सूचनाको शक्ति - The Power Of Information

        

देशैभर भारी वर्षा, १४ स्थानमा चेतावनीको तह पार

देशभर अत्यधिक वर्षाका कारण १४ स्थानमा चेतावनीको तह पार गरेको छ । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका स्थानमा अहिलेसम्म १४ स्थानमा चेतावनीको तह पार गरेको हो । वर्षा मापन केन्द्रमध्ये धेरैजसो कोशी प्रदेशका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको मापन भएको छ भने मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा मापन गरिएको छ ।

कोशी प्रदेशको मोरङको हरइचा, बाहुनी, विराटनगर विमानस्थल, झापाको अनारमनी बिर्ता, शनिश्चरे, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा र बाहुनडाँगी, इलामको कन्काई मैनाचुली र उदयपुरको सुन्दरपुरमा चेतावनीको तह पार गरेको छ ।

यस्तै मधेश प्रदेशमा सप्तरीको बरमझिया र रुपनी बजार र लुम्बिनी प्रदेशको पाल्पाको जाल्पा र अर्चालेमा चेतावनीको तह पार गरेको हो । विभागका अनुसार अहिले देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा झापाको चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा भएको छ । यस्तै झापाकै केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ । झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ ।

उदयपुरको सुन्दरपुर र पाल्पाको अर्चलेमा पनि अत्यधिक वर्षाले खतराको संकेत गरेको छ । आगामी २४ घण्टाका लागि देशभर नै मनसुन सक्रिय रहने सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १४:०५

लोकप्रिय