सूचनाको शक्ति - The Power Of Information

        

सोमबार र मंगलबार दोस्रो हिउँदे वर्षाको सम्भावना

यो वर्षको हिउँदको दोस्रो वर्षा आउँदो सोमबार र मंगलबार हुने सम्भावना छ । सोमबार रातिदेखि मंगलबारसम्म पश्चिम नेपालमा वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि मंगलबारसम्म पश्चिम नेपालमा हुने देखिन्छ । यो वर्षा पनि हल्का हुने र मुख्यतया पहाडी र हिमाली भेगमा मात्र हुने सम्भावना छ ।’

उनका अनुसार, उक्त अवधिमा कर्णाली प्रदेशमा ‘राम्रो वर्षा’ हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने देखिएको छ । ‘अन्य प्रदेशमा भने छिटपुट वर्षा र बदली मात्र हुनेछ,’ उनले लेखेका छन् । जलवायुविज्ञ डा.धर्मराज उप्रेतीले पनि उक्त अवधिमा वर्षाको सम्भावना औँल्याएका छन् ।

‘आगामी पुस ८ गते रातिदेखि १० गतेसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ,’ शनिबारै उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनका अनुसार, पुस १२ साँझदेखि १५ गतेसम्म भने सुदूरपश्चिमबाट सुरु भएर देशभरि अर्को वर्षा र हिमपातको सम्भावना छ ।

‘पश्चिम नेपालका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी हुँदै गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ भने पूर्वी भागमा हल्का वर्षा र हिम्पातको सम्भावना,’ उनले लेखेका छन् । वर्षापछि हालको वायु प्रदूषण केही घट्ने उनको भनाइ छ । गएको मंसिर २३ र २४ गते देशका केही स्थानमा यो वर्षको हिउँदको पहिलो वर्षा भएको थियो । त्यो पनि ठूलो वर्षा नभएर हल्का थियो ।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार १७:५१

लोकप्रिय