सूचनाको शक्ति - The Power Of Information

        

सप्तकोशीमा घट्न थाल्यो पानीको बहाव

५६ वर्षपछि सप्तकोशी नदीमा उच्च तहमा पुगेको पानीको बहाव विस्तारै घट्न थालेको छ । शनिवार बिहानैदेखि निरन्तर रुपमा बढेको पानीको बहाव आज बिहान ६ लाख ६१ हजार पाँच क्यूसेक पुगेकोमा विस्तारै घट्न थालेको हो ।

केहीबेरअघिको मापन अनुसार सप्तकोशीको पानीको बहाव घटेर ५ लाख ८२ हजार क्यूसेकमा झरेको छ । कोशी व्यारेजको ९ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ ।

सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो । कोशी ब्यारेजमा ५६ वटै ढोका खुल्ला गरिएको छ । उच्च खतराको संकेत रातो झण्डा फहराउने काम जारी छ । कोशी ब्यारेजमा सामान्यतय पानीको वहाव १ लाख ५० हजार काट्ने वितिकै खतराको संकेत रात्तो बती बाल्ने गरिन्छ ।

एक लाख ५० हजार मात्र पानीको बहाव कटेमा पश्चिमतर्फ र दुई लाख काटनेवित्तिकै पूर्वतर्फ बालिने गरिन्छ । पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ । पानीको बहाव खतराको तह पार गरेपछि झण्डा पनि फहराइएको हो ।

पानीको बहाव निरन्तर बढेकाले गर्दा जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुल भएर आउँजाउँ गर्न रोक लगाएकोमा अब सुचारु गर्ने तयारी भइरहेको जानकारी दिइयो ।

सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार सप्तकोसी नदीले फोहोर पुलमाथि थुपारि दिएकाले गर्दा त्यसलाई हटाएर यातायात सुचारु गर्ने तयारी भइरहेको हो । सन् २०११ साल वैशाख १५ गते नेपाल र भारतबीच कोशी योजना सम्बन्धी सम्झौता सम्झौता पश्चात कोशी ब्यारेज बनेको थियो ।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । यसैबीच, सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झण्डै तीन किलोमिटर पश्चिमको श्रीलंका टापुमा फसेका २१ जनालाई उद्दार गर्न सुरक्षाकर्मीको टोली खटिएको छ ।

नदीको बीचमा बस्ती भएकाले गर्दा शुक्रबार रातिदेखि नै फसेकालाई उद्दार गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखले हेलिकप्टरबाट उद्दार गर्ने योजना बनाएपनि शनिबार सम्भव भएको थिएन । मौसमक अनुकुल नभएर हेलिकप्टर नआउँदा उद्दार हुन नसकेका उनीहरुलाई मौसम सुधार भएसँगै सुरक्षाकर्मीले उद्दार गर्न टोली परिचालन गरिएको एसपी रेग्मीले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतवार ११:५४

लोकप्रिय