यम पञ्चकको पाँचौं दिन देश तथा विदेशमा भाइटीका मनाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो पर्वको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयाको दिन यो पर्व मनाउने गरिन्छ । भाइटीकाको साइत आज बिहान ११ः३७ बजे रहेको छ ।
टीका पश्चिम मोहडा गरेर लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार नेवार समुदायले मनाउने किजापूजा पनि आजै गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि शुरू भएको थियो ।
यो दिनको महत्वलाई बुझाउन विभिन्न किसिमका पौराणिक किंवदन्ती एवं ऐतिहासिक कथाहरु सुन्ने गरिएको छ । एउटा पौराणिक कथा अनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको कथा चर्चित छ ।
यस दिन यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छा अनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लगाउनेहरुलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद दिएका थिए । सोही समयदेखि यो पर्व मनाउन थालियो । यस्तै किंवदन्तीहरुका अनुसार कात्तिक शुक्ल द्वितीया विशेष कारणले महत्वपूर्ण छ ।
अर्काेतर्फ, किराँत राजा बलिहाङको प्रसंग पनि चर्चित छ । एकदिन बलिहाङ रोगले थलिएर मृत्युको मुखमा पुगेका थिए । उनको मिति पुगेपछि यमराज उनलाई दिन मत्र्यलोक आए । सोही समयमा उनकी दिदी यमुना पनि आफ्नो भाइलाई तिहारको टीका लगाउनको लागि उनको घरमा पुग्छिन् ।
राजा बलीलाई लिन आएका यमराजसँग दिदी यमुनाले भाइको आयु थपिदिन आग्रह गरिन् । सोही क्रममा उनले यमराजलाई बलीसँगै टीका लगाउन अनुरोध गरिन् । यमराजले यमुनासँग टीका लगाइसकेपछि दक्षिणा स्वरुप एउटा वर माग्न भनेपछि यमुनाले यमराजसँग कुनै पनि भाइले कात्तिक शुक्ल द्वितीयाको दिन दिदीबहिनीको हातबाट टीका लगाएका छन् ।
उनीहरुलाई दिदीले लगाएको मखमलीको माला नसुकेसम्म र तेलको धारो नसुकेसम्म कुनैपनि भाइले मर्न नपरोस् भन्ने वर मागिन् । यमराजले पनि तेलको धारा नसुकुन्जेलसम्म बलिहाङलाई नलैजान सहमत भएर उनी फर्किए । महिना बित्यो, वर्ष बित्यो । न त कहिलै तेलको धारा सुक्यो न त मखमली नै ।
यसरी दिदीबहिनीको दाजुभाइप्रतिको प्रेमबाट यमराजसमेत आजित भएको किंवदन्ती छ । सोही सम्झनामा यो पर्व मनाउन थालिएको हो । त्यसैले द्वितीयाको दिन दाजुभाइ र दिदी बहिनीबीचको प्रेम र आपसी सद्भावको पर्व मानिन्छ । यो दिन दिदीबहिनीले दाजुभाइलाई आफ्नो घरमा बोलाएर आफ्नै हातबाट बनेको स्वादिष्ट भोजन गराउने गर्छन् ।
भोजनपछि आफ्नो दाजु या भाइहरुलाई निधारमा सप्तरंगी टीका लगाउने गरिन्छ । यही दिन आफ्नो घरको मूलद्वारमा ओखर फुटाउने चलन समेत छ । आफ्ना भाइहरुको सबै पीडाहरु ओखरसँगै फुटेर जान्छ भन्ने मान्यताको प्रतीक हो । यो दिन टीकाटालो सकेर दाजुभाइहरुले पनि दिदीबहिनीहरुलाई टीका लगाइदिने गरिन्छ ।
टीकापछि दिदीले भाइलाई पान उपहार स्वरुप दिने मान्यता पनि कताकतै पाइन्छ । यसका साथै विभिन्न भाइमसला र अरु उपहार पनि दिने चलन छ । मान्यता यो पनि छ कि पानलाई उपहारको रुपमा दिँदा बहिनीको सौभाग्य अखण्ड हुन्छ भन्ने मान्यता छ । शास्त्रानुसार आजको दिनमा जुन भाइले आफ्नो घरमा भोजन गर्छ उसलाई दोष लाग्ने समेत मान्यता छ ।
यदि बहिनीको घर जान असम्भव भएको खण्डमा कुनै पनि नदीको तटमा या गाइलाई नै आफ्नो बहिनी मानेर उसको समीप गएर भोजन गर्नुपर्छ भन्ने समेत मान्यता छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । अश्वस्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, मार्कण्डेय, पर्शुराम अष्ट चिरञ्जीवी भित्र पर्छन् ।
भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सय पत्रीको माला, रोटी, मिठो–मिठो परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ ।
पानी तथा तेलले सात घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ ।
शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा गरिएको छ भने नेपाल संवत् ११४५ पनि प्रारम्भ भएको छ । कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ । विशेषतः भाइटीकाको विधिपूर्वक पूजा गर्न ओखर, तोरीको तेल, बिमिरो, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मिष्ठान्नको प्रयोग हुन्छ ।
तिहारको अन्तिम दिन भाइटीका पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ । दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।
भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ ।
कसरी लगाउने टीका ?
दिदी–बहिनीले भाइटीकाभन्दा अगावै दाजुभाइलाई निमन्त्रणा पठाउने चलन छ । यमपञ्चक शुरू हुनु अगावै दाजुभाइलाई भाइटीका ग्रहण गर्नका निमित्त पान–सुपारी, पत्र–पुष्प पठाई निम्तो दिइन्छ । यस्तै, भाइटीकाका दिन टीका ग्रहण नगरी केही खानु हुँदैन भन्ने चलन छ । टीकाको दिन प्रातःकालीन स्नान गरी भक्ति र अनुष्ठानपूर्वक अष्टचिरञ्जीवीको आह्वान गरिन्छ ।
विशेषतः भाइटीकाको विधिपूर्वक पूजा गर्न ओखर, तोरीको तेल, बिमिरो, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मिष्ठान्नको प्रयोग हुन्छ । पूजा–विधिअन्तर्गत दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गर्ने प्रचलनको लाक्षणिक एवम् प्रतीकात्मक अर्थ हो– दिदीबहिनी–दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायु ।
टीका लगाउने विधि
भाइटीका लगाउनुपूर्व सबैभन्दा पहिले दियो, कलश तथा गणेश स्थापना गरी पूजा–अर्चना गरिन्छ । त्यसपछि दाजुभाइको मङ्गल–माङ्गल्यको कामना गर्दै ढोकामा ओखर तथा यमराजको पूजा गरी काल छेकिन्छ । र, ओखरसमेत फुटाइन्छ । त्यसपछि पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ ।
अनि क्रमशः फूल, अक्षता, अबिर, केशरी र चन्दन, पत्रपुष्प, लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिएर सगुनस्वरूप दही खुवाउने चलन छ । त्यसपछि दिदी–बहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् ।
सप्तरङ्गी टीकाको पनि आ–आफ्नै महिमा छ । रातो रङले सुख, नीलो रङले शान्ति, गुलाफी रङले समृद्धि, बैजनी रङले स्वास्थ्य, हरियो रङले दीर्घायु र पहेँलो रङ उल्लासको प्रतीक हुन् । त्यस्तै पुछारमा लगाइने राता अक्षतासहितको टीकाले उमङ्गको जनाउ दिने शास्त्रीय मान्यता छ । टीका लगाइसकेपछि फूलको माला पहिर्याई दिनुपर्छ ।
भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको आ–आफ्नै महत्त्व पनि छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधैँ हरित रहन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भइरहने विश्वास छ ।
टीकाको उपक्रम अन्तर्गत अन्तिममा दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिँदै उँचो शिरको कामना गर्दछन् । दिदीबहिनीले टीका लगाउने क्रम सिद्धिएपछि दाजुभाइले पनि चेलीबेटीलाई टीका लगाएर गच्छेअनुसार उपहार र दक्षिणा प्रदान गर्दछन् ।
दिदीबहिनी नभए के गर्ने ?
तिहारको टीका दाजुभाइ दिदीबहिनीबिच भ्रातृत्व र सहअस्तित्वको पर्व हो । अतः दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजाआजा गर्छन् । बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ । भुईँचालोपश्चात् ५ वर्ष सो मन्दिर पुनर्निर्माण क्रममा बन्द भएको थियो । त्यतिबेला जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरलाई विकल्पको रूपमा अघि सारिएको थियो ।
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ। यमपञ्चकको पाँचौँ दिन भाइटीका पर्छ। दिदीबहिनी भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान–सुपारी आदि दिइन्छ ।
वि.सं.२०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो । त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, हाल पनि खञ्जनेश्वर महादेवमा भाइटीकाका दिन भक्तजनको भीड लाग्छ ।
सत्यपाटी