सूचनाको शक्ति - The Power Of Information

        

छोराछोरी विदेशमा, अभिभावक ‘एक्लोपन’को शिकार

सन्तान विदेशमा भएका ज्येष्ठ नागरिक भावनात्मक र सामाजिक एक्लोपनको शिकार हुने गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाले गरेको सर्वेक्षणले यस्तो देखाएको छ । सर्वेक्षण अनुसार महानगर क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकमध्ये विदेशमा छोराछोरी भएका २१ दशमलब ७ प्रतिशतमा अति गम्भीर भावनात्मक एक्लोपन देखिएको छ ।

यस्तै, ६२ दशमलब ३ प्रतिशतमा मध्यम खालको र १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपन देखिएको छैन । सामाजिक एक्लोपनको कोणबाट ४८ प्रतिशतमा उच्च, २८ दशमलब ३ प्रतिशतमा मध्यम र २३ दशमलब ७ प्रतिशतमा शून्य पाइएको छ । महानगर अनुसन्धान शोधवृत्तिको तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यका लागि महानगरको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले अध्ययन गरेका थिए ।

अध्ययनको सुपरीवेक्षक विनिता अधिकारी हुन् । छोराछोरी विदेशिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यको स्तर थाहा पाउन र अवस्था सुधार्नका निम्ति सुझाव दिन अध्ययन गरिएको महानगरको भनाइ छ । सर्वेक्षणमा महानगरभित्र बसोबास गर्ने ५८ वर्ष पूरा भएका सबै वडा समेटिने गरी ५०९ जनालाई सहभागी गराएपनि ६१ जनाले सोधिएका सबै प्रश्नको जवाफ दिन नचाहेकाले उनीहरुलाई तथ्याङ्क विश्लेषणमा नराखिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार २०४ महिला र २४४ पुरुष गरी ४४८ वृद्धवृद्धाको जवाफलाई तथ्याङ्क मानेर १८ जना विषयविज्ञबाट विश्लेषण गरिएको हो । आधाभन्दा बढी अर्थात् ५९ दशमलब ८ प्रतिशत ज्येष्ठ नागरिक पेन्सन वा वृद्ध भत्ता लिइरहेको सर्वेक्षणले देखाएको छ । विदेशमा रहेकामध्ये अधिकांशका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा, दुबई र जापानमा छन् । अध्ययनको क्रममा विदेशमा सन्तति रहेका ५२ दशमलब ७ प्रतिशत ज्येष्ठ नागरिकले आफ्ना छोराछोरी स्वदेश फर्केर आउने विश्वास नरहेको धारणा राखेका थिए ।

९४ प्रतिशत ज्येष्ठ नागरिकले आफूलाई सहयोग गर्ने सहयोगी नराखेको, ३९ दशमलब ३ प्रतिशतलाई छिमेकी साप्ताहिक रुपमा भेट्न आउन गरेको पाइएको छ । अध्ययनले महानगरपालिकालाई ज्येष्ठ नागरिकको पुनःपरिभाषा गरी पहिचान प्रदान गर्न सुझाव दिएको छ । उनीहरुलाई अधिक प्राथमिकता दिन, छुट तथा सुविधासँगै सम्मान गर्न र कानूनमा प्रतिबद्धता गरिएका व्यवस्था कार्यान्वयनका निम्ति सुझाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १७:०६

लोकप्रिय