नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला अहिले सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन् । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका नेता कोइराला उनै देउवाको ‘आधार क्षेत्र’ मानिने सुदूरपश्चिमको भ्रमण गरिरहेका छन् ।
कोइरालाको यो भ्रमणमा सुदूरपश्चिमका कांग्रेस नेता–कार्यकर्ताले ‘अभूतपूर्व’ स्वागत गरेको देखियो । किनकि, सुदूरपश्चिमका कार्यकर्ताले कोइरालालाई पन्ध्रौँ महाधिवेशनमा सभापति बन्न अनुरोध गरे । चौधौँ महाधिवेशनको पहिलो चरणको निर्वाचनमा कोइरालाले देउवालाई ५० प्रतिशत भोट कटाउन दिएका थिएनन् ।
दोस्रो पटक निर्वाचन हुँदा कोइराला देउवासँग पराजित भए । तर, कोइराला ४० प्रतिशत भोटसहित कांग्रेस राजनीतिमा ‘शक्तिशाली’ बनेर उदाए । त्यस बेला देउवासँग पराजित भएका कोइराला अहिले पन्ध्रौँ महाधिवेशनको तयारी गर्दै मैदानमा उत्रिएका छन् । कोइरालाको यो दौडधुप पन्ध्रौँ महाधिवेशनमा पार्टीको सभापति बन्ने लक्ष्य नै हो ।
त्यही सिलसिलामा कोइराला सुदूरपश्चिमको भ्रमणमा शुक्रवार निस्केका थिए । नेता कोइराला धनगढी पुग्दा देउवा र उनकी श्रीमती आरजुको ‘आधारभूमि’ मानिने धनगढीमा १५ किलोको माला लगाएर कांग्रेस नेता–कार्यकर्ताहरूले स्वागत गरे । नेता कोइरालालाई धनगढीमा पन्ध्रौँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना दिँदै नेता–कार्यकर्ताले १५ किलोको माला लगाइदिए ।
नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । त्यो दृश्य आफैँमा देउवाको आधार क्षेत्रमा कोइरालाका निम्ति ‘अनपेक्षित’ थियो । धनगढी विमानस्थल पुग्दा कोइरालालाई देउवाको गृह जिल्ला डडेलधुराका नेता युवराज पाण्डेसहित डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए ।
माला लगाइदिने क्रममा डडेलधुराका कांग्रेस नेता–कार्यकर्ताले कोइरालालाई पन्ध्रौँ महाधिवेशनका लागि शुभकामना दिँदै उनको पक्षमा नारा लगाएका थिए । स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला जिन्दाबाद’, ‘सुदूरपश्चिमले के भन्छ, पन्ध्रौँ महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ’, भन्दै नारा लगाएका थिए ।
साथै, कोइरालाको स्वागतका लागि सुदूरपश्चिमको थारु संस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो । नेपाली कांग्रेसका सभापति देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ । कोइरालाको स्वागतमा बसेका सुदूरपश्चिमका एक कार्यकर्ताले यस पटक देउवा आउँदा भन्दा नेता कोइरालाको स्वागतमा सहभागिता बढी रहेको दाबी गरे ।
कोइराला पुग्दा पार्टी सभापति देउवाको कार्यशैलीबाट वाक्क दिक्क भएका सुदूरपश्चिमीले नेता तथा कार्यकर्तामा निकै खुसी छाएको र पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेको नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेशबहादुर मल्लले बताए । सुदूरपश्चिमको भ्रमण सिलसिलामा नेता कोइरालाले कांग्रेसका नेता–कार्यकर्ताहरूसँग पार्टीको आन्तरिक राजनीति र भावी योजनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुदूरपश्चिम