चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको पाँच महिनामा १२ वटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँच वटा पोथी रहेका छन् ।
तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो । मृत भेटिएका गैँडामध्ये तीन वटाको लिङ्ग पहिचान हुन नसकेको उनले बताए । यस्तै सोही अवधिमा एक वटा बाघ मृतावस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
गत मङ्सिर १६ गते अमलटारी सेक्टर अन्तर्गत नन्दपुर घाटमा बाघसँग जुधेर अन्दाजी ६ वर्षको बाघ मरेको उनले जानकारी दिए । यसैगरी पाँच महिनाको अवधिमा गैँडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु भएका दुवै जना नवलपुर बर्दघाट सुस्तापूर्वका रहेको उनले बताए । निकुञ्जभित्रको अवैध गतिविधि नियन्त्रण गर्ने क्रममा १५० जनालाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
गैँडा मारेर खाग तस्करी गरेको आरोप, बाघ सम्बन्धी कसुर, अनुमतिबिना बँदेल पाल्ने, बिना अनुमति निकुञ्जमा घाँस दाउरा काट्ने, माछा मार्ने, निउरो टिप्ने लगायत काममा सहभागी भएका उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको निकुञ्जका सूचना अधिकारी थापा मगरले जानकारी दिए ।
सत्यपाटी