२०८१ सालको दसैं मनाइरहेका छौं हामी । दसैंलाई आधुनिकताले छोपिसकेको छ । दसैंका थुप्रै मौलिक कुराहरु र परम्पराहरु अहिलेको पुस्तालाई एकादेशको कथा भइसक्यो । आज म तपाईंलाई ५६ वर्षअघिको दसैंको यात्रा गराउँदैछु । पूर्वी पहाडी जिल्ला खोटाङको चिमचिमा गाउँको त्यो दसैंको ‘फ्लासब्याक’ मा आफूसँगै ‘नोस्टाल्जिक’ बनाउँदैछु । यसक्रममा दाइ तिलक राम गिरी र सानिमा मधु गिरीले कतिपय कुराहरु सम्झिन सहयोग गर्नुभएको छ ।
वि. सं. २०२७ । चिमचिमा, खोटाङ ।
अग्ला पहाड, कान्लाकान्ला परेका भिरालो पाखा, अनि गाउँको सिरानतिर हराभरा जंगल । बेंसीतिर खोलाको अविरल सुसाहट । माथि लेकतिरका डाँडाहरूमा बादलुको घुम्टो । समुद्री सतहबाट करिब १५०० सय मिटरको उचाइमा रहेको अति नै सुन्दर चिमचिमा गाउँ । यो अनकन्टार गाउँबाट मोटर चल्ने बाटो पुग्न छ दिन हिँडेर सुनसरीको चतरा पुग्नुपर्थ्यो । नजिकैको किनमेल गर्ने बजार भनेको धरान थियो । आधा दिनको बाटोमा दिक्तेल बजार थियो तर त्यहाँ धेरै पसलहरु थिएनन् ।
बिजुली, टेलिफोन, घरमा खानेपानीको धारा, स्वास्थ्य सुविधा, शौचालय हुने कुरै थिएन । बिरामी परे स्थानीय जडिबुटी, झारफुक या धामीझाँक्रीकै भर पर्नुपर्थ्यो र धेरैको अकालमै मृत्यु हुन्थ्यो । स्वास्थ्य सेवाको अभावमा पाँच वर्ष नपुग्दै धेरै बच्चाबच्ची मृत्युको मुखमा पुग्नुपर्ने नियति थियो भने कतिपय सुत्केरी महिलाहरुको अकालमै मृत्यु हुन्थ्यो । गाउँमा सबै महिला निरक्षर थिए । छोरी पढाउने चलनै थिएन । केही पुरुषलाई मात्र अलिअलि लेखपढ गर्न आउँथ्यो ।
धेरैजसो पुरुषहरू घरमै साधारण लेखपढ गर्न सिक्थे । लेखपढ गरेर रामायण पढ्न जान्यो भने निकै ठूलो उपलब्धि मानिन्थ्यो । हजुरबाले रामायणको ठेली पल्टाएर हरेक दिन बेलुका केही श्लोकहरु घरै थर्किने गरी बाचन गर्नुहुन्थ्यो । जम्माजम्मी दुइटा घर थिए यहाँ, एउटा हाम्रो अनि तीन कान्लामुनि बडाउको । हाम्रो घर मूल घर थियो किनकि हजुरबा र हजुरआमा बस्ने पुर्ख्यौली घर हो यो । गाउँको सिरानमा माइली फुपूको घर थियो । खोल्सो पारि अलि टाढाको नाता पर्ने पल्लो घरे बडाउको घर अनि बारीको पल्लो छेउमा एक घर दमाई र एक घर कामी परिवार थिए ।
अलि तल राई गाउँ र आधा घण्टाको बाटोमा डाँडा गाउँ थियो । राई गाउँ र डाँडा गाउँमा हाम्रो भन्दा बाक्ला घरहरु थिए । यस्तै थियो चिमचिमा गाउँको नापनक्सा । बडादसैं वर्षभरिको सबैभन्दा ठूलो चाड । मिठो खान, नयाँ लुगा लाउन, पिङ खेल्न, परिवारका सबै सदस्यलाई भेट्न र रमाइलो गर्न पाइने सुनौलो अवसर । केही दिन भए पनि पिरव्यथा बिर्सेर रमाउने समय । दसैं कहिले आउला भनेर पर्खिन्थ्यौं हामी केटाकेटी । दसैंको लागि भनेर एउटा घोर्ले बोका र एउटा खसी पालेको थियो हाम्रो घरमा । उनीहरुले वर्षभरि अलि राम्रो स्याहार–सुसार पाएका थिए अरुले भन्दा ।
कुखुरा खाए जात जान्छ भनिन्थ्यो । सुँगुर वा राँगा खाने कुरा कल्पनाभन्दा बाहिरको भइहाल्यो । शरद् ऋतुको मौसम । न जाडो न गर्मी । बिहान मज्जाले शीत पर्न थालेको छ । घर वरिपरि थुँगे फूल लगायत अनेक रंगका फूलहरू फुलिसके । तल बेंशीमा धानका बाला झुलिसके । हावामा एक किसिमको मिठो सुगन्ध छ । घाम न्यानो लाग्न थालेको छ । अहिलेको भाषामा भन्दा दसैं ‘भाइब्स’ आइसकेको छ गाउँघरमा । दसैं आउनु एक–दुई महिना अघिदेखि नै गाउँका बूढापाकाको मुखबाट हरेक वर्षझैं दसैं आयो, खाउँला पिउँला, कहाँ पाउँला,चोरी ल्याउँला, धत् पापी ! म त छुट्टै बसुँला भन्ने लोकोक्ति सुन्न थालियो ।
बूढाहरुले यसको अर्थ लगाउँदै नराम्रो काम गर्नु हुँदैन भनेर अर्ती दिन्थे । हामी केटाकेटी पनि गीतजस्तै बनाएर यो लोकोक्ति गाउने गर्थ्यौं । दसैं धुमधाम मनाउनुपर्ने तर त्यसको लागि आर्थिक स्रोत कसरी जुटाउने भन्ने चिन्ता लुकेको यो लोकोक्ति बडा मार्मिक र सन्देशमूलक छ । देश आर्थिक मन्दीले आक्रान्त बनेको बेला यो भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक छ । एक महिनाअघि नै हजुरबा धरान बजारबाट दसैंको किनमेल गरेर घर आइसक्नु भएको थियो । तीन जना भरियाले ढाकरमा अट्नेजति सामान ल्याएका थिए । नुन, तेल, लुगासँगै केटाकेटीलाई मिस्री पनि थियो त्यो भारीमा ।
चकलेटको चलन आइसकेको थिएन । मिस्री खान दसैं पर्खनु परेन र भारी पनि खोल्नु परेन किनकि हजुरबाले अलिकति मिस्री इस्टकोटको खल्तीमा राख्नुभएको रहेछ । नयाँ लुगा भने सिलाउन बाँकी नै थियो । लुगा टीकाको दिनमात्र लगाउन पाइन्थ्यो । डेढ महिनाअघि नै आमा र हजुरआमाले घरको कुनाकाप्चा बढारेर सफा बनाउनु भएको थियो । अँगेनो वरिपरि गोबरले लिपपोत गरेर चिटिक्क पार्नुभएको थियो । घरका भित्री र बाहिरी भित्ताहरु रातो र कमेरो माटोले लिपपोत गरेर रंगाइएका थिए । सिकुवाले नयाँ गुन्द्री पाएको थियो । बाँसका मुडाहरु आँगनमा मिलाएर राखिएका थिए । बाटोको दायाँबायाँ झारपात उखेलेर सिनित्त पारिएको थियो ।
चौतारामा लिंगे र रोटे पिङ हाल्न गाउँका तन्नेरीहरुले निकै अगाडि सरसल्लाह सुरु गर्थे । त्यसको तयारी सोह्र श्राद्धमै सुरु हुन्थ्यो र घटस्थापनाको दुई–तीन दिनअघि पिङ हालिन्थ्यो । माथि चौतारमा लिंगे पिङ र गाउँको पुछार खोला किनारमा राई गाउँका ठिटाहरुले रोटे पिङ थाप्थे । दुवै पिङ तिहारपछि मात्र भत्काइन्थ्यो । हाम्रो लागि घरमै पनि पिङ बन्थ्यो । आँगन अघि ठडिएको रुखको हाँगामा डोरी बाँधेर हामी केटाकेटीलाई पिङ बनाइ दिनुहुन्थ्यो । हामी त्यसमै झुत्तिरहन्थ्यौं । दसैं नजिकिँदै गएपछि कामको चटारो झन् बढ्थ्यो । ढिकीमा चिउरा कुट्न बिहान सबेरैदेखि आमा र अरु महिला आफन्तहरु व्यस्त हुनुहुन्थ्यो ।
त्यही ढिकीमा धान कुटेर चामल पनि तयार गरिसकिएको थियो । अर्को तिर गाउँभरिका महिला एकठ्ठा भएर घर नजिकैको जंगलमा गएर भोर्लाको पात टिपेर ल्याइसक्नु भएको रहेछ । घटस्थापनाको दुई दिनअघि हाम्रो टपरी बुन्ने दिन रहेछ । सिरान घरबाट माइली फुपू पनि आउनुभयो । पातमा सिन्का खिल्दै गफ चल्थे अनि घरीघरी गीत पनि सुनिन्थे । घरमा हर्ष र उत्सुकता छाएको थियो । हेर्दाहेर्दै घटस्थापना आइसक्यो । विधि पुर्याएर जमरा राख्ने काम भयो एकाबिहानै । घरको माथ्लो तलाको एउटा कुनामा मान्द्रोले बारेर एउटा सुरक्षित ठाउँ तयार भएको थियो । उज्यालो कतैबाट छिर्न नसकोस् भनेर घरको कुना कुनामा टालटुल पारिएको थियो ।
हजुरबाले एकाबिहानै नुहाईधुवाई गरेर खोलाको छेउबाट बालुवा मिसिएको पञ्चमाटो लिएर आउनुभयो । अलि अलि पानीले भिजाएर त्यसमा जौ छरी दिनुभयो । बीचमा कलश राखिएको थियो । गाउँमा भएको एकमात्र प्राथमिक विद्यालय बन्द भइसकेको थियो । त्यतिबेला घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन दसैं बिदा हुन्थ्यो । लामो छुट्टी र दसैंको माहोलले हामी केटाकेटीहरु दंग हुन्थ्यौं । कसको घरमा कत्रो खसी, कसको कस्तो लुगा, पिङ खेल्न कहिले पाइने हो भन्ने नै हाम्रो कुराकानीको विषय हुन्थ्यो । हजुरआमाले करेसाबारीबाट फूल टिपेर र घर नजिकैको धाराबाट शुद्ध पानी ल्याई हरेक दिन जमराको पुजा गर्नुहुन्थ्यो । हजुरआमाले नभ्याए आमाले गर्नुहुन्थ्यो ।
सप्तमी (फूलपाती) देखि त दसैं सुरु भई नै हाल्यो । यो दिन घरमा भएका सबै हातहतियार साँध लगाएर चुस्तदुरुस्त बनाइन्छ । यसो गर्दा दसैंमा मासु काट्नमात्र नभएर वर्षभरि डाले घाँस काट्न वा तरकारी काट्न पनि सहज हुने भयो । त्यही दिन दसैंका लागि पूजा सामग्रीस्वरुप फूलपाती भित्र्याइन्छ । आमाले नौ–नौ थान केरा, उखु, धान, फूल, हलेदो, सिरुको पात र पिपलको पात तयार गर्नुभएको रहेछ । हजुरबा र हजुरआमा मिलेर त्यसलाई घरमा भित्र्याउनु भयो । अब हजुरबा बेसीमा भएको खेततिर लाग्नुभयो । त्यहाँबाट चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बालासहितको बोट घरमा लिएर आउनुभयो र जमरा राखेको ठाउँको एक कुनामा राख्नुभयो ।
हामी केटाकेटीहरु उत्सुकतापूर्वक त्यो सबै हेर्थ्यौं । स्कुल छुट्टी भइसकेकोले दसैंका गतिविधिमा रमाउनु र पिङ खेल्नुबाहेक हाम्रो काम के नै हुन्थ्यो र । कुन घरमा दसैंको कस्तो तयारी चल्दैछ भनेर दाजुभाइ–छरछिमेकमा सोधनी गर्ने र सरसहयोग गर्ने सौहार्दपूर्ण प्रचलन थियो गाउँमा । कामको धमाधमले वर्षभरि बाक्लो आउजाउ गर्न सम्भव हुँदैनथ्यो । भेटघाट, गफगाफ र सघाउपगाउ गर्ने उपयुक्त समय दसैं नै हुन्थ्यो सबैका लागि । आर्थिक अवस्था कमजोर हुनेले सरसापट गरेर भए पनि राम्रैसँग दसैं मनाउँथे । गच्छेअनुसार सबैको घरमा दसैं भित्रिन्थ्यो । हाम्रो हजुरबा अलि हुनेखाने र मनकारी पनि भएकोले गाह्रोसाह्रो पर्नेको दसैं टारिदिनुहुन्थ्यो ।
फूलपातीको बेलुका डाँडा गाउँको पिङमा मेला लाग्थ्यो । हजुरबाको नेतृत्वमा हामी हामी परिवारका सबै मेला हेर्न जान्थ्यौं । अलिअलि डरसँगै रोटे पिङमा मच्चिन बडो मजा आउने । कतिपय आँटिलाले मच्याएर पिङ नै फर्काउँथे पनि । फूलपातीको मेला रातैभर चल्थ्यो । ठिटाठिटीहरु मादल बजाएर गीत गाउने, स्थानीय परिकारहरु खाने, तास खेल्ने, पिङ मच्चाउने गर्दै रातै पनि छर्लङ्ग पार्थे । खास दसैं अष्टमीको दिन सुरु हुन्थ्यो । राईहरुले फूलपातीकै दिन सुँगुर काटेर मासु खान थाल्थे भने क्षेत्री–बाहुन भने अष्टमीको दिन खसी मार हान्थे । हजुरबा र बुबाले बोको काट्ने तयारी गर्न थाल्नुभयो ।
मोरङमा बस्ने मेरो बुबा चतराबाट ६ दिन हिँडेर अघिल्लो दिनमात्र घर आइपुग्नु भएको थियो । तल्लो घरबाट बडाउ, उहाँको कान्छो छोरा र माइला फुपाजुको छोरा माइला दाइ पनि आउनुभयो मार हान्न । हजुरबाले भरुवा बन्दुक पुछपाछ पारेर तयार पार्नुभयो । मार हान्नुभन्दा करिब ५ सेकेन्ड अगाडि कान्छा दाइले एक नाले बन्दुक पडकाउनुभयो । फूल, अक्षता, पानीले बोकाको पूजा गरिसक्नु भएको थियो बुबाले । बोकाले टाउको र जिउ हल्लाएपछि ‘मान्यो’ भनिन्थ्यो । मालदाइले मार हानेपछि बुबाले बोकाको टाउको लगेर जमरा राखेको ठाउँमा चढाउनुभयो । मालदाई र कान्छा दाई मिलेर बोका भुत्ल्याउनुभयो र आँगनमा केराको पात ओछ्याएर मासु काटकुट गर्नुभयो ।
आन्द्राभुँडी धुने कामचाहिँ घरका महिला सदस्यको भागमा पर्थ्यो । रक्ती, आन्द्राभुँडी, बाँकी मासु पकाएर चिउरासँग खाइन्थ्यो । त्यो दिन जुठो पार्न हुँदैन भनेर भात पकाउने चलन थिएन । नवमीको दिन पनि बिहानै उठेर हजुरआमाले जमराको पूजा गर्नुभयो । अघिल्लो दिनजस्तै बुबा, हजुरबा, बडाउ, मालदाई र कान्छा दाई मिलेर खसी काट्नुभयो । त्यसपछि अरु घरमा पनि पालैपालो खसी काटियो । दसैंमा काटेको खसीको गर्दन कामीलाई र पुच्छर दमैलाई दिने चलन थियो । त्यहीअनुसार सुरुमै त्यो छुट्याएर बाँकी मासु खाने, पक्कु बनाएर राख्ने गरिन्थ्यो । आमा र हजुरआमा दसैंभरि खाना पकाउन र खुवाउन व्यस्त हुनुहुन्थ्यो । मासु पकाउन माटोको हन्डा थियो डेढ धार्नीसम्म पाक्ने ।
पक्कु बनाएको मासु १५–२० दिनसम्म केही हुँदैनथ्यो । खसीको गिदी, जिब्रो आमाबाउ हुनेले खानु हुँदैन भन्ने चलन थियो, हजुरबाले मात्र खानुहुन्थ्यो । दशमीको दिन बिहानैदेखि धमाधम । नजिकैको धारामा गएर पालैपालो सबैजनाले नुहाउनुपर्यो । त्यसदिन केटाकेटीले पनि नुहाउनैपर्छ । त्यसो त फूलपातीको दिनदेखि नै दैनिक नुहाउने चलन थियो । फूलपातीको दिन ननुहाए अर्को जन्ममा राँगो भइन्छ, अष्टमीमा ननुहाए बोका भइन्छ र नवमीमा ननुहाए खसी भइन्छ भन्थे बूढापाका । दशमीको दिन नुहाएर चोखो कपडा लगाएर दुर्गा भवानीको प्रसाद टीका लगाइन्छ ।
सिकुवामा राखेको गुन्द्रीमा बसेर आज पनि हजुरबाले बन्दुक सफा गरिसक्नु भएको थियो । दस बजेतिर पञ्जेबाजा बजाएर एक हुल हाम्रो घरमा आइपुग्यो । हामी केटाकेटी रमाएर उफ्रियौं । टीका लाउने बेला पनि भएछ । टीकाको साइत १० बजेर १३ मिनेट जाँदा परेको रहेछ । रेडियो नेपालबाट त्यस्तो खबर आएको रे । हाम्रो घरमा रेडियो थिएन । तल राई गाउँमा ब्रिटिस आर्मीमा काम गर्ने लाहुरेहरुले बिदामा घर आउँदा रेडियो लिएर आएका रहेछन् । साइतको बारेमा हजुरबाले त्यतैबाट खबर लिएर आउनुभएको रहेछ । टीका लाउने ठाउँ मझेरीको एक कुनामा लिपपोत गरेर शुद्ध बनाउनुभएको रहेछ आमाले । त्यसमाथि नयाँ गुन्द्री बिछ्याइएको थियो अनि गुन्द्रीमाथि नयाँ राडी । ठिक १०ः१३ मा बन्दुक पड्कियो अनि कन्या केटीलाई टिका लगाएर हजुरबाले टीका खोल्नुभयो । पञ्चेबाजाको धुन रोकियो ।
पालैपालो ज्येष्ठताको आधारमा हजुरबाले श्लोक भन्दै टीका लगाइदिनुभयो अनि कानमा जमरा सिउरी दिनुभयो । सायद रंग नपाइने भएर होला, टीका सेतो हुन्थ्यो । अरु परिवारका सदस्यहरुले टीका लगाइदिने प्रचलन थिएन । लोग्ने मान्छे र आईमाई मान्छेलाई भन्ने श्लोक र आशीष फरक हुँदोरहेछ । आशीष दिँदा पुरुषलाई पौरख गर्नु भन्नुहुन्थ्यो भने महिलालाई घरजम राम्रो बसाउनु र लोग्नेको ख्याल गर्नु भन्ने आशयको हुन्थ्यो । छोरा खलकले दक्षिणा पाउँदैनथे भने छोरीहरु, भान्जाभान्जी र ज्वाइँचेलाले पाउँथे । दिदी २५ पैसाको तामाको ढ्याक पाएर खुसीले नाच्नुहुन्थ्यो । छोरीहरुलाई पढाउनु पर्दैन भन्ने समाजमा टीका लगाएर पैसा दिएर खुट्टामा ढोग्ने चलन भने थियो । घरको टीका सकेपछि पर्खिरहेका दमाई टोलीलाई टपरामा टीका र जमरा राखेर हजुरबाले दिनुभयो ।
बालसुलभ जिज्ञासामा मैले हजुरबालाई उहाँहरुलाई पनि टीका लगाइदिनु न भनेँ । हजुरबाले लाउन हुँदैन नाति भन्नुभयो । किन लाउनु हुँदैन भन्ने मलाई थाहा थिएन र सोधिनँ पनि । त्यो दमाई परिवारलाई हाम्रा जिजु हजुरबाले सोह्र आना लेखापढी गरेर घर नजिकै बस्ने बारी उपलब्ध गराउनु भएको रहेछ । जग्गा दिएबापत उनीहरुले हरेक वर्ष असारमा ६ जना खेताला सित्तैंमा उपलब्ध गराउनुपर्ने रहेछ । साथै दसैंको टीकाको दिन पञ्जे बाजासहित हाम्रो घरमा टीका लगाउन आउनुपर्ने रहेछ । घरमा टीका लगाएपछि गाउँका आफन्तहरु टीका लगाउन आउँथे । हामी केटाकेटी कसले के कोसेली लिएर आउँछ भनेर उत्सुक हुन्थ्यौं । कोसेलीको रुपमा केरा, रोटी, कुराउनी, बाबरको चलन थियो । टीकाटालो कोजाग्रत पूर्णिमासम्मै चल्थ्यो ।
त्यसदिन बिदाइको टीका लगाउने चलन थिएन । टीका, जमरा र फूलपाती विसर्जन गरिन्थ्यो । टीकाको दिनदेखि लगातार बालिएको दियो पनि पूर्णिमाको रात निभाइन्थ्यो । पूर्णिमाको रात जाग्राम बस्ने चलन थियो । त्यस रातको जाग्रत (जागा) छ भनेर लक्ष्मी माता हेर्ने आउँछिन् र जागा बस्नेलाई धनधान्यले भरिपूर्ण बनाइदिन्छिन् भन्ने विश्वास छ । पूर्णिमाको रात राई गाउँको रोटे पिङमा मेला लाग्थ्यो । ठिटाठिटीहरु त्यो रात पनि मादल बजाएर गीत गाउँदै रात छर्लंङ्गै पारेर ब्रम्ह मुहुर्तमा घर आउँथे । घरघरमा पनि जुवा खेलेर रात बिताउने चलन थियो । दसैं सकिएपछि तिहारको प्रतीक्षामा हुन्थ्यौं हामी । तिहारको छुट्टै रौनक हुन्थ्यो गाउँमा । सफा मौसम, रंगीबिरंगी फूलहरु, सेलरोटीको सुगन्ध अनि सयपत्री–मखमलीको माला ढल्काएर पिङ खेल्न जाने उत्साहका साथ तिहार आउने दिन गन्थ्यौं ।