नेपालगन्जस्थित नेपालगन्ज भन्सार कार्यालयमा भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउन भनेर ल्याइएको लगेज स्क्यानर मेसिन बिग्रेको बर्षौं भइसक्यो । भन्सार कार्यालयले मेसिन मर्मत नगर्दा यात्रुको लगेज चेकजाँचमा समस्या भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयको नेपाल–भारत सीमाक्षेत्र जमुनाहा नाकास्थित यात्रु आगमन कक्षमा राखिएको सो लगेज स्क्यानर मेसिनको मर्मत नहुँदा अलपत्र परेर थन्किएको छ । दैनिक हजारौंको सङ्ख्यामा सर्वसाधारण यात्रुहरु नेपालबाट भारततर्फ पैदल र भारतबाट नेपालतर्फ आउजाउ गर्ने उक्त नाकामा मेसिन बिग्रँदा भन्सार कर्मचारी र सशस्त्र प्रहरीले सामानहरु हातले छामछुम पार्दै छाड्ने गरेका छन् ।
नेपालबाट भारततर्फ जाने सर्वसाधारणका लागि भने पारिपट्टि भारतीय एसएसबीले राखेको स्क्यानरमा मालसामान चेकजाँच गराउने व्यवस्था छ । एसएसबीले मालसमानको मात्र नभएर प्रत्येक व्यक्तिका लागि अलग्गै स्क्यानरको व्यवस्था गरेको छ । एकातिर मालसामानको स्क्यानिङ हुन्छ भने अर्कोतिर व्यक्तिको चेकजाँच हुन्छ । वारि नेपालपट्टि भने भारतबाट नेपाल आउने सर्वसधारणका मालसामान भएका झोला, पोका पुन्तुराहरु भन्सार कर्मचारी र शसस्त्र प्रहरीका कर्मचरीले हातैले छामछुम गरेर नेपाल भित्रिन्छन् ।
मेशिन बिग्रिएको यत्तिका वर्ष हुँदा समेत मर्मत गराएर सञ्चालनमा नल्याउँदा भन्सार कर्मचारी र शसस्त्र प्रहरीका कर्मचारीलाई दैनिक हजारौं व्यक्तिको सामानहरु छामछुम गर्न सास्ती खेप्नुपर्ने, बढी समय लाग्ने तथा सुरक्षा खतरा एकातिर छ भने गन्तव्यमा छिट्टै पुग्नुपर्ने बाध्यतामा रहेका यात्रुहरुले पनि बेक्कारको झन्झट व्यहोर्नुपरेको कर्मचारीको भनाइ छ ।
जमुनाहा नाकामा राखिएको ‘लगेज स्क्यानर मेसिन’ गत ६ वर्षदेखि बिग्रिएर थन्किए पनि हालसम्म मर्मतसम्भार नहुँदा मालसामान चेकजाँचमा समस्या भइरहेको छ । भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि नाकामा राखिएको ‘लगेज स्क्यानर मेसिन’ बिग्रिएर थन्किएपछि भन्सार कर्मचारीले हातैले मालसामान छामेर जाँच गर्नुपर्ने बाध्यता रहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
जमुनाहा नाकामा रहेको यात्रु आगमन कक्षमा राखिएको ‘लगेज स्क्यानर मेसिन’ सञ्चालन नहुँदा मालसमान जाँचपासमा समस्या भएको हो । सूचना अधिकारी लम्सालका अनुसार अन्तर्राष्ट्रिय सीमानाकाको संवेदनशीलतालाई बुझेर भन्सार परीक्षणलाई पारदर्शी, सरल तथा सहजताका लागि भन्सार विभागले २०७४ सालमा नेपालगन्ज भन्सार कार्यालयलाई लगेज स्क्यानर मेसिन खरिद गरी पठाएको थियो ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार उक्त मेसिन जमुनाह नाकास्थित भन्सार कार्यालयको यात्रु आगमन कक्षमा लगेर राखेको दुई वर्षपछि बिग्रिएकोमा हालसम्म पनि मर्मत गरिएको छैन । दैनिक हजारौँ सर्वसाधारण यात्रु नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ पैदल आउजाउ गर्ने उक्त नाकामा मेसिन बिग्रिँदा भन्सार कर्मचारी र सुरक्षाकर्मीले सामान हातैले छामछुम पार्दै जाँच गर्ने गरेका छन् ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बिग्रेको स्क्यानर मेसिनलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन कठिन भएकाले नयाँ मेसिन खरिद गर्नुपर्ने र सोभन्दा अघि उक्त मेसिनका लागि आवश्यक भवनदेखि जग्गा र प्राविधिकको व्यवस्था गर्नुपर्ने बताए । पुरानो मेसिन मर्मतमा धेरै बजेट लाग्ने भएकाले नयाँ स्क्यानर मेसिन खरिद र यात्रु कक्ष सुधारका लागि भन्सार विभागमा जानकारी गराएको उनको भनाइ छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले लगेज स्क्यानर मेसिन बिग्रिएको छ वर्षसम्म पनि मर्मतसम्भार वा नयाँ खरिद गर्न नसक्नु सम्बन्धित निकायको बेवास्ता र लापर्बाही भएको बताए । लगेज स्क्यानर मेसिन सञ्चालन नहुँदा सामान जाँचमा बढी समय लाग्दा गन्तव्यमा छिट्टै पुग्नुपर्ने बाध्यतामा रहेका यात्रुले पनि झन्झट बेहोर्नु परिरहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके