पश्चिम नेपालका विभिन्न पहाडी र तराईका जिल्लाको प्रमुख नाकाका रूपमा रहेको नेपालगन्जस्थित जमुनाह नाका मानव बेचबिखनका लागि अति नै जोखिमपूर्ण मानिएको छ । यो नाकाबाट जोखिमपूर्ण रूपमा भारत छिराउन वा छिर्न लागेका सयौँ महिला तथा युवतीलाई हरेक वर्ष उद्धार गरेर घर फर्काउने गरिएको छ । मानव बेचबिखन बढ्न थालेसँगै पछिल्लो समयमा मानव बेचबिखनविरुद्धका मुद्दा पनि प्रहरीमा दर्ता हुने क्रम बढेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत तीन आर्थिक वर्षमा मानव बेचबिखनविरुद्धका ४७ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले आव २०७८–०७९ मा मानव बेचबिखनविरुद्धका १७ वटा मुद्दा दर्ता भएकोमा आव २०७९–०८० मा १३ र आव २०८०–०८१ मा पनि १३ वटा दर्ता भएको बताए ।
उनले चालु आव २०८१–०८२ को हालसम्म चार वटा मुद्दा दर्ता भइसकेको र अनुसन्धान भइरहेको बताए । बाँकेमा दर्ता भएका मुद्दामध्ये १० वटाबाहेक सबै मुद्दामा प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरिसकेको प्रमुख कार्कीले बताए । उनले मानव बेचबिखनका मुद्दा दर्ता गर्दा आधारभूत सबुत प्रमाणलाई आधार बनाउने गरिएको जनाउँदै बेचबिखनविरुद्ध सचेतनाका लागि प्रहरीले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरी निरन्तर काम गरिरहेको पनि बताए ।
यसैबीच माइती नेपाल नेपालगन्ज कार्यालयले गत आव २०८०–०८१ मा बाँकेको जमुनाह नाकाबाट मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका ५२६ जना महिला तथा बालबालिकालाई उद्धार गरेर सुरक्षित रूपले घर फर्काएको जनाएको छ । माइती नेपालका अनुसार ती सबैलाई परिवारसँग पुनर्मिलन गराइएको छ ।
यसैगरी भारतका विभिन्न ठाउँबाट नौ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपालले जनाएको छ । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार पछिल्लो समय पढेलेखेका, आर्थिक रूपले सम्पन्न, महिला, पुरुष सबै तप्काका मानिस मानव बेचबिखनमा परिरहेका छन् । जमुनाह नाकाबाट कामका लागि तेस्रो मुलुक जाने नाममा भारतको बाटो प्रयोग गर्दा पनि मानिसहरू मानव बेचबिखनमा परेको उनले बताए ।
अर्कातर्फ पैसाका लागि जस्तोसुकै काम गर्ने महत्वाकाङ्क्षा र सामाजिक सञ्जालको दुरुपयोगकर्ताको निसानामा पर्दा पनि महिला बेचबिखनमा पर्ने गरेको पाइएको छ । प्रमुख कोइरालाले माइती नेपालले भारतमा बेचबिखनमा परेकाहरूलाई अपरेसन चलाएर उद्धार गरी ल्याउने गरेको जनाउँदै पछिल्लो समय माइती नेपालमा खाडी मुलुकबाट समेत आफू बेचबिखनमा परेको र उद्धार गरिदिन भन्दै निवेदन आइरहेको बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके