नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै रिठ्ठा, तार्पिन तेल, खोटो रोजिनको निर्यात बढेको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार विभिन्न जडीबुटी र वनस्पतिको निर्यातका लागि प्रमुख नाका मानिने नेपालगन्जबाट यो आर्थिक वर्षको सुरुमै यिनको निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।
गत आर्थिक वर्ष २०८०–०८१ को साउन भदौको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा रिट्ठाको निर्यातमा ३३० प्रतिशत, तार्पिनको तेलमा २७४ प्रतिशत, ऐसेन्सियल तेलमा २९३ प्रतिशत र खोटो रोजिनको निर्यातमा १४० प्रतिशत वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्षको सुरुमै उपरोक्त वस्तुको निर्यातमा उत्साहजनक रूपमा वृद्धि भएपछि नेपालगन्ज लगायत पश्चिम नेपालका जडीबुटी व्यवसायीहरु निकै उत्साहित भएका छन् ।
सो कार्यालयले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सुरुको दुई महिनामा यो नाकाबाट १२ लाख २० हजार रुपैयाँको १६ हजार किलो रिठ्ठा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ५२ लाख ४९ हजार रुपैयाँको ७६ हजार ७० किलो रिठ्ठा निर्यात भएको छ ।
यसैगरी गत वर्ष दुई महिनामा यो नाकाबाट ९५ लाख ७८ हजार रुपैयाँको ६४ हजार लिटर तार्पिनको तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ५८ लाख ३४ हजार रुपैयाँको दुई लाख १५ हजार लिटर तार्पिनको तेल निर्यात भएको छ ।
सोही प्रकारले गत वर्ष साउन र भदौमा ८५ लाख ४० हजार रुपैयाँको २६६ लिटर ऐसेन्सियल तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ३४ लाख ७४ हजार रुपैयाँको एक हजार ५८ लिटर ऐसेन्सियल तेल निर्यात भएको छ ।
यस्तै गत वर्ष सुरुको दुई महिनामा नेपालगन्ज नाकाबाट चार करोड ७६ लाख ७० हजार रुपैयाँको तीन लाख ३८ हजार ५७७ किलो खोटो रोजिन निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ११ करोड ४४ लाख ९३ हजार रुपैयाँको सात लाख ८४ हजार ४०० किलो खोटो रोजिन निर्यात भएको छ ।
चालु आर्थिक वर्षको सुरुमै केही वस्तुको निर्यातमा अत्यधिक वृद्धि देखिएपछि यहाँका जडीबुटी व्यवसायी यस पटक ठुलो परिमाणमा विभिन्न वस्तु निर्यात हुनेमा आशावादी देखिएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी लम्सालले जनाएका छन् ।
सत्यपाटी संवाददाता । बाँके