सूचनाको शक्ति - The Power Of Information

        

छविको बयानपछि झन् अप्ठ्यारोमा रवि

गोर्खा मिडिया प्रा.लि.का सञ्चालक समेत रहेका पूर्व डिआइजी छविलाल जोशीले प्रहरीमा गरेको बयानबाट रवि लामिछाने झनै अप्ठ्यारोमा परेको स्रोतले बताएको छ । जोशीलाई संगठित अपराध र ठगीमा थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई सोमबार पाँच दिनका लागि अनुमति दिएको छ ।

कास्की प्रहरीका अनुसार जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयको रोहवरमा प्रारम्भिक बयान सुरु गरिएको छ । प्रहरी समक्ष दिएको बयानमा जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समिति उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएर बाहिरिएको बताएका छन् ।

‘सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवि र जीबीबाटै भएको हो, म सुरुवाती चरणमा सञ्चालक समिति उपाध्यक्ष थिएँ, गलत संगतमा परेको बुझेर बेलैमा बाहिरिएँ,’ जोशीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘जीबीले त सहकारीबाट रकम निकाल्दै आएका हुन्, गोर्खा मिडियामा रकम ल्याएर खर्च गर्ने आइडिया रविकै हो । भव्य नाफा हुन्छ भन्दै पावरप्वाइन्टमा देखाएर जीबीलाई उचाल्ने रवि नै हुन् । रविले जीबीलाई भगवान् नै भनेर उचालेका थिए ।’

छविले भनेजस्तै ग्यालेक्सी टेलिभिजनको उद्घाटनका दिन रवि लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरामा भनेका थिए, ‘टीभी चलाउने लगानी कहाँबाट आयो भनेर क्याउँक्याउँ क्याउँक्याउँ नगर्नुहोला । यो उद्यम व्यवसाय गरेर, सरकारलाई कर तिरेर कमाएको पैसा हो, त्यो नै लगानी गरेको हो ।’ तर अहिले प्रमाणित भएको छ, जीबी र रविले त्यो पैसा काठमाडौं, पोखरा, चितवन, वीरगन्ज र बुटवलका सहकारीबाट ल्याएका थिए ।

सहकारीबाट कम्पनीमा आएको ६५ करोड ५४ लाख प्रवाह भएको मात्र होइन, सबैजसो रकम लामिछाने आफैंले चेक काटेर खर्च गरेको पनि पुष्टि भएको छ । तर, नाम, ठेगाना, तस्वीर र हस्ताक्षरसहित खाता खोलेका रवि लामिछाने यो खाताप्रति उत्तरदायी नहुने भन्दै उनी नेतृत्वको पार्टी रास्वपाले आफ्नै कार्यकर्तालाई अन्धकारमा राख्न प्रयास गरिरहेको छ ।

संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएपछि भने गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी पक्राउ परेका हुन् । ‘त्यसपछि सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि कास्की प्रहरीबाट माग भई आएबमोजिम अनुसन्धानका लागि सहयोग गर्न सीआइबीबाट इन्स्पेक्टर र सईलाई कास्की पठाइएको हो,’ सीआइबी प्रमुख एआइजी दीपक थापाले भने ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १०:१६

लोकप्रिय