बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दिपिका भट्टराई अध्ययनमा तीक्ष्ण थिए । विद्यालयमा हुने हरेक गतिविधिमा क्रियाशील भएर लाग्थे । उनीहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो ।
बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुँदै थिए । अध्ययनमा उत्कृष्ट उनीहरू कक्षा १० अर्थात् एसइईको तयारीमा जुटेका थिए । यद्यपि, ओलम्पियारमा पनि जाने उनीहरूको सोचमा विद्यालयले समर्थन गर्यो । विद्यालयले बिदा दिने भएपछि उनीहरू शुक्रबार काठमाडौं हिँडेका हुन् । शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विङ्गर)मा काठमाडौं जान उनीहरूले ट्राफिक चोकको काउन्टरमा पुगेर टिकट काटे । सोही गाडीमा चढे ।
लगातारको वर्षाले जनजीवन प्रभावित बनिरहँदा उनीहरू भने ठूलो भविष्यको सपना देख्दै काठमाडौंका लागि हिँडेका थिए । तर, उनीहरू सवार माइक्रो (विङ्गर) धादिङको झ्याप्ले खोलामा आएको पहिरोमा पुरियो । गाडी पुरिँदा जुम्लीया दाजु–बहिनी दिपेश–दिपिका आमा सिता भट्टराईसँगै पहिरोमा पुरिए । उनीहरू लगायत गाडी चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाए । पहिरोमा पुरिएकामध्ये दिपेश र सीताको पहिचान भइसकेको छ ।
दिपीकाको अवस्था पहिचान भइसकेको छैन । नागढुंगा प्रहरी प्रभागका अनुसार सबै मृतकहरूको पहिचान खुलीसकेको छैन । शव गएराति ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएएको प्रहरीले जानकारी दिएको छ । दिपेश–दिपिकाका बाबु होमनाथ भट्टराई भने कोरियामा बस्दै आएका छन् । श्रीमती र छोराछोरी घरबाट हिँड्ने बेला उनीसँग कुरा भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।
सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयका अनुसार कोरियामा रहेका होमनाथलाई जतिसक्दो छिटो बोलाइएको छ । उनले भने, ‘ठूलो सपना लिएर हिँडेका थिए । हामी पनि निकै खुसी थियौँ । तर, विपत्तिले लग्यो । दुःखि छाँ । सम्हालिन सकिरहेका छैनौँ ।’ उनले होमनाथलाई नेपाली समय अनुसार शनिबार गाडी पुरिएको थाहा दिइएको बताए । आइतबार बिहान ४ बजे शव फेला परेको जानकारी अनुसार नेपाल बोलाइएको पाण्डेयले जानकारी दिए ।
अर्काको मुलुकमा रहेका होमनाथलाई आफ्नो सम्पूर्ण परिवार गुमाएर फर्किन निकै गाह्रो भएको पाण्डेयले बताए । ‘शव शनाखतको लागि काठमाडौं जानुपर्ने । न सडकबाट न प्लेनबाट जाने अवस्था छ,’ उनी भन्छन् । होमनाथको घर स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ हो । उनका १५ वर्षीय छोराछोरी दिपेश र दिपिका बुटवलको कालिका माविमा पढ्दै आएका थिए । आमा सीता उनीहरूसँगै बस्थिन् ।
विद्यालयका प्रचार्य दिनेश थापा कालिका मानवज्ञान मावि बुटवलबाट आउँदो एसइईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थीहरूमध्ये दिपेश र दिपिका रहेको बताउँछन् । उनले उनीहरूको प्रगतिको लागि सिफारिससहित बिदा दिइएको बताए । विद्यालयका शैक्षिक संयोजक दिपक बञ्जाडे नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीको लागि उनीहरू काठमाडौं गएको बताउँछन् ।
‘दिपेश र दिपिकाले ऐक्षिक रूपमा आफैँ अनलाइनमा फर्म भरेर ओलम्पियारमा छनोट भएका थिए । पहिलो चरणमा हामीले पनि सहयोग गरेका थियौँ,’ बञ्जाडे भन्छन्, ‘दोस्रो चरणमा बंगलादेश जानुपर्ने भएकोले विद्यालयबाट हुन सक्ने सहयोग गरेका हौँ । उहाँहरूबाट बिद्यायलले ठूलो अपेक्षा गरेको थियो ।’ प्रहरी प्रभाग नागढुंगाका अनुसार उनीहरूसहित बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको शव निकाले सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी ७ जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन । पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडकखण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो । प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान लु १ ज ४५७८ नम्बरको उक्त गाडीमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर तीन जना चढेका थिए । यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ । तीमध्ये, बोम, कार्की र प्रकाश कुँवर मात्रै उल्लेख गरिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बुटवल