लाका मुख्य राजमार्गमा ‘राडार गन’सहितको ट्राफिक प्रहरीले छड्के जाँच सुरु गरेको छ । बाँकेमा तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही ‘राडार गन’सहित विशेष अभियान सुरु गरेको छ । तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले ‘राडार गन’सहित विशेष अभियान सुरु गरेको हो ।
सवारीको गति मापन गर्ने यन्त्र ‘राडार गन’को प्रयोग प्रभावकारी बन्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक पुस्करराज पन्तले जानकारी दिए । उनका अनुसार ‘राडार गन’को प्रयोग गरेर कारबाही अभियान थालेपछि सवारी दुर्घटना कम हुँदै गएको छ । ‘राडार गन’बाट टाढाको दुरीमा गुडेको गाडीको गति क्यामेराबाट थाहा पाउन सकिन्छ ।
प्रहरी निरीक्षक पन्तले भने, ‘राडार गनसहित ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा ट्राफिक प्रहरी खटिएपछि अभियान प्रभावकारी बन्दै गएको छ ।’ सवारी चालकले ट्राफिक नियम जान्दाजान्दै पनि लापरवाही गर्ने सवारी चालकमाथि ‘राडार गन’को प्रयोग गरेर कारबाही अभियान थालेपछि सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको उनको भनाई छ ।
अधिकांश हुने सवारी दुर्घटना तीब्र गतिका कारण भएको पाइएपछि ‘राडार गन’ प्रयोगमा ल्याइएको उनले बताए । मादक पदार्थ सेवन (मापसे) चेकजाँच गर्न ब्रेथलाइजर मेसिनसँगै ट्राफिक नियमको बेवास्ता गर्दै सवारी चलाउँदा दुर्घटना हुने गरेको चालकलाई सचेत गराउँन ‘राडार गन’ प्रयोगमा ल्याइएको ट्राफिक प्रहरीको भनाई छ ।
राजमार्गका बजार क्षेत्रमा ५० किलोमिटर प्रतिघण्टाका दरले गाडी कुदाउन सकिने भए पनि ट्राफिक नियमको बेवास्ता गर्दै प्रतिघण्टा ८० देखि ८५ किलोमिटरसम्मको गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेकोले चालकलाई सचेत गराउन ‘राडार गन’ प्रयोगमा ल्याइएको ट्राफिक प्रहरी प्रमूख प्रहरी निरीक्षक पन्तले जानकारी दिएका छन् ।
‘राडार गन’ले टाढै रहेको सवारीको गति मापन गर्ने भएकाले ट्राफिक प्रहरीलाई देखेपछि मात्रै गति कम गर्ने प्रवृत्ति अन्त्य हुने र दुर्घटनाको सङ्ख्या कम हुँदै गएपछि यात्राका लागि सुरक्षित हुने ट्राफिक प्रहरीको विश्वास छ । प्रहरी निरीक्षक पन्तका अनुसार ‘राडार गन’मा रहेको सेन्सरमा परेको सवारीको गति सवारीमा जति छ गनमा पनि त्यति नै देखिन्छ ।
‘राडार गन’ले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा ८० देखि ८५ किलोमिटर भन्दामाथिको गतिमा सवारी कुदेको देखिएको ट्राफिक प्रहरीको भनाई छ । ‘राजमार्गका बस्ती भएको क्षेत्रमा ५० भन्दा बढी स्पिड हुनुहुँदैन । त्योभन्दा बढी स्पीड गर्ने सवारीलाई कारबाही हुन्छ,’ प्रहरी निरीक्षक पन्तले भने, ‘बस्ती भएको क्षेत्रमा चालकले चाहेको गतिमा सवारी कुदाउन पाइँदैन ।’
सकेसम्म दुर्घटना हुनै नदिन र नसके न्यूनीकरण गर्न ‘राडार गन’को प्रयोग थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पन्त बताउँछन् । ‘चालकले हामीलाई देखेको हुँदैन, तर हामीले सवारीको गति थाहा पाइसकेका हुन्छौँ,’ उनले भने, ‘सडक दुर्घटना न्यूनीकरण गर्न ठाउँठाउँमा मापसे चेकजाँचसँगै ‘राडार गन’को प्रयोग गरी दुर्घटना न्यूनीकरण अभियानलाई तीव्र पारेका छौं ।’
बाँकेमा ट्राफिक प्रहरीले जनधनको क्षति रोक्न ट्राफिक सम्बन्धी जनचेतना, चेकजाँचमा कडाई, ठाउँठाउँमा रिफ्रेस सेन्टर र बजार क्षेत्रमा नो पार्किङ गर्नेदेखि पछिल्लो पटक ‘राडार गन’को प्रयोगसम्म गर्दै आएको छ । बाँकेमा मुख्य राजमार्गसँगै शहरोन्मुख क्षेत्रमा लामो तथा छोटो दुवै दूरीका सवारी साधनको मात्रा ह्वात्तै बढेको छ ।
चेकजाँचमा पुग्ने बेला सुस्त गतिमा सवारी गुडाए पनि ट्राफिक प्रहरीको नजर छलिने बित्तिकै द्रुतगतिमा गाडी दौडाउने सवारी चालकहरुको बदमासीलाई नियन्त्रण गर्न ‘राडार गन’को प्रयोग प्रभावकारी बनेको बताउँदै ट्राफिक प्रहरी प्रमुख पन्तले भने, ‘सवारीको गति टाढैबाट मापन गर्न सकिने भएकाले चालकले ढाँट्न छल्न पाउने कुरै हुँदैन ।’
ट्राफिक प्रहरी कार्यालय बाँकेले कात्तिक ७ गतेदेखि बाँकेको अति व्यस्त रहने नेपालगन्ज–कोहलपुर सडक खण्डमा ‘राडार गन’ प्रयोग ल्याएसँगै २७७ वटा सवारी कारबाहीमा परेका छन् । दैनिकजसो दुर्घटना हुने उक्त सडक खण्डमा ‘राडार गन’ प्रयोगपछि कारबाहीको संख्या बढ्नुका साथै सवारी दुर्घटनामा कमी आएको ट्राफिक प्रहरी प्रमूख पन्तले जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके