सूचनाको शक्ति - The Power Of Information

        

संस्कृति र परम्परा

श्राद्ध कि श्रद्धा ?

अरुलाई देखाउनका लागि वा आफ्नो सम्पन्नता प्रदर्शन गर्नका लागि श्राद्ध गरिँदैन, जुन कुरालाई श्राद्ध शब्दले नै स्पष्ट पारेको छ ।

आज एउटा साथी मिठाइ पसलमा भेटिई र उसले मलाई भनी ‘आज आमाको श्राद्ध छ, आमालाई लालमोहन रातो रसवरी धेरै मनपर्छ, त्यसैले लालमोहन लिन आएकी हुँ ।’ आज आमाको श्राद्ध हो । म अचम्ममा परे ! मेरो आँखा अगाडि उसको आमाको मुहार झल्झली झल्किन थाल्यो । दुब्लो, पातलो, सेतो हो कि खैरो बुझ्न् गाह्रो धमिलो मैलो सारी लगाएको बिदुसी एकल महिला ! म यसो झट्ट केहिगरी उसको घर पुग्दा उसकी आमा हातगोडाका गाँठहरु सुन्निएर सुँक्कसुँक्क रुँदै गरेको त कहिले खट्टे भुजाको फाक लगाउँदै रातो चियासँग खाँदै गरेको हेर्थे ।

कहिलेकाहीँ ती बुढी आमा त्यही सुन्निएको बाँङ्गिएको दुखेको हातले चुलो पुछ्दै र कोठा बढार्दै गरेको हेर्थे । आमा हजुरको छोरी ज्वाइँ र ठुल्ठुला नातिनातिना छन् हजुर किन यस्तो अवस्थामा काम गर्नु भाएको ? बरु घाममा बसेर तेल, औषधि लगाई सेक, ताप गर्नुस् न आमा । मैले यसोभन्दा आमा सारै निष्छल भावले भन्नुहुन्थ्यो, ‘छोरी स्कुल पढाउन जान्छिन् र थाकेर आउँछिन्, नातिनातिना कोही घरमै पढ्दैछन्, ठुलो मान्छे बन्न धेरै पढ्नुपर्छ र कोही भने कलेज पढ्न गएका छन् । अनि म तीनछक्क पो परे मैले भर्खरै मात्र उहाँको छोरी र नातिनातीनालाई ठेलामा मोमो खाँदै गरेको हेरिरहेकी थिए ।

म सोच्न बाध्य भए ! बाले पैसा ती आमाको भाग भनि बैंकमा राख्दिएर चिरकालीन निदाउनु भाएको थियो । तर पनि ती बुढी आमाको हालत बेहाल थियो ! व्यस्तता र पैसाको अभाव देखाई आमालाई रुखासुखा खान दिने अनेकथरीका बहाना बनाई काम दलाउने र बाक्लो दूध र तर समेत खान रुचाउने गाढा गुलियो दुधको चिया पिउने सोख गरेकी ती आमालाई काठै आफ्नै छोरीले यस्तो बिघ्न दुर्दशा दिएको ! सायद सम्पत्तिको लोभले होला ! आफु गरिब छु भन्ने महसुस गराएको होला ! आमाको नामको घर जग्गा अरु छोरीहरुले हात पार्छन् की भन्ने कुरा मेरी साथीलाई धेरै अशान्त पारेको थियो । रहरै रहरमा आमाले सधैंको निम्ति आँखा चिम्लिनुभयो ।

मृत्यु पनि ती बुढी आमाको सारै कहालीलाग्दो भएको कुरा थाहा पएको थिए । आगो ताप्दा जीउमा आगो लागेर मर्नुभएको थियो । छरछिमेकी कसैले चुइक्क पनि थाह पाएका थिएनन् रे ! कठै ती बुढी आमा आगोले डढेर जिउँदै मर्ने गरि पोलिदा कति चिच्याउनु कराउनु भयो होला, गुहार गर्नु भयो होला सोचेर मेरो त आङछिरिङ हुन्छ । म एक्कासी मेरो पाखुरा हल्लाएर दाजु कति जेरी दिउँभन्दा झस्किए । ए म कहाँ हराएछु ! म मेरी आमाको निम्ति जेरी किन्न आएको पो थिए । म मेरो आमाको मनपर्ने तातो जेरी लिएर घर गए र तातो, बाक्लो दूधसँग तातो जेरी खान दिए ।

मेरो मनले के भन्छ भने, ‘कि मृत्युपछि गाई र कागलाई टपरामा लड्डु राख्नुभन्दा राम्रो आमाबुबा जिउँदै हुँदा उहाँहरुको थालमा राखेर खान दिनु । जेरी, लड्डु जे खान मन पराउनु हुन्छ उहाँहरुलाई, उहाँहरुको मनलाई तृप्त गराउनुपर्छ ।’ म यो कुरालाई बिश्वास गर्छु कि आमाबुबालाई हरहालतमा खुशी राख्नुलाई नै सच्चा श्रद्धा भनिन्छ । आमाबुवाको मन तृप्त गरी खान, लाउन जिउँदो हुँदैमा सेवा खुशी दिनुपर्छ । श्रद्धालु मन्दिरमा गएर अगरबत्ती जलाउँछन् । म मन्दिर कहिल्यै जाँदिन, तर आमाबुबा सुत्ने कोठामा अगरबत्ती बाल्दिने गर्छु । बिहान जब आमाबुबा गीता पाठ गर्न बस्नुहुन्छ, म उहाँहरुको चस्मा सफा गरिदिन्छु ।

मलाई लाग्छ कि भगवानको फोटो वा मूर्ति आदि सफा गर्नुभन्दा धेरै पुण्य आमाबुबाको चस्मा सफा गर्दा पाइन्छ । यो कुरा श्रद्धालुको मनमा बिझ्न सक्छ, तर कुरा मैले मेरो मनको पस्केको छु र गरिराखेको छु । हामीले बृद्ध आमाबुबा मरेपछि उहाँहरूको श्राद्ध गर्छौं । पण्डितलाई खिर ख्वाउँछौं, सिदा दान गर्छौ । समय आएपछि हामी सबैले यो गर्छौं, तर याद राख्नुहोस कि गाईलाई र कागलाई ख्वाएर हाम्रा आमाबुबासम्म पुग्छ कि पुग्दैन कसलाई थाहा हुन्न ? तर आमाबुबा जिउँदो हुँदा, जन्मदिन मनाइदिनु । आमाबुबा, जिउँदो हुँदा, बिवाह बर्षगाँठ मनाइदिनु । आमाबुबा जिउँदो हुँदा, सारा सुख सुविधा दिनु । र आमाबुबाको मृत्युपछि हरेक बर्ष सम्मान स्वरुप कन्यालाई खुवाउनु, गरिब दुःखीलाई खुवाउनु नै वास्तविक धर्म हो, वास्तविक श्राद्ध हो ।

हाम्रो हिन्दू परम्परामा सनातन पद्धतिमा मातापिता र गुरुलाई निकै आदर गरिन्छ । पितृको सेवा गर्नु, सन्तानको परम् कर्तव्य र अहोभाग्य समेत भएकाले वृद्ध आमाबाबुको सेवासुश्रुषा गरेर बस्ने अवसर पाएमा त्यस्ता व्यक्तिले अन्य देवताको पूजा गर्न र तीर्थयात्रामा दौडिनु पर्दैन भनिन्छ । जीवित अवस्थामा रहेका साक्षात् देवताको सेवा र परलोक भैसकेका पितृलाई तर्पण पिण्ड दिएर उद्धार गर्ने जिम्मेवारी हरेका सन्तानको भएकाले पितृकार्यबिना गृहस्थका सबै कर्म निष्फल मानिन्छन् । पितृ उद्धारबाटै आत्मोन्नतिको मार्ग खुल्ने भएकाले नै राजा भगीरथले दुःसाध्य साधनाबाट भागीरथीलाई पृथ्वीमा अवतरण गराएको पौराणिक कथा प्रसिद्ध छ ।

सनातन चिन्तमा चतुर्वर्ग फलप्राप्तिलाई जन्मको सार मानिएको छ अर्थात् धर्तीमा मानवका रुपमा जन्मेपछि जन्मलाई सार्थक पार्न उसले धर्म, अर्थ, काम र मोक्ष प्राप्तिका कार्यहरु गर्नुपर्दछ । वंश परम्पराको निरन्तरता महत्त्वपूर्ण मानिएकैले सन्तान जन्मिएपछि पितृ ऋणबाट मुक्त हुने मान्यताले स्थान पाएको हो । कुनै पनि दैवी कार्य सम्पन्न गर्नुभन्दा अगाडि वा महोत्सवभन्दा अगाडि पितृलाई सम्झने परम्परा सनातन पद्धतिमा रहेको छ । पितृ उद्धारको उद्देश्यले आफूलाई जन्म दिने र पालनपोषण गरेर मानवीय अस्तित्व दिने पुर्खाप्रति सम्मान व्यक्त गर्ने पर्वका रुपमा समेत श्राद्धलाई लिइन्छ ।

अरुलाई देखाउनका लागि वा आफ्नो सम्पन्नता प्रदर्शन गर्नका लागि श्राद्ध गरिँदैन, जुन कुरालाई श्राद्ध शब्दले नै स्पष्ट पारेको छ । श्रद्धया दीयते अनेनेति श्राद्ध भनेर श्रद्धापूर्वक गरिने दानलाई मात्र श्राद्ध मानिएको छ । यसैले श्राद्ध हुनका लागि कर्तामा श्रद्धा तत्त्व अपरिहार्य देखिन्छ अर्थात् श्रद्धाबिना श्राद्ध हुन सक्दैन । श्रद्धाले जे उपलब्ध हुन्छ ती चिजहरू पितृलाई अर्पण गर्नु हरेक गृहस्थीको कर्तव्य हो । अन्य पूजाआजामा भन्दा श्राद्धमा उल्लेख भिन्नता भनेकै जीवित र भौतिक ब्राह्मणको उपस्थितिलाई अनिवार्य नमानी कुशका ब्राह्मण स्थापना गर्नु हो । कलियुगका संसारी ब्राह्मणहरू विभिन्न परिस्थितिका कारणले शास्त्रमा बताइएको जस्तै नियम र आचारमा रहन नसक्ने भएकैले परापूर्वकालदेखि नै कुशका ब्राह्मण निर्माण गर्ने परम्पराको विकास भएको देखिन्छ ।

अझ सनातन परिपाटीमा मानव योनीमा जन्म लिइसकेपछि हरेक मानवको धर्म, अर्थ, काम र मोक्ष प्राप्ति जीवनको लक्ष्य हुन्छ । यी सबै सिद्धि प्राप्त गर्नका लागि आफ्ना पितृहरुको सम्मान र सत्कार गर्नुपर्ने मान्यता रहेको छ । महान् दैवी पर्व दशैँतिहार अगाडि पार्वण श्राद्ध गर्नु हरेक सन्तानको परम कर्तव्य मानिन्छ । यसरी गरिने श्राद्धले पितृहरुको उद्धार हुनुका साथै श्राद्धकर्ताको जीवनमा सुख, शान्ति समृद्धि र अन्ततः मोक्षसमेत प्राप्त गर्ने बाटो खुल्दछ । यसैले श्राद्धआफ्ना पुर्खाप्रति कृतज्ञता व्यक्त गर्ने महान् उत्सवमा रुपमा रहेको देखिन्छ । अनलाइनका माध्यमबाट श्राद्ध हुने कि नहुने भन्ने विषयमा ब्राह्मणको प्रत्यक्ष उपस्थितिबिना अनुष्ठानहरू पूरा हुने अवस्था देखिएकाले श्रद्धाभाव छ भने अनलाइनका माध्यमबाट सहयोग लिएर श्राद्ध गर्न कुनै अवरोध देखिँदैन ।

श्राद्धस्थलमा बसेर पाठ गर्ने व्यक्तिले उपस्थित हुन असम्भव भएको अवस्थामा टाढै बसेर पनि अनलाइनका माध्यमबाट मन्त्रोच्चारण गरी कर्तालाई निर्देशन गर्ने काम सम्पन्न गर्न सक्दछ । अन्य सामान्य अवस्थामा भने एकै ठाउँमा जम्मा भएर ब्राह्मणको निर्देशनमा श्राद्ध गर्नु उपयुक्त हुन्छ । सोह्र श्राद्ध तोकिएका १६ दिनमै सम्पन्न गर्नुपर्छ भन्ने छैन, अप्ठ्यारो अवस्थामा कार्तिक मसान्तसम्म पनि गर्न सकिने भएकाले यदि ब्राह्मणको भौतिक उपस्थितिमा श्राद्ध गर्ने इच्छा छ भने त्यस्ता व्यक्तिले केही समय पर्खिएर अवस्था सामान्य भएपछि श्राद्धको कर्म सम्पन्न गर्न सक्नेछन् ।

यसैले कोही कसैले पनि श्राद्ध नगर्दा हुने अनिष्टको प्रचारप्रसार गर्ने तथा कसरी श्राद्ध गर्ने भन्ने कुरामा आम नागरिकलाई अल्मल्याउने काम गर्नु राम्रो होइन । मनमा श्रद्धा भएमा उपलब्ध सामग्रीको प्रयोग गरी जुनसुकै माध्यमबाट पनि श्राद्धसम्पन्न गर्न सकिने भएकाले एकलाई विधिसम्मत र अर्कोलाई विधिहीन भनेर आरोप गर्न सकिँदैन । आफ्नो गच्छेअनुसार उपलब्ध सुविधालाई आत्मसाथ गरेर वैकल्पिक विधिबाट वा कात्तिक मसान्तसम्म पितृलाई पिण्ड दान गर्न सकिने भएकाले श्राद्धकर्ताले आफूलाई अनुकूल हुने विधिको चयन गर्न सक्नेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार ०७:०२

लोकप्रिय