मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ ।
यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्न सक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ । महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी गर्दै बिहीबारदेखि शनिबारसम्मका लागि २७ जिल्लामा रेडअलर्ट जारी गरेको थियो । रेडअलर्ट जारी भएका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय सरकारले यसअघि नै गरेको थियो ।
महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि आइतबार बिहानसम्म अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ । तराईमा हावाहुरीको समेत चेतावनी दिइएको छ ।
गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने आरिघोप्टे तहको वर्षाको सम्भावना छ । बिहीबार दिउँसोदेखि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका थोरै स्थान तथा मधेशका एक–दुई स्थानमा भीषणदेखि अत्यधिक वर्षाको चेतावनी दिइएको छ । तराईमा हावाहुरी चल्नेछ ।
त्यसैगरी शुक्रबार पनि देशभर वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थान तथा मधेशका थोरै स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ । तराईमा हावाहुरीको समेत सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ ।
यस्तै शनिबार पनि अधिकांश स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ । लुम्बिनी, गण्डकी तथा कर्णालीका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ भने आइतबार बिहानसम्म वर्षा हुनेछ । देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि आइतबार दिउँसोदेखि मौसममा सुधार आउने मौसमविद् मानन्धरले बताइन् । गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, सिराहा, सप्तरी, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत, सल्यान कैलाली, डोटी र अछाम जिल्लामा रेडअलर्ट जारी गरिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं