सूचनाको शक्ति - The Power Of Information

        

अबिरल बर्षाले जलविद्युत आयोजनामा धेरै क्षति

अविरल वर्षाका कारण आएको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजना क्षेत्रमा पुर्‍याएको क्षति । तस्वीर : नेपाल विद्युत प्राधिकरण

अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ । विगत दुई दिनदेखि देशभर परेको वर्षाले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावरहाउसमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यस्तै, रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली दुई जलविद्युत् आयोजनाको भौतिक संरचना र उपकरणमा क्षति पुगेको छ । अपर तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत पाँच जना सम्पर्कविहीन छन् । यस्तै, खिम्ती लामोसाँघु प्रसारण लाइनमा क्षति पुगेको छ । उक्त प्रसारण लाइनको ७ नम्बर टावर बाढीले बगाउँदा काठमाडौँ आउने विद्युत् लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

यसैगरी दमकदेखि गोदकसम्मको प्रसारण लाइनमा समेत क्षति पुगेको छ । उक्त प्रसारण लाइन अन्तर्गतको ५१ नम्बर टावर बाढीले बगाएको हो । बाढीले सोलु करिडोर, कोशी कोरिडोरको प्रसारण लाइनमा समेत क्षति पुगेको प्रवक्ता घोषले बताए । नेपालमा उत्पादित विद्युत्गृहहरूमा बाढीपहिरोले क्षति पुगेपछि भारतबाट थप ३०० मेगावाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतवार ०७:४२

लोकप्रिय