२०८३ असार १ , सोमबार 15, June 2026, Monday

कहिलेदेखि कम हुन्छ वर्षा ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज १३ गते आइतबार

तीन दिनदेखि परिरहेको अविरल वर्षा हिजो शनिबार बेलुकादेखि मत्थर हुँदै गएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर शनिबार बेलुकादेखि विस्तारै कम हुँदै गएको जानकारी दिए ।

‘हिजो बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु भएको छ, तर ठ्याक्कै रोकिने होइन, आजसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ,’ उनले भने । आजदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ ।

‘बादल फाट्न चै केही दिन लाग्छ, आजदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ,’ बाढी पूर्वानुमान शाखाका प्रमुख पराजुलीले भने, ‘पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो ।’

नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उनको भनाइ छ । शाखाले बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ ।

नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन् । पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन् । समग्रतामा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्याङ्क छ ।

चौबीस घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । १०७ वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ । यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन ।

बाढी पूर्वानुमान शाखाले जल सतह खतराको तह पार गरेका २३ नदी तटीय क्षेत्रका बासिन्दामा जोखिमको एसएमएस र १७ नदी क्षेत्रमा सतर्कताको सूचना निरन्तर पठाइरहेको छ । शाखाले वेभसाइट, नियमित बुलेटिन, सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत सूचना जारी गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार