कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआइजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा हेडक्वाटर तानेर उनको ठाउँमा नयाँ डीआइजी पठाइएको छ ।
निमित्त आइजी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआइजी ठकुरीलाई हेडक्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । उनको ठाउँमा अर्का डीआइजी जनक भट्टराईलाई पठाइएको राईले बताए ।
यसअघि २६ भदौमा रकम लेनदनमा मुछिएको आरोपमा मधेश प्रदेशका डीआइजी यज्ञविनोद पोखरेलको पनि सरुवा गरिएको थियो । उनलाई हेडक्वाटरस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो । उनको ठाउँमा अर्का डीआइजी लालमणि आचार्यलाई पठाइएको थियो । नेपाल प्रहरी शिक्षालय भरतपुरमा डीआइजी राजेशनाथ बास्तोलालाई पठाइएको थियो ।
प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार
सत्यपाटी