२०८३ वैशाख २६ , शनिबार 9, May 2026, Saturday

दशैँअघि नै मेलम्चीको पानी काठमाडौँमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज ४ गते शुक्रबार

काठमाडौँवासीले घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि तयारी अन्तिम चरणमा पुगेको छ । दशैँअघि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् ।

यसैअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ । मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौंमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

बर्खा लागेसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाडौंमा पानी वितरण गर्ने योजना अनुसार तयारी भइरहेको छ । काठमाडौं उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नदीबाट अब दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ । काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा ८०० मिटर दूरीमा ‘इन्टेक’ सार्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रबार