सूचनाको शक्ति - The Power Of Information

        

असार-साउनमा भन्दा धेरै बर्षा, बेलुकाबाट घट्ने

पछिल्लो दुई दिनदेखि देशभर भइरहेको वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । मौसम विभागका अनुसार पानी नपरेको क्षेत्र कतै छैन । काठमाडौंसहित देशभरका सडक अस्तव्यस्त बनेको छ ।

वाग्मती नदीमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । नजिकका घरहरु डुबानमा परेका छन् । सडकसमेत जलमग्न भएको छ । असार–साउनमा भन्दा बढी वर्षा भएकाले सचेतता अपनाउन विभागले अनुरोध गरेको छ ।

किन भइरहेको छ लगातार वर्षा ?

मौसमविद् विनु महर्जनका अनुसार बंगालको खाडीबाट उत्पन्न भएको न्युन चापीय प्रणाली भारतको मध्येप्रदेश हुँदै नेपाल भित्र एकोहोरिएर प्रवेश गरेको थियो । त्यस प्रणालीले सामान्यभन्दा बढी वर्षा गराएको हो ।

विभागले गरेको पूर्वानुमान अनुसार आज बेलुकासम्म यस्तै झरी रहिरन्छ । बेलुकाबाट मात्रै झरी कम हुने सम्भावना छ । पछिल्लो एक घण्टामा सबैभन्दा बढी वर्षा सर्लाहीमा भएको छ । सर्लाहीमा एक घण्टामा ४८.२ मिलिमिटर वर्षा भएको छ ।

तर पछिल्लो २४ घण्टामा देशभर नै हल्कादेखि अति भारीसम्म वर्षा भएको छ । ‘पानी आज दिनभर यस्तैगरी पर्ने देखिन्छ,’ उनले बाह्रखरीसँगको कुराकानीमा भनिन्, ‘साँझबाट घट्न थाल्छ । तर भोलि मध्याह्नपछि मात्रै आकाश खुल्न सक्ने अनुमान गरेका छौँ ।’

गण्डकी, कोसी, मधेस, लुम्बिनी र वाग्मतीमा भारी वर्षा भएको हो । काठमाडौं, काभ्रे लगायतका स्थानमा पछिल्लो २४ घण्टामा अति भारी वर्षा भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार १३:४९

लोकप्रिय