प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही जोडिएको भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि समेत अनुसन्धान गर्नुपर्ने रायसहितको मुद्दा दर्ता गरिएको छ ।
सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गएको मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय ललितपुरमा बुझाएको थियो ।
सीआइबीले एसपी थापाको कागजी बयान मात्र लिएको थियो । सरकारी वकिल कार्यालयले सीआइबीको प्रतिवेदन चार दिन अध्ययन गरेर आइतबार मुद्दा दर्ता गराएको हो । सीआइबीअघि जिल्ला प्रहरी परिसर ललितपुरले घटनाको अनुसन्धान गरेको थियो ।
ललितपुर प्रहरीको अनुसन्धानमा उक्त घटनामा पक्राउ परेका इटहरीका ताज इस्लाम र दर्शन पोखरेल समूहले ललितपुरका एक व्यवसायीलाई हनी ट्रयापमा पारेर रकम असुल गरेको खुलेपछि थप अनुसन्धानका निम्ति ललितपुर प्रहरीले प्रतिवेदन सीआइबीलाई बुझाएको थियो ।
प्रतिवेदन र पक्राउ परेका आरोपितमाथि सीआइबीले छुट्टै अनुसन्धान गरेको थियो । इटहरीकै भीमादेवी थापा र सुस्मा विकसहितको समूहले हनी ट्रयापमा पारेर ती व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गर्ने प्रयास गरेको थियो । १० लाख रुपैयाँ भीमादेवीको खातामा ‘ट्रान्सफर’ समेत गरिएको थियो ।
बाँकी रकमको चेक प्रहरीले बरामद गरेको थियो । सोही घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख एवं इन्स्पेक्टर शाहीको संलग्नता देखिएको थियो । उनीविरुद्ध समेत ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै उनी पदबाट निलम्बित छिन् ।
इन्स्पेक्टर शाही हालसम्म पनि फरार छिन् । पक्राउ परेका ताजको मोबाइल हालसम्म फेला परेको छैन । इन्स्पेक्टर शाहीको मोबाइलको समेत डिजिटल फरेन्सिक जाँच नहुँदा थप विवरण खुल्न सकेको छैन । सीआइबीले शाहीसहित ६ जनाविरुद्ध आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं