सूचनाको शक्ति - The Power Of Information

        

घाँटी काटेर भारत भाग्दै गरेका व्यक्ति भौवा नाकामा समातिए

घाँटी काटेर फरार भएका एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । दशैंको दिन अर्थात असोज २६ गते राती बाँकेको कोहलपुर नगरपालिका–८ बङ्गला चोकस्थित भित्री सडकदेखि भित्रपट्टी कच्ची बाटोमा चन्द्रबहादुर कामीको हत्या भएको थियो । टाउको नभएको अवस्थामा ४० वर्षीय चन्द्रबहादुर कामीको शव फेला परेको थियो ।

उनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले रोल्पा घर भएका २४ वर्षीय अनिल परियारलाई पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार अनिललाई प्रहरीले बाँकेको राप्तीसोनारी गाउँपालिका १ तीनघारी टोलस्थित भौवा नाका क्षेत्रबाट मंगलबार बिहान पक्राउ गरेको हो ।

उनी त्यहाँबाट जंगलको बाटो हुँदै भारततर्फ जाने तयारीमा रहेको बताइएको छ । स्थानियको घरमा शौचालयमा लुकेर वसेका अनिललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । असोज २७ गते बिहान झन्डै १ बजेतिर कोहलपुर–८ बंगलाचोकस्थित कच्ची सडकमा चन्द्रबहादुरको शरीर फेला परेको थियो । तर उनको टाउको भने फेला परेको थिएन ।

शव फेला परेपछि अनुसन्धानकै क्रममा सोमबार चन्द्रबहादुरको टाउको फेला परेको थियो । घटनास्थलबाट झन्डै ५०० मिटर पर कोहलपुर–८ पिपिरीस्थित आरोपी अनिलकै बहिनीको घरको सेप्टिक ट्यांकीमा टाउको फेला परेको थियो । उक्त ट्यांकीबाट घटनामा प्रयोग भएको हतियारसमेत फेला परेको थियो ।

मृतक र आरोपीबीच के कारणले विवाद भएको भन्ने खुलिसकेको छैन । उनीहरूबीच पुरानो चिनजान समेत नभएको खुलेको छ । पक्राउ परेका आरोपी अनिल वैशाखमा मात्रै जेलबाट रिहा भएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरबाट उनीमाथि बलात्कार मुद्दा चलेको थियो । दोषी ठहर भई वैशाखमा मात्रै जेलबाट उनी रिहा भएका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार १६:५४

लोकप्रिय