माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण विद्यार्थीलाई कक्षा ११ को पढाइको ढोका खोल्न सञ्चालन गरिएको दोस्रो चरणको परीक्षा (ग्रेड वृद्धि) बाट उत्तीर्ण परीक्षार्थीको व्यवस्थापनमा समस्या हुने देखिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसइई ग्रेड वृद्धि परीक्षाको नतिजा असोज ७ गते सार्वजनिक गरेको थियो । नतिजा अनुसार ५६.७८ प्रतिशत उत्तीर्ण भएका छन् । अर्थात् एक लाख १० हजार नयाँ विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य ठहरिएका छन् ।
विगतमा पनि एसइईमा ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने गरेको थियो तर त्यतिबेला परीक्षामा सहभागी हुने र उत्तीर्ण विद्यार्थी थोरै हुने भएका कारण ती विद्यार्थी व्यवस्थापनमा ठुलो समस्या हुँदैनथ्यो । यस पटक भने एसइईमा ननग्रेडेड (एनजी) आएका जति सबै विषयमा परीक्षा दिन पाउने व्यवस्था भएका कारण एक लाख १० हजार विद्यार्थी कक्षा ११ मा थपिन लागेको हो ।
असार तेस्रो साता सार्वजनिक भएका एसइईको नतिजा अनुसार उत्तीर्ण भएका विद्यार्थीका पढाइ सञ्चालन भएको दुई महिना पूरा भइसकेको छ । ग्रेड वृद्धिबाट उत्तीर्ण भएका विद्यार्थीका लागि भने बल्ल कक्षा ११ मा भर्नाको प्रक्रिया सुरु भएको छ । जबकि साउनमा भर्ना भएका विद्यार्थीको भने सम्बन्धित स्कुलले २५ प्रतिशतभन्दा बढी कोर्स पढाइसकेका छन् ।
उनीहरूका लागि प्रथम त्रैमासिक परीक्षा पनि सुरु भइसकेको छ । सबैजसो स्कुलले यो परीक्षा दसैँअघि नै सम्पन्न गर्दै छन् । नयाँ विद्यार्थीका लागि भने भर्ना सकिए पनि पढाइ भने तिहारपछि मात्रै हुने छ तर दुवै थरी विद्यार्थी (असार तेस्रो साता उत्तीर्ण भएका र ग्रेड वृद्धि परीक्षामा उत्तीर्ण भएका) को वार्षिक परीक्षा भने एकै पटक सञ्चालन हुने छ ।
त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्राचार्य हेरम्बराज कँडेलले ढिलो गरी भर्ना हुन आउने विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि सिकाइ उपलब्धिमा कमी हुन नदिने बताए । तर एउटै कक्षामा दुई थरी विद्यार्थी हुँदा पठनपाठन गराउँदा शिक्षकलाई समस्या पर्ने उनले बताए ।
काठमाडौँ महानगरपालिकाले पनि ढिलो भर्ना हुने विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विषयमा छलफल गरिरहेको तर ठोस योजना नबनेको जनाएको छ । महानगरपालिकाका शिक्षा विभागका प्रमुख गोविन्द शर्माले भने, ‘उनीहरूलाई अतिरिक्त कक्षा सञ्चालन गरेर वा छुट्टै सेक्सन बनाएर भए पनि पढ्न व्यवस्था मिलाउनु पर्छ । सम्बन्धित विद्यालय र शिक्षकको परामर्शमा योजना बनाउँछौँ ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि ग्रेड वृद्धि परीक्षाबाट उत्तीर्ण भएका परीक्षार्थीको सिकाइ सुधारका लागि के गर्ने भन्ने विषयमा अहिलेसम्म ठोस योजना बनाउन सकेको छैन । विद्यार्थीले दोस्रो पटक परीक्षा दिएर उत्तीर्ण हुनु नै मौका भएकाले पढाइमा पनि उनीहरूले थप मेहनत गरेर अरू सरह सिक्नुपर्ने बताए । उनले भने, ‘नयाँ भर्ना हुने विद्यार्थीको सङ्ख्या हेरेर सम्बन्धित विद्यालयले नै कसरी पढाउने भन्ने योजना बनाउनु पर्छ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं