पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका छन् । काठमाडौँ महानगरपालिका वडा नं. १६ स्थित वनस्थलीमा पार्टी कार्यकर्ता भेला भएका छन् ।
भिड जम्मा भएपछि प्रहरी वृत्त बालाजु र वृत्त सोह्रखुट्टेका डीएसपी नेतृत्वको टोली वनस्थलीमा खटाइएको छ । तर, आज (आइतबार)नै बालाजुबाट रवि लामिछानेलाई पक्राउ नगरिने प्रहरीका उच्च अधिकारीहरू बताउँछन् ।
प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृत भन्छन्, ‘सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान सुरु भएको छ । छविलालको बयान लिएपछि थप अनुसन्धान अघि बढ्छ ।’ छविलालको बयानपछि मात्रै लामिछानेलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।
पूर्वडीआइजी जोशी, पूर्वगृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ ।
लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । सहकारीबाट अवैध तरिकाले ल्याएको करोडौं रकम उनको हस्ताक्षरबाट चेक काटिएको छ । जोशीसँग प्रारम्भिक बयान लिएर प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ । आइतबार गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।
मन्त्रीको निर्देशनपछि पूर्व डीआइजी जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेर कास्कीमा पठाएको छ । रवि लामिछानेविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने भएको छ । संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
पोखरा उपमहानगरपालिका वडा नं. ५ स्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पनि संलग्न रहेको भन्दै पीडितहरूले यसअघि नै पूरक उजुरी दिएका हुन् । सो उजुरीको आधारमा पोखरा उपमहानगरपालिकाले रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई दिइसकेको छ ।
सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लैजान लागिएको हो ।
गोर्खा मिडियाका अध्यक्ष गितेद्रबावु (जिबी) राईविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । उनलाई पक्राउ गर्न इन्टरपोलबाट रेड नोटिस जारी गरिएको छ । सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेका थिए । अहिले उनी मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवाद गर्नका लागि प्रस्ताव गरेका छन् । आइतबार सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका एक सञ्चालकको पक्राउपछि लामिछानेले प्रहरीको गतिविधिबारे चिन्तित महसुस गर्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव गरेका हुन् ।
सहकारी पीडितलाई न्याय दिने विषयमा आफू छलफलका लागि तयार रहेको उनले उल्लेख गरेका छन् । लामिछानेले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू । फर्केर आउनूस् । बसेर कुरा गरौँ । सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि…।’
प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका छन् । आइतबार दिउँसो प्रहरीले लामिछानेका तत्कालीन व्यापारिक साझेदार पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेका थिए । उनी कास्कीमा छन् । सूर्यदर्शनको १ अर्ब ८ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं