सूचनाको शक्ति - The Power Of Information

        

दसैँको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु

सरकारले दसैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । शुक्रबारदेखि नै संघीय राजधानी काठमाडौंसहित देशभर अविरल वर्षासमेत भएकाले बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाइनमा बसेका छन् ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुर लगायतका ठाउँमा जाने यात्रुको भीड लागेको छ । सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन् ।

सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको बताए । उनले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण यात्रुलाई मर्का परेको बताए ।

उनले आज पनि राजमार्ग हुँदै सार्वजनिक यातायात आवतजावत गर्ने परिस्थिति नहरेको उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष सिटौलाले यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गरे । ‘राजमार्ग बिग्रिएका कारण काठमाडौं आवतजावत गर्न सार्वजनिक सवारीसाधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनुपर्दैन,’ उनले भने ।

हरेक वर्ष दसैँ मनाउन काठमाडौंबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार १०:०६

लोकप्रिय