सूचनाको शक्ति - The Power Of Information

        

तीन वर्षमा १५० प्रतिशतले बढ्यो ‘आर्थिक अपराध’, ‘चेक बाउन्स’ धेरै 

कोरोना महामारीयता आर्थिक मन्दी बढ्दै जाँदा नेपालमा आर्थिक अपराधको जालो वर्षेनी बढ्दै जान थालेको छ । नेपाल प्रहरीबाट प्राप्त तथ्यांकअनुसार प्रत्येक वर्ष आर्थिक अपराधको जालो बढ्दै जान थालेको पाइएको छ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक अनुसार नेपालमा आर्थिक अपराध १४५ प्रतिशतभन्दा बढीले बढेको हो । आर्थिक वर्ष २०७८–०७९ मा सबैखाले गरी ५ हजार ४०१ वटा आर्थिक अपराधका घटना प्रहरी समक्ष पुगेका थिए । जुन, आर्थिक वर्ष २०८०–०८१ सम्म आइपुग्दा डेढ सय प्रतिशले बढेर १३ हजार २६४ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१–० मा १३ हजार २६२ वटा आर्थिक अपराधका घटना प्रहरी समक्ष दर्ता भएका छन् । यस अवधिमा आर्थिक अपराधका घटना ७ हजार ८६२ ले बढेको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा नेपाल प्रहरी समक्ष १२ हजार ७५ वटा आर्थिक अपराधका घटना दर्ता भएका थिए । यी तथ्यांकले नेपालमा आर्थिक अपराधका घटना बढ्दै गइरहेको देखाउँछ ।

सबैभन्दा बढी ‘चेक बाउन्स’

कोरोना महामारीपछि नेपाली बजारमा आर्थिक मन्दी जारी छ । सत्तापक्षले आर्थिक मन्दी स्वकार नगरेपनि बजार चलायमानको स्थिती केलाउँदा नेपाली अर्थतन्त्र मन्दीमा गुज्रिरहेको छ । यस्तो अवस्थामा आर्थिक अपराधका घटना बढ्दो अवस्थामा छ । यसमा पनि ‘चेक बाउन्स’का घटना सबैभन्दा धेरै भएका छन् ।

गत आर्थिक वर्ष २०८०–०८१ सम्म १३ हजार १८६ वटा ‘चेक बाउन्स’ घटना प्रहरीमा दर्ता भएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७९–०८० को तुलनामा १ हजार १५६ बढी हो । अघिल्लो आर्थिक वर्ष १२ हजार ३० वटा चेक बाउन्सका घटना भएका थिए । यस्तै आर्थिक वर्ष २०७८–०७९ मा ५ हजार ३७० वटा ‘चेक बाउन्स’का घटना प्रहरी समक्ष दर्ता भएका थिए ।

नौं प्रकारका आर्थिक अपराध, के–के छन् ?

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा विभिन्न ९ प्रकारका आर्थिक अपराध घट्ने गर्छन् । जसमध्ये चेक बाउन्स, हुण्डी, नेपाल राष्ट्र बैंक ऐन विरुद्धको कसुर छन् । यस्तै, अनधिकृतरुपमा चेक, चेक बुक वा बैंकिङ्ग विवरण प्राप्त गर्न वा दिन नहुने, अनधिकृतरुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने जस्ता आर्थिक अपराध समेत घट्छन् ।

यसैगरी, विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने, बैंकिङ्ग स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गर्ने, बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई झुक्याएर कारोबार गर्ने र गैर कानूनरुपमा बैंकिङ्ग कारोबार गर्नेगरी कूल ९ प्रकारका आर्थिक अपराध घट्ने प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

महिलाभन्दा पुरुष बढी, विदेशीको समेत संलग्नता

आर्थिक अपराधको उजुरीपछि पक्राउ पर्नेहरुको संख्या महिलाको भन्दा दोब्बर तेब्बरले पुरुषको बढी छ । प्रहरीबाट प्राप्त तथ्यांकअनुसार २०८०–०८१ मा पक्राउ परेकामध्ये पुरुषको संख्या २ हजार ८७४ जना छन् । यस्तै महिलाको संख्या ५०२ र विदेशीको संख्या ५३ छ । आर्थिक अपराधको कसुरमा पक्राउ पर्ने विदेशीहरु सबैभन्दा धेरै चेक बाउन्समा नै छन् ।

यस्तै आर्थिक वर्ष २०७९–०८० मा १ हजार ९२६ जना पुरुष आर्थिक अपराधको कसुरमा पक्राउ पर्दा ४७५ जना महिला र १२ जना विदेशी थिए । आर्थिक वर्ष २०७८–०७९ मा १ हजार २३१ जना पुरुष, १९८ जना महिला र ९२ जना विदेशी आर्थिक अपराधको कसुरमा पक्राउ परेका थिए । यो तथ्यांकले आर्थिक अपराधको कसुरमा पक्राउ पर्नेको संख्या प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको देखाउँछ ।

आर्थिक मन्दीले बढ्यो अपराधको तथ्यांक

पूर्व बैंकर तथा वित्तीय साक्षरता नेपालका भुवन दाहाल कोरोना महामारीका कारण सुरु भएको आर्थिक सुस्तताले नै आर्थिक अपराध बढेको मान्छन् । उनका अनुसार सबैभन्दा बढी चेक बाउन्सका घटना प्रहरी समक्ष पुगेकाले चेतनाको अभाव भन्न मिल्दैन । ‘पैसा नभएको खाताबाट चेक काट्दा कारबाहीमा परिन्छ भन्ने सबैलाई जानकारी छ,’ दाहाल भन्छन्, ‘आर्थिक सुस्ततका कारणले मानिसहरुसँग पैसा छैन । यहीकारण, कारोबार बिग्रिँदैछ ।’

यस्तै, २०७८ सालयता निरन्तर रुपमा कालोसूचीमा पर्नेहरुको संख्या बढ्दो अवस्थामा छ । यो आर्थिक सुस्ततासँगै बैंकको ऋण तिर्न नसकेपछिको परिणाम हो । नेपाल बैकर्स संघका पूर्व अध्यक्ष समेत रहेका दाहालका अनुसार कोरोना महामारीयता आर्थिक कारोबारमा सुस्तता छाउँदा उधारो कारोबार बढेको र बजार लयमा नफर्कदा चेक बाउन्स लगायतका घटना बढेको बताए । कर्जा सूचना केन्द्रका विजय कुवर ७८ साल यता कालोसूचीमा पर्नेको संख्या बढ्न थालेको र यसमा चेक बाउन्सका कारण पर्नेहरुको संख्या उल्लेख्य रहेको बताउँछन् ।

उनी भन्छन्, ‘अहिले दैनिक एकदेखि दुई सयसम्म कालोसूचीमा राख्न निवेदन आउँछन् । यसमध्ये ७० प्रतिशत चेक बाउन्सको घटना हुन्छन् ।’ चेक बाउन्स बाहेकका अन्य घटनामा भने वित्तीय चेतनाको अभाव देखिन्छ । यद्यपी, यसमा पनि हुण्डी लगायतका आर्थिक अपराध पर्ने भएकाले वित्तीय चेतनासँगै अपराधिक मानसिक्ताले समेत काम गरेको हुन सक्ने नेपाल प्रहरीको आँकलन छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १७:१२

लोकप्रिय