सूचनाको शक्ति - The Power Of Information

        

बैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु हुनुअगावै ४९ लाख दान संकलन

नेपालगन्जमा हिजोदेखि ‘बैकुण्ठधाम आध्यात्मिक महोत्सव’ श्रीमद्भागवत ज्ञानकथा यज्ञ सुरु भएको छ । नेपालगन्जको रामलीला मैदानमा हिजोदेखि सुरु भएको महोत्सव कार्तिक ३० गतेसम्म चल्ने जनाइएको छ । सुविधायुक्त बैकुण्ठधाम सिधनियाघाटको योजनालाई सार्थक बनाउन बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना गरिएको हो ।

बाँके र यस आसपासका नागरिकले वर्षौंदेखि प्रियजन र आफन्तजनको निधनपछि दाहसंस्कार गर्दा भोग्नुपरेको समस्या र दाहसंस्कारमा सहभागीहरुले ब्यहोर्नुपरेको दुःखलाई मध्यनजर गर्दै परिकल्पना गरिएको सुविधायुक्त बैकुण्ठधाम सिधनियाघाटको योजना बनाइएको हो । यही योजनालाई सार्थक बनाउन महोत्सवको आयोजना गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समितिका संयोजक डा.सुरेशकुमार कनोडियाले जानकारी दिए ।

महोत्सवलाई व्यवस्थित बनाउन सबै वर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर दुई हजार बढी सदस्य रहेको मूल समिति र त्यसअन्तर्गत रहने गरी ११० बढी उपसमिति गठन गरिएको छ । डुडुवा–५ सिधनियाघाटमा प्रस्तावित बैकुण्ठधाम सिधनियाघाटको प्रचारप्रसार तथा धाम निर्माणलाई सबैको संलग्नता प्रदान गर्न वाचन शिरोमणि पं.दीनबन्धु पोख्रेलको प्रमुख वाचनसहित उनको संगीतमय टोलीले महोत्सव अवधिभर भागवत प्रवचन गर्नेछ ।

महोत्सव तथा भागवत वाचनका बीचमा इच्छुक भक्तजनहरुबाट ब्रतबन्ध, चौरासीपूजा, तुलादान, रुद्री पूजनजस्ता अनुष्ठान समेत गर्ने गरी व्यवस्था मिलाइएको छ । वाचन शिरोमणि पोख्रेलले पूर्वीय संस्कार र विज्ञानलाई जोडेर सबै धर्मलाई समेट्ने गरी संगीतमय वाचन हुने बताए । महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन महोत्सवस्थलमा पूर्णरुपमा सिसि क्यामेरा जडान गरिएका छन् भने खानेपानी, शौचालय, विश्राम स्थलसहित प्रसाद वितरण, व्यवस्थित बसाइ र वाटरप्रुफ पण्डालको व्यवस्था गरिएको छ ।

महोत्सवमा दान गर्न चाहने इच्छुक दाताहरुलाई मर्यादा अनुसार रथारोहणदेखि विशेष सम्मान प्रदान गर्ने बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समितिका संयोजक कनोडियाले जानकारी दिए । उनका अनुसार दानलाई पारदर्शी बनाउन क्युआर, नगदी रसिद र बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको छ । राप्ती नदीको सिधनियाघाटमा बैकुण्ठधाम बनाउनका लागि १४ कठ्ठा जग्गा खरिदका लागि प्रतिकठ्ठा आठ लाखका दरले बैना दिइएको छ ।

१४ कठ्ठा जग्गा किन्दा नदीमा परेको थप १४ कठ्ठा जग्गा निःशुल्क दिने सहमति गरिएको छ । बैकुण्ठधाम आध्यात्मिक महोत्सवलाई सफल बनाउन शहरमा रहेका र आ–आफ्ना क्षेत्रमा अगुवाइ गरेका हरेकलाई समेटिएको छ । आध्यात्मिक महोत्सवबाट संकलन भएको रकमले जग्गा खरिद गर्ने महोत्सवका प्रचारप्रसार संयोजक हेमन्त कर्माचार्यले जानकारी दिए । उनका अनुसार बैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु हुनु अगावै ४९ लाख रुपैयाँ दान संकलन भइसकेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १६:०६

लोकप्रिय