सूचनाको शक्ति - The Power Of Information

        

राप्ती नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा ‘हाई अलर्ट’

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह सतर्कताको विन्दु नजिक पुगेपछि बाँकेको तटिय क्षेत्रका गाउँ बस्तीमा हाई अलर्ट जारी गरिएको छ ।

जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु ६ मिटर कायम गरिएकोमा पानी सो नजिक पुगिसकेकाले हाई अलर्ट जारी गरिएको जानकारी दिए ।

उनले शनिबार बिहान ११ः३० बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ९१ सेन्टिमिटर पुगेको बताए । सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार, दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । शनिबार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ ।

नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो । सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताए ।

जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कुसुममा पानीको सतह ७.८ मिटर पुग्ने वित्तिकै खतरा स्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ७ मिटर ८० सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नदीको सतह बढेर ५.९१ मिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरुमा अलर्ट जारी गरिएको बताए ।

उनले जोखिमका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क र सजग रहन आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताए । राप्ती नदी वरिपरिको क्षेत्रका विपद व्यवस्थापन समितिहरु पनि तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार १४:२४

लोकप्रिय