सूचनाको शक्ति - The Power Of Information

        

बुकीमा चरेका च्यांग्राको माग उच्च

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा १५० च्याङ्ग्रा छन् । घुम्ती गोठमा पालेको च्याङ्ग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउँदै आएका छन् । ‘वर्षमा ४० जति च्याङग्रा बिक्री हुन्छ,’ उनले भने, ‘घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङ्ग्रापालनबाटै जुटाउने गरेको छु ।’

३५ वर्षीय डिण्डुपले विदेश नगइ पुर्खाले गर्दै आएको च्याङ्ग्रापालनलाई निरन्तरता दिएका हुन् । याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङ्ग्रा पालेका छन् । दशैँ तिहारमा पोखरा, काठमाडौं लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङ्ग्राको उच्च माग हुन्छ ।

सडक यातायात र बजारको सुविधासँगै च्याङग्रा पाल्ने पेसा व्यावसायिक बन्न थालेको लोघेकर दामोदरकुण्ड–४ घाराका पेमा छिरिङ गुरुङले बताए । ‘पहिले दशैँतिहारका लागि एकमहिना पहिले नै च्याङ्ग्रा हिँडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँबस्ती र पोखरामा लैजाने गरिन्थ्यो,’ उनले भने, ‘अहिले गाउँबाटै प्रतिगोटा ३३ देखि ३५ हजार रूपैयाँमा च्याङ्ग्रा बिक्री भइरहेको छ ।’

तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ । जडिबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैँ तिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गर्छ । बर्खामा समुद्री सतहदेखि ६ हजार मिटर उचाईको हिमालको फेदमा पुग्ने च्याङ्ग्रा गोठहरु असोज लागेपछि बेँसीर्फ झार्ने गर्छन् ।

तीन–चार वटा घरले वार्षिक रुपमा एक लाख पचास हजार ज्याला दिएर च्याङ्ग्रा हेर्न गोठाला राखेका छन् । स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरु च्याङ्ग्रा गोठाला बस्ने गर्छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मुस्ताङमा १२ वटा मिश्रित ठूला च्याङग्रा फार्म छन् ।

२० देखि ५० वटाको संख्यामा च्याङग्रा पाल्ने कृषकहरुको संख्या धेरै रहेको केन्द्रका प्रमुख पशु चिकित्सक डा लालमणी अर्यालले बताए । उनका अनुसार मुस्ताङमा हाल ५० हजार च्याङ्ग्रा पालिएको छ । थासाङबाहेक, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा व्यवसायिक च्याङग्रापालन भएको छ ।

यसवर्षको दशैँतिहारका लागि मुस्ताङबाट च्याङ्ग्रा निकासी हुन थालेको छ । बुधबारसम्म ३९७ च्याङग्रा निकासी गर्न स्वास्थ्य परीक्षण गरी सिफारिस दिएको केन्द्रका प्रमुख अर्यालले बताए । स्वास्थ्य परिक्षण गरेर निरोगी पशुमात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । स्थानीय व्यापारीले गाउँका किसानहरुबाट खरिद गरेर जोमसोममा च्याङ्ग्रा ल्याउन थालेका छन् ।

देशका विभिन्न ठाउँका व्यापारीहरुले जोमसोममा खरिद गरेका च्याङ्ग्रा हिँडाएर म्याग्दीको बेनीसम्म ल्याउँछन् । बेनीदेखि ट्रकमा राखेर देशका विभिन्न बजारमा च्याङ्ग्रा लैजाने गर्छन् । मुस्ताङबाट गत वर्ष २० करोड रूपैयाँभन्दा बढी मूल्य बराबरको सात हजार च्याङ्ग्रा निकासी भएको थियो ।

यसपालीको दशैँतिहारका लागि १० देखि ११ हजार च्याङ्ग्रा निकासी हुने अनुमान गरिएको केन्द्रका प्रमुख अर्यालले बताए । मुगु र डोल्पाको च्याङ्ग्रा पनि मुस्ताङ हुँदै बजार पठाउने गर्छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन र स्थानीय तहका पशु सेवा शाखाहरुले मुस्ताङमा च्याङ्ग्रापालन विस्तार र प्रर्वद्धनसम्बन्धी कार्यक्रममा जोड दिएका छन् ।

पीपीआर रोगविरुद्धको निःशुल्क खोप लगाउने व्यवस्था मिलाएको भेटेरीनरी अस्पतालले च्याङग्राको नश्ल सुधार गर्न स्रोत केन्द्र स्थापना गर्ने, घुम्ती गोठ सुधार र घुम्ति पशु स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख अर्यालले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन कार्यक्रमले परम्परागत रुपमा हुँदै आएको च्याङ्ग्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाइ गुणस्तरीय मासु, ऊन र पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चार वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विभिन्न गतिविधि गर्दै आएको छ ।

च्याङग्राको पाठापाठी उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्नुका साथै च्याङग्रालाई वन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको परियोजनाका प्रमुख नेत्र भट्टले बताए । हिमचितुवाको आक्रमणबाट च्याङ्ग्रा मर्ने समस्या र हिउँदको समयमा आहराको व्यवस्थापन मुस्ताङको च्याङ्ग्रापालनमा चुनौतीका रुपमा देखिएको किसान तथा कृषि प्राविधिकहरुले बताएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार ०९:०७

लोकप्रिय