जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा यतिबेला करिब ६० जना थुनुवा छन् । तिनै ६० जनामध्ये २ जना चर्तित दुई पात्र छन्, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ र नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआइजी) छविलाल जोशी बन्जाडे ।
संयोग यो छ कि यी दुवैजना रास्वपा सभापति रवि लामिछानेका पूर्वसहकर्मी–साझेदार हुन् । पूर्वसांसद श्रेष्ठ लागु औषध कारोबारको कसुरमा पक्राउ परेका हुन् भने पूर्वडीआईजी जोशी सहकारी ठगीको कसुरमा । दुई दिनदेखि उनीहरूको वास एउटै हिरासतमा छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतका पाँच वटा कोठा छन् । तीमध्ये तीन वटा कोठा ठूलठूला छन् । यी कोठामा २० जनाका दरले थुनुवालाई राख्न सकिन्छ । अहिले पनि तीनवटै कोठा भरिभराउ छन् । तर दुईवटा कोठा साना छन् । तिनैमध्येको एउटा कोठामा छन्, ढाकाकुमार र छविलाल ।
ढाकाकुमार १२ दिनदेखि सोही हिरासतमा छन् । उनलाई भदौ २७ गते प्रहरीले पक्राउ गरेको थियो । उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको सूचनापछि प्रहरीले पक्राउ गरेको हो । त्यसअघि नै प्रहरीले दुई जना लागु औषध प्रयोगकर्तालाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट लागु औषध बरामद भयो ।
उक्त लागुऔषध कहाँबाट खरिद गरेको भनी अनुसन्धान गर्दा ढाकाकुमारसम्म प्रहरी पुगेको थियो । उनलाई प्रहरीले अन्य थुनुवासँग नमिसाई छुट्टै राखेर अनुसन्धान गरिरहेको थियो । तर, आइतबार कास्की प्रहरीकै अनुरोधमा काठमाडौंको बानेश्वरबाट पूर्वडीआइजी छविलाल पक्राउ परेपछि ढाकाकुमारले रात कटाउने साथी पाएका छन् ।
जोशीविरुद्ध कास्कीको सूर्यदर्शन सहकारीका बचतकर्ताले गत माघमा नै जाहेरी दिएका थिए । सहकारी ठगीमा यसअघि नै मुद्दा दर्ता भइसकेको थियो । केही पक्राउ परेर पुर्पक्षका लागि थुनामा पनि गइसकेका छन् । सहकारीका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राईसहित आधाभन्दा बढी अभियुक्त भने अझै फरार छन् ।
पूर्वगृहमन्त्री रवि लामिछानेसहित जोशीविरुद्ध पनि पूरक जाहेरी परेको थियो । गत माघमै परेको जाहेरी लामिछानेले पद र शक्तिको आडमा दबाइरहेका थिए । पछिल्लोपल्ट सहकारी छानबिन सम्बन्धी संसदको विशेष समितिले प्रतिवेदन दिएपछि प्रहरी पुनः सक्रिय भएको हो । गत आइतबार जोशीलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरियो ।
त्यसै राति उनलाई हजाईजहाजमार्फत पोखरा लगियो । राति नै पोखरा पुर्याएपछि उनले सुरुमा अस्पताल बस्ने इच्छा देखाएका थिए । उनलाई हिरासतमा राख्नुअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य जाँच गरिएको थियो । त्यतिबेलै उनले अस्पताल बस्न प्रहरीलाई अनुरोध गरेका थिए ।
तर प्रहरीले चिकित्सकको सिफारिसबिना अस्पतालमा राख्न नमिल्ने भन्दै हिरासतमा लिएर गए । जोशीले आफू बिरामी पनि रहेको दाबी गरेका थिए । तर चिकित्सकले अस्पतालमै बस्नुपर्ने खालको नरहेको भनिदिए । अनि प्रहरीले हिरासतमा लगेर ढाकाकुमार श्रेष्ठ रहेकै कोठामा राख्यो । सोमबार जोशीलाई अदालतमा उपस्थित गराइएको थियो ।
अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न पहिलोपटक ५ दिनको म्याद दिएको छ । तर जोशीले हिरासतमा बस्दा आफूलाई चिसो लागेको बताएपछि उनलाई मंगलबार पनि अस्पताल लगिएको थियो । मंगलबार सरकारी वकिलको रोहबरमा बयान लिँदा पनि जोशीले आफू बिरामी रहेको जिकिर गरिरहेपछि बयान छाडेर फेरि अस्पताल लगिएको थियो ।
अस्पतालबाट औषधि लिएर उनलाई हिरासतमै फर्काइएको छ । रास्वपा सभापति लामिछानेले ढाकाकुमारलाई समानुपातिक तर्फबाट सांसद बनाएका थिए । तिनै ढाकाकुमारले मन्त्री बन्न सभापति लामिछानेको ‘कोर समूहलाई दिनुपर्ने’ भन्दै विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड चन्दा मागेको अडिओ बाहिरियो ।
लामिछानेले उनलाई तत्कालै पार्टीबाट हटाए । मेडिकल डाक्टरसमेत रहेका ढाकाकुमार सांसद पद गएपछि फार्मेसी चलाएर बसिरहेका थिए । त्यस्तै छविलाल जोशी लामिछानेका गोर्खा मिडिया नेटवर्कका स्थापनाकालीन साझेदार हुन् । लामिछानेलाई गोर्खा मिडिया नेटवर्कको साझेदार बनाउँदा जोशीले आफ्नो भागको सेयर दिएका थिए ।
सुरुमा गोर्खा मिडिया नेटवर्कको सेयर जीबी राई र छविलाल जोशीको आधाआधा थियो । जोशीले रवि लामिछानेलाई आफ्नो भागको १५ प्रतिशत सेयर दिएको बयान संसदीय छानबिन समितिमा दिएका छन् । अहिले जोशी र लामिछानेमाथि त्यही गोर्खा मिडियामा लगेर सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।
अहिले त संयोग यस्तो बन्यो, ढाकाकुमारलाई कारबाही गर्ने पार्टी सभापति लामिछानेका व्यावसायिक साझेदार हिरासतमा ‘रुमपार्टनर’ बने । अझ रोचक त यो छ कि ढाकाकुमारले रकम माग गरेको अडिओ सार्वजनिक गरेर सांसद पद नै धरापमा पारिदिने दुर्गा प्रसाईं पनि विद्युतीय अपराध (साइबरक्राइम)को अनुसन्धानका लागि काठमाडौँको सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै छन् ।
अर्को संयोग यस्तो बन्यो प्रसाईंलाई हिरासतसम्म पुर्याउने भने रास्वपाकै केन्द्रीय सदस्य हुन् । उनको जाहेरीपछि साइबर ब्यूरोले आइतबार पक्राउ गरेको थियो । पक्राउ परेकै रातिदेखि वीर अस्पतालमा बस्दै आएका प्रसाईंलाई मंगलबारदेखि प्रहरी हिरासत लगिएको हो । उनको पनि यता बयान सुरु भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कास्की