सूचनाको शक्ति - The Power Of Information

        

एसइईको ग्रेड वृद्धि पूरक परीक्षामा ५६.७८ प्रतिशत उत्तीर्ण

माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेड वृद्धि (पूरक) परीक्षामा १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । यो ५६.७८ प्रतिशत हो । २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएको थिए । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार परीक्षाफल प्रकाशन गरेको हो ।

२०८० मा सञ्चालित एसइई कक्षा १० को पूरक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो । यो परीक्षा २०८१ साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक कार्यालयका अनुसार ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना छन् । कार्यालयले ८ जनाको उत्तरपुस्तिका रद्द गरेको छ । ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् ।

जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना छन् । जीपीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना छन् । त्यस्तै जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५१८ जना रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्था अनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह् सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ । जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड (एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । २०८० मा सञ्चालित एसइईको नियमित परीक्षामा पनि ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । त्यो परीक्षामा अनुत्तीर्णले पूरक परीक्षा दिएका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार ०८:१७

लोकप्रिय