अपराध अनुसन्धानजस्तो गम्भीर प्रकृतिको कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीहरु तालिम प्राप्त, इमान्दार, बफादार र अपराध अनुसन्धानमा पोख्त हुनुपर्छ । विवादरहित ढंगले काम गर्नसक्ने प्रहरी कर्मचारी हुनुपर्नेमा बदनाम-घुसखोरहरुको बाहुल्यताले गर्दा अपराध अनुसन्धानको क्षेत्रमा खटिने असल र इमान्दार प्रहरी कर्मचारीहरुसमेत त्यसको भागिदार हुनुपरेको छ ।
आउने दिनहरुमा नेपाल प्रहरीको अपराध अनुसन्धानको क्षेत्रलाई चुस्त दुरुस्त बनाउनका लागि लामो समय बसेका, बदनामी कमाएका प्रहरी कर्मचारीलाई हदैसम्मको कारबाही गर्नुको सट्टा प्रोत्साहन गर्दा प्रहरी संगठन विवादित बन्दै गएको छ । विवादित व्यक्तिलाई लामो समय एकै ठाउँमा खटाउँदा जमुनाहा भन्सार नाकामा पनि घुमुवा प्रहरीको आतंक बढ्दै गएको छ ।
बर्दियाको बाँसगढी नगरपालिका स्थायी घर भई इलाका प्रहरी कार्यालय अमिलिया दाङमा दरबन्दी रहेका प्रहरी सहायक हवल्दार भीम थारु २०७६ सालदेखि जयसपुर, जमुनाहा र नेपालगन्ज भन्सारमा खटाइएका छन् । क्यासिनोमा जुवा खेल्नका लागि जमुनाहा नाका हुँदै नेपालगन्ज आउँदै गरेका भारतीय नागरिकबाट तीन लाख भारतीय रुपैयाँ लुटेको थारुमाथि आरोप लागेको थियो ।
उक्त आरोपपछि २०७९ सालमा झण्डै उनी पाँच महिना पूर्वी रुकुमतिर बसेको स्रोतले बतायो । त्यसयता हालसम्म प्रहरी सहायक हवल्दार भीम नेपालगन्ज भन्सारमा खटाइएका छन् । जयसपुरका भुरे भनिने खसी तस्कर, दुब्बर भनिने खसी र कुखुरा तस्कर लगायतसँग हिमचिम बढाउँदै कमाउधन्दामा उनी केन्द्रीत भएको इलाका प्रहरी कार्यालय जमुनाहा स्रोत बताउँछ ।
‘भुरे र दुब्बर भनिने तस्करहरुलाई साथ दिँदै असुली धन्दामा संलग्न रहेका छन्,’ इलाका प्रहरी कार्यालय जमुनाहाका एक जना प्रहरी कर्मचारीले भने, ‘उनलाई इलाकाले केही गर्न सक्ने अवस्था छैन, कारबाहीका लागि जिल्लाले नै सोच्नुपर्ने हो । कसैको संरक्षण नभई यति लामो समय काजमा बस्न सक्ने अवस्था रहँदैन ।’
स्रोतका अनुसार प्रहरी सहायक हवल्दार भीमले दुब्बर, भुरे, मामा भनिने तस्करसँग खसी मागिसकेको चर्चा नेपालगन्ज भन्सारमा कार्यरत प्रहरी कर्मचारीहरुबीच भुसको आगो झैं सल्किएको छ । भीमले हरेक चाडपर्वका बेला खसी, कुखुरा, माछा माग्ने उपल्ला तहका अधिकृतहरुसम्म पुर्याउँदै आएको पनि जमुनाहा प्रहरी स्रोतले बतायो ।
चाडपर्वका बेला खसी मागेर जिल्लासम्म पठाउँदै आएका उनी जिल्लाकै एक जना प्रहरी अधिकृतको संरक्षणमा रहेको बुझिएको छ । मामा भनिने भारतीय खसी तस्करसँग पनि ‘नजराना’ उठाउँदै आएका प्रहरी सहायक हवल्दार भीम कोहलपुर र नेपालगन्ज महिला तस्करहरुको सामान बोर्डर पास गराउन पनि सक्रिय हुँदै आएको खुलेको छ ।
१५० सिसीको कालो रातो रङ्गको मोटरसाइकल प्रयोग गर्दै आएका भीमको उक्त मोटरसाइकल पनि चोरीकै रहेको प्रहरी स्रोतले बतायो । त्यसो त उनी मोटरसाइकल र मोटरसाइकल नम्बर परिवर्तन गरिरहने गरेको बताइन्छन् । उनी अहिले पनि प्रहरीको कर्तव्यतिर भन्दा कमाउधन्दामै लिप्त भएको आरोप छ ।
उनी त एक जना प्रतिनिधि पात्र मात्रै हुन्, जिल्लामा सादा पोसाकमा खटिएका अधिकांश ‘घुमुवा’ प्रहरीहरु बदनाम, हाकिमको पैसा उठाउने, फाइदा दिलाउने र खुसी पार्नमै तल्लीन रहने गरेका छन् । उनीहरु आर्थिक लेनदेनमा मात्र केन्द्रित भएकाले बाँके जिल्लामा पछिल्ला दिनमा अपराधिक घटना बढिरहेका छन् ।
यस विषयमा इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरिक्षक उपेन्द्र बुढाथोकी र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख तुलबहादुर कार्कीसँग सम्पर्क खोज्दा सम्पर्क हुन सकेन । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज भर्खरै सरुवा भई आएकाले उनका गतिविधिबारे जानकार नरहेको पनि जमुनाहा प्रहरी स्रोतले बतायो ।
घुमुवा प्रहरी आतंक वडा प्रहरी कार्यालय नेपालगन्जमा बढिरहेको छ । लामो समयदेखि वडा प्रहरी कार्यालय नेपालगन्ज मातहत घुमुवा प्रहरीका रुपमा काम गरिरहेका हुसेन नाम गरेका प्रहरी हवल्दार र प्रहरी जवानद्वय पुष्प भुजेल र मञ्जु यादवको कार्यशैली पनि घुमुवा प्रहरीको उद्देश्यभन्दा ठीक विपरित रहेको कार्यालय स्रोतको भनाई छ ।
सामान्य रुपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो । तर, पछिल्ला वर्षहरुमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् । इञ्चार्जसमक्ष पैसा पुर्याउने विश्वासिलो माध्यम बनेका छन्, उनीहरु । घुमुवा प्रहरी विशेषतः बाँके जिल्लामा बढी सक्रिय देखिन्छन् ।
सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरु जोडिँदै आएका छन् । घमुवा प्रहरी भनेर छुट्टै दरबन्दी हुँदैन । जिल्ला प्रहरी कार्यालयमा एक दर्जन बढी घुमुवा राखिएको बताइन्छ । कतिपयमा कार्यालयमा असईको कमाण्डमा उनीहरुलाई राखिएको छ भने कतिपय जिल्लामा भने प्रहरी निरीक्षकको कमाण्डमा पनि घुमुवा खटाइएका छन् ।
केही घुमुवा प्रहरी एउटै प्रहरी अधिकारीको वरिपरि घुमेको पनि देखिन्छन् । अर्थात्, हाकिमको जताजता सरुवा हुन्छ, उनीहरु पनि उतैउतै जान्छन् । कतिपयको हकमा भने यो लागूहुँदैन । उनीहरुको जागिर जुन जिल्लाबाट सुरु भएको छ, त्यहीँबाट अवकाश भएका उदाहरणहरु पनि प्रशस्तै छन् । कहाँ-कहाँबाट रकम उठाउने गरिएको छ भन्ने उनीहरुलाई थाहा हुने भएकाले पनि घुमुवालाई सामान्य अवस्थामा सारिँदैन ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं