सूचनाको शक्ति - The Power Of Information

        

रक्तश्रावका कारण अछाममा सुत्केरीको मृत्यु

अछाममा एक सुत्केरीको मृत्यु भएको छ । ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रावका कारण मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गएराति करिब १२ बजे उनलाई सुत्केरी व्यथा लागेको थियो ।

परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन् । बाटोमा सुत्केरी भएकी उनलाई उच्च रक्तश्रावको समस्या देखिएको थियो । त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्याइएकोमा स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो ।

सुत्केरी भएको करिब सात घण्टासम्म पनि आवश्यक उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । ढिलो गरी अस्पताल पुर्याएकोले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अधिराज आचार्यले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार ०८:०३

लोकप्रिय