सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा एक एआइजी र पाँच डीआइजी पद रिक्त, दसैंपछि बढुवा

विगत एक महिनादेखि नेपाल प्रहरीको रिक्त रहेको पदमा बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । भदौ १६ देखि अहिलेसम्म नेपाल प्रहरीमा एक एआइजी र पाँच डीआइजीको पद रिक्त भएको छ । डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएसँगै एक एआइजी र पाँच डिआइजीको पद रिक्त भएको हो ।

विपत्तिमा नेपाल नभएका आइजीपी वसन्तबहादुर कुँवरको अनुपस्थितिमा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पोखरेलको बिदाई गरेका थिए । मधेश प्रदेशबाट समयावधि नपुग्दै तानिएका र कारवाही गर्ने हल्ला गरिएका डिआइजी पोखरेललाई चुपचाप विदाई गरिएको थियो ।

उनको विदाईपछि माथिल्लो तहबाटै बढुवा प्रकृया शुरु गर्ने जनाइको छ । पोखरेलको बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरेर विदाई गरेका थिए ।

डिआइजी पोखरेल बैक खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेको विषयलाई निमित्त आइजीपीले उठाउन चाहेनन् । राईले पोखरेल इमानदार भएको भन्दै प्रशंसा गरेर विदा गरेपछि सभास्थलमा हाँसोको फोहोरा छुटेको थियो । बैक खातामा स्रोत नखुलेको पैसा भेटिएपछि उनलाई मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो ।

त्यहाँ अहिले लालमणी आचार्यलाई पठाइएको छ । २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल उमेरहदका कारण अवकाश पाएका हुन् । उनको अवकाशसँगै नेपाल प्रहरीका एआइजीको एक र डिआइजीको पाँच पद रिक्त भएपछि बढुवाको लाइनमा रहेका एक दर्जनबढी एसएसपीहरु दौडधुपमा लागेका छन् ।

असोज २१ सम्म कार्य सम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । उनीहरुको बढुवामा अझै केही समय लाग्ने बताइएको छ । कार्य सम्पादन मूल्यांकन तथा प्रहरी दिवसपछि मात्रै रिक्त रहेको करिव २०० पदमा बढुवा हुने बताइएको छ । ‘दशैअघि बढुवाको प्रकृया अघि बढ्ला जस्तो छैन,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १६:४२

लोकप्रिय