सूचनाको शक्ति - The Power Of Information

        

चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरी घाइते

दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । उनीहरूको उपचार भइरहेको छ । उनीहरू एकै परिवारका हुन् ।

चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ११ खुङकोटका तीन वर्षीय समीर साहुको मृत्यु भएको हो ।

उपचारका क्रममा उनको बुधबार बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मंगलबार दिउँसो घरमै बसिरहेका बेला ४२ वर्षीया आमा निमकला साहु, ६ वर्षीया छोरी सविना र तीन वर्षीय छोरा समीर घाइते भएका थिए ।

उनीहरूलाई सुरुमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । बुधबार बिहान प्रतिष्ठानले तुलसीपुरको प्रादेशिक अस्पतालमा रिफर गरिदिएको थियो । अस्पताल पुर्याउन साथ चिकित्सकले ३ वर्षीय समिरलाई मृत घोषणा गरेका थिए ।

आमा र छोरीको अवस्था मध्य रहेको चिकित्सकलाई उद्धत गर्दै प्रहरीले जानकारी दिएको छ । चट्याङले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १४:०१

लोकप्रिय