प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतमाथि घरेलु हिंसाको आरोप लागेको छ । संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध वैवाहिक सम्बन्ध र नैतिकतासम्बन्धी उजुरी परेको हो । समितिले असोज ३ गते १० दिनको समय दिएर उजुरी मागेकोमा ६ जनाले फरक–फरक आरोपसहित उजुर दर्ता गराएका छन् ।
त्यसमध्ये एउटा उजुरीमा राउतले श्रीमतीलाई अन्याय गरेको र पाँचतारे होटलमा मोजमस्ती गरेको दाबी गरिएको छ । त्यस्तै, न्यायाधीशका रुपमा सैनिक ऐनको गलत व्याख्या गरेको आरोप पनि उनीमाथि लागेको छ । एकजना पूर्वसैनिकले त्यस्तो उजुरी दर्ता गरेको समितिका एक सदस्यले जनआस्थालाई जानकारी दिइन् । उनका अनुसार अर्का एक जना उजुर्कर्ताले राउतको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।
राजनीतिक आस्थाका आधारमा फैसला गरेर पीडितलाई झन् पीडा दिएको जिकिरसहितको अर्को उजुरी पनि परेको छ । राउतले हाइड्रो पावरमा लगानी गरेको र पाँचतारे होटलमा मोजमस्ती गरेको दाबी गरिएको उजुरी पनि समितिले लिएको छ । समितिले आज उजुरीकर्तासँग छलफल गर्दैछ । छलफल र निष्कर्षपछि भोलि प्रस्तावित प्रधानन्यायाधीशको सम्बन्धमा सुनुवाइ हुने ती सदस्यले जानकारी दिइन् ।
सत्यपाटी