सूचनाको शक्ति - The Power Of Information

        

मौसमी फेरबदलले कृषिमा कस्तो पर्न सक्छ असर ?

आगामी केही दिन देशभरको मौसममा बदलाव आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभिन्न स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । केही स्थानमा मध्यम र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार १७:१६

लोकप्रिय