रातमा पनि दिनजस्तै चहकिलो उज्यालोको हामीलाई बानी परिसक्यो । उज्यालोबिनाको जीवन कल्पना गर्न पनि मुस्किल छ । रातलाई चिर्नेगरी मान्छेले कृत्रिम प्रकाश सिर्जना गरेको धेरै भएको छैन । मानव सभ्यताको अधिकांश कालखण्डमा कृत्रिम प्रकाशले रातको अध्याँरोमा खलल पुर्याएन ।
‘वर्ल्ड एट नाइट’को रिपोर्ट अनुसार, १७ औँ शताब्दीभन्दा पहिले ‘स्ट्रिट लाइट’ अस्तित्वमा थिएन । मान्छेले घरबाहिर उज्यालो बनाउन सुरु गरेको मुस्किलले २०० वर्ष पुग्यो होला । पहिलोपटक १६०० को दशकमा घरबाहिर पनि उज्यालो बाल्न सुरु गरिएको थियो । सुरक्षा र व्यापारिक कारणले गर्दा युरोप र अमेरिकाका केही व्यापारीले आफ्नो घर–पसल बाहिर तेलको दियो वा मैनबत्ती बालेर उज्यालो बनाउन सुरु गरे ।
यही विन्दुबाट हो कृत्रिम उज्यालो घर बाहिर निस्किएको । जसै घर बाहिर उज्यालो पुग्यो यसले साँझपखको सामाजिक सम्र्पकको नयाँ युग सुरु गर्यो । नतिजा के भयो भने मान्छेमा कृत्रिम प्रकाशको इच्छा दिनप्रतिदिन बढ्दै गयो । तेल र मैनबत्तीको उज्यालो थोरै हुन थाल्यो । १९ औँ शताब्दीको सुरुवातमा बेलायत र अमेरिकामा ग्यास लाइटको सुरुवात भयो । यसले उज्यालोको दृश्य फेरिदियो ।
सन् २०१७ मा प्रकाशित ‘लाइट पोलुसनः अ केस स्टडी इन फ्रेमिङ्ग एन इन्भारोमेन्ट प्रोब्लम’का अनुसार युरोप र अमेरिकाका केही सहरमा ग्यासलाइट बल्न थालेसँगै त्यसको संसारभर प्रसार भयो । र, यससँगै रातमा पनि चलायमान हुने आधुनिक सहरको धारणा विकसित भयो । यसपछि विस्तारै अँध्यारा रातहरु चम्किला हुन थाले । सार्वजनिक स्थलमा ग्यासलाइटको प्रयोग पहिलोपटक सन् १८०७ मा बेलायतको लण्डनमा भएको थियो ।
यसको केही दशकमै ग्यासलाइट युरोप र उत्तरी अमेरिकामा फैलियो । ‘वर्ल्ड एट नाइट’को रिपोर्टअनुसार, १८७० को दशकसम्म विद्युतिकरण सुरु भइसकेको थियो र सार्वजनिकस्थलमा ‘आर्क ल्याम्प’ मार्फत् कृत्रिम प्रकाशको व्यवस्था गर्न थालिसकिएको थियो । यो ‘ल्याम्प’ ‘ग्यासलाइट’को तुलनामा कम खर्चिलो थियो र यसको उज्यालो पनि बढी थियो । सडक तथा सार्वजनिक स्थलमा यी ‘ल्याम्प’ लगाउन थाल्नु र सवारी साधन चल्न थालेसँगै प्रकाशक प्रदुषणको समस्या सिर्जना भयो ।
प्रकाश व्यवस्थाले निम्त्याएको प्रदुषणका बारेमा १९ औँ शताब्दीको अन्ततिर चिन्ता र चासो सुरु भयो । त्यसयताका वर्षमा प्रकाश प्रदुषणबारे संसारभर बहस हुन थाल्यो । सन् २००७ मा स्लोभेनियाले प्रकाश प्रदुषण नियन्त्रण गर्न कानून बनायो । प्रकाश प्रदुषण नियन्त्रणका विषयमा विश्वमै पहिलोपटक सरकारी तवरबाट गरिएको काम थियो यो । यो कानुन बनेपछि प्रकाश प्रदुषणको विषय विश्वभर चर्चा पाएको विषय बन्यो ।
आवश्यकता भन्दा बढी प्रकाशलाई प्रकाश प्रदुषण भनेर सजिलोगरी अर्थ्याउन सकिन्छ । तर, प्रकाश प्रदुषणका विभिन्न तह हुन्छ । तिमध्ये पहिलो हो ‘ट्रेसपास’ अर्थात् प्रकाश तोकिएको स्थानभन्दा अन्यत्र जानु । यसलाई ‘स्पिलओभर’ पनि भन्ने गरिन्छ । उदाहरणका लागि सडकमा राखिएका ‘स्ट्रिट ल्याम्प’को प्रकाश झ्याल, ढोकामार्फत् घरभित्र पुग्नु । प्रकाश प्रदुषणको अर्को रुप हो ‘स्काइ ग्लो’ । आकाशको चमक बढ्नेगरी उज्यालो हुनुलाई ‘स्काइ ग्लो’ भन्ने गरिन्छ ।
यस्तो आकाश सहरी क्षेत्रमा बढ्ता देखिन्छ । ‘स्काइ ग्लो’ प्रभावित क्षेत्रको आकाश रातमा कालो देखिनुको सट्टा सेतो, सुन्तला रंगको वा घुर्मैलो रंगको देखिन्छ । जमिनमा प्रकाशको अत्यधिक चमक भएमा आकाश पहेंलो रंगको पनि देखिन सक्छ । जमिनबाट चम्किएर आकाशतिर सोझिएकोे अत्यधिक प्रकाशले सिर्जना गर्ने ‘स्काइ ग्लो’का कारण रातको समयमा तारा, ग्रह पहिचान गर्न सकिँदैन ।
विश्वभरको २३ प्रतिशत भूमिक्षेत्र ‘स्काइ ग्लो’ प्रभावित छ । ‘डार्क स्काइ’का अनुसार, ‘स्काइ ग्लो’का कारण अमेरिकाको ५० प्रतिशतभन्दा बढी र युरोपको ८८ प्रतिशत भन्दा बढी क्षेत्रबाट आकाश गंगा देखिँदैन । ‘स्काइ ग्लो’ मुख्यगरी सेतो ‘एलईडी’ भएको सडक बत्ती, रंगशालाको लाइट, घर सजाउने झिलिमिली लाइट । एलइडी लाइट राखिएका ठूला विज्ञापन बोर्ड जस्ता लाइटले सिर्जना गर्छ ।
‘स्काइ ग्लो’ एउटा निश्चित क्षेत्रमा हुने संयुक्त प्रकाशको त्यो रुप हो जुन आकाशतर्फ जान्छ । प्रकाश प्रदुषणको तेस्रो रुप हो ‘ग्लेयर’ । यो अत्यधिक चम्किलो हुन्छ । आँखामा तीव्र प्रकाश परेपछि त्यसको प्रभावले एकछिन केही नदेखिने अवस्थालाई ‘ग्लेयर’ भनिन्छ । सामान्यतः सवारी साधनको ‘हेडलाइट’ वा सडक बत्ती सिधै आँखामा परेमा यस्तो हुन्छ । सडक दुर्घटनाका विभिन्न कारण मध्ये ‘ग्लेयर’ पनि एक हो ।
यसबाहेक मान्छेलाई भ्रमित पार्नेगरी राखिएको चम्किलो प्रकाशको ठूलो समूहलाई ‘लाइट क्लटर’ भन्ने गरिन्छ । त्यसैगरी आवश्यकताभन्दा बढी प्रकाशको प्रयोगको अवस्थालाई ‘ओभर इल्युमिनेशन’ भन्ने गरिन्छ । मानव सभ्यताका लागि वरदान सावित भएको प्रकाश आज प्रकृतिसँगै मान्छेका लागि पनि हानिकारक हुँदैछ ।
भारतको मुम्बइको सडक किनारमा रुखमा लगाइएका झिलिमिली बत्ती यही वर्षको अप्रिल महिनातिर एकाएक उतार्न थालियो । यसो गर्नुका पछाडि कारण थियो मुम्बई उच्च अदालतले एउटा रिटमाथि सुनुवाई गर्दै सहर सजाउन लगाइएका कृत्रिम प्रकाश हटाउन दिएको आदेश । सजावटका लागि सहरका रुखमा लगाइएका यस्ता बत्तीले रात्रीचर जीवजन्तु र चराचुरुङ्गीलाई असर परेको गुनासो थियो रिटमा ।
अदालतले रिटमाथि सुनुवाई गर्दै रातमा अत्यधिक कृत्रिम प्रकाश हुँदा रुख बिरुवाको प्रकाश संश्लेषण गर्ने प्रक्रियामा असर पर्छ । रुख विरुवा लगातार कृत्रिम प्रकाशको सम्पर्कमा रहँदा प्रकाश संश्लेषण (फोटो सिन्थेसिस) गर्ने क्षमता प्रभावित हुन्छ । यही वर्षको वैशाखमा काठमाडौं उपत्यकामा पनि रुखमा लगाइएका झिलिमिली बत्ती हटाउने अभियान थालिएको थियो ।
कृत्रिम प्रकाशले गर्दा रातमा पनि अत्यधिक उज्यालो हुँदा चराचुरुङ्गीको ‘सर्केडियन रिदम’ (जीवजन्तुले २४ घण्टाको चक्रमा महसुस गर्ने भौतिक, मानिसक र व्यवहारात्मक परिवर्तन । यसलाई शरीरभित्रको बायोलोजिकल घडीले चलाउँछ) लाई पनि असर गर्छ । जसका कारण चराचुरुङ्गीको गुँड बनाउने, अण्डा दिने समय प्रभावित हुन्छ । झट्ट हेर्दा सहर उज्यालो बनाउनु ।
झिलिमिली पारेर सहरको सौन्दर्य बढाउने कुरा सायदै कसैलाई नराम्रो लाग्न सक्छ । हामीले रातलाई समेत चिर्नेगरी बनाएको यही उज्यालो चराचर जगतका लागि भने फलदायी छैन । पर्यावरणविद्हरुका अनुसार, चर्को उज्यालोका कारण ‘फ्लेमिंगो’ जस्ता पंक्षीहरुले आफू जाने दिशा ठम्याउन सक्दैनन् । जसका कारण उनीहरु सहरमा राखिएका ठूलो ‘साइनबोर्ड’ र अग्ला घरसँग ठोक्किएर मर्छन् ।
कृत्रिम प्रकाशले निम्त्याएको प्रकाश प्रदुषण चराचुरुङ्गीका लागि काल सावित भएको छ । पर्यावरणविद्हरु यसलाई आधुनिक सभ्यताको दुष्परिणामका रुपमा अर्थ्याउँछन् । गएका केही दशकयता पृथ्वीको जनसंख्या लगातार बढिरहेको छ । आर्थिक विकास पनि उकालो चढिरहेको छ यसले प्रकाश उत्पादन र खपतको लागत निकै कम बनायो ।
‘क्वेशन अफ दि कन्जरभेसन अफ माइग्रेटरी स्पिसीजी अफ वाइल्ड एनिमल’का कार्यकारी सचिव एमी फ्रेंकलका अनुसार, सुरक्षा कारण, आकर्षण, मनोरन्जन र प्रचारप्रसारका रुपमा प्रयोग गरिने कृत्रिम प्रकाशको चर्को उज्यालोले पर्यावरणमा नाटकीय हस्तक्षेप गरेको छ । उनका अनुसार, कृत्रिम प्रकाश व्यवस्थाले पारिस्थितितितन्त्रको प्राकृतिक प्रकाश र अँध्यारोको चक्र बिथोलेको अवस्थालाई प्रकाश प्रदुषण भन्ने गरिन्छ ।
वर्तमान समयमा मान्छेको बसोबास भएको सबै ठाउँमा कृत्रिम प्रकाश पुगेको छ । कृत्रिम प्रकाश सिर्जना गर्ने स्रोतहरु सडक बत्ती, फ्लड लाइट, सवारी साधन, बिलबोर्ड, होर्डिङ्ग आदि प्रकाश प्रदुषणका मुख्य स्रोत हुन् । जुन २०२३ मा ‘साइन्स जर्नल’मा प्रकाशित एन्टोनिया एम वरेला परेजको अध्ययन ‘द इन्क्रिजिङ्ग इफेक्ट अफ लाइट पोलुशन अन प्रोफेशनल एन्ड अमेच्योर एस्ट्रोनोमी’का अनुसार विश्वको ८३ प्रतिशत जनसंख्या प्रकाश प्रदुषणले घेरेको आकाशमुनि बस्छ ।
पृथ्वी ढाक्ने आकाशको २३ प्रतिशत सतह प्रकाश प्रदुषणको शिकार भएको छ । प्रकाश प्रदुषणको यो गती प्रत्येक वर्ष २ प्रतिशतका दरले वृद्धि भइरहेको छ । उक्त अध्ययनअनुसार, लगभग ३५ वर्षमा प्रकाश प्रदुषणको यो मात्र दुई गुणाले बढ्नेछ । सन् २०५० सम्म विश्वको जनसंख्या ९.६ बिलियन हुने अनुमान छ, यतिञ्जेलसम्म विश्वभरको ६८ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा बसोबास गर्नेछ । यी सहरी क्षेत्र प्रकाश प्रदुषणको चपेटमा हुनेछन् ।
रातमा बढिरहेको कृत्रिम प्रकाशले सिर्जित प्रदुषणका कारण रातमा नांगो आँखाले देखिने ताराहरु देख्न मुस्किल भएको छ । प्रकाश प्रदुषणका कारण ६० प्रतिशत युरोपेली र ८० प्रतिशत अमेरिकीहरुले आकाशगंगा कहिल्यै पनि देख्न पाउँदैनन् । भारतका सहरी र उप–सहरी क्षेत्रसँगै अब ग्रामिण इलाकामा पनि कृत्रिम प्रकाश खासगरी ‘एलइडी’ले गर्दा रातमा आकाशमा तारा देख्न मुस्किल भइरहेको छ ।
यही कारण प्रकाश प्रदुषित क्षेत्रमा खगोलविदले काम गर्न सकिरहेका छैनन् । ‘एस्ट्रो’ पर्यटनका लागि सहरभन्दा टाढा प्रकाश प्रदुषणको चपेटामा नआइसकेको क्षेत्रमा जानु परिरहेको छ । बेंगलुरुस्थित ‘इन्डियन इन्सिच्युट आफ एस्ट्रोफिजिक्स’को यस्तै एक अवलोकनस्थल लद्धाखको हेनले गाउँमा छ । यो गाउँ भारतको पहिलो ‘डार्क स्काइ रिजर्भ’का रुपमा परिचित छ ।
कलकत्तास्थित भारतीय विज्ञान शिक्षा एवम् अनुसन्धान संस्थानका ‘डिपार्टमेन्ट अफ फिजिकल साइन्सेज एण्ड सेन्टर अफ एक्सिलेन्स इन स्पेस साइन्सेज’मा प्रोफेसर रहेका तथ इन्डियन ‘एस्ट्रोनोमिकल युनियन’का सदस्य दिव्यन्दु नन्दीको बुझाइमा हामीले प्रयोग गर्ने प्रकाशको डिजाइन ठिक छैन । ‘यो खराब डिजाइनको प्रकाश नै प्रकाश प्रदुषणको मुख्य जिम्मेवार हो । एक हिसाबले त यो ऊर्जाको बर्बादी हो,’ उनी भन्छन् ।
प्रकाश प्रदुषणले सदियौंदेखि चलिरहेको दिनको उज्यालो र रातको अँध्यारोको प्राकृतिक व्यवस्था खलबलिन लागेको छ । दिन र रातको प्राकृतिक पारिस्थितिक प्रणाली विथोलिएको छ । यसरी खलबलिएको प्राकृतिक व्यवस्थामा जन्मिएका र विकसित भएका असंख्य जीवहरु अझै पनि यो परिवर्तित परिस्थितिमा आफूलाई समायोजित गर्न सक्षम भइसकेका छैनन् ।
अष्ट्रेलियाको ‘मोनाश विश्वविद्यालयको टर्नर इन्स्टिच्युट फर ब्रेन एन्ड मेन्टल हेल्थ’मा मनोविज्ञानका प्रोफेसर तथा ‘सार्केडियम रिदम’ विशेषज्ञ शान्ताकुमार विल्सन राजारत्नमका अनुसार ‘जीवका रुपमा हामी दिनमा सूर्यको प्रकाश र रातमा अँध्यारोको चक्रसँग जोडिनेगरी विकसित भएका छौँ । हाम्रो विकासक्रमका दौरान जतिञ्जेलसम्म हाम्रो तालमेल सूर्यको उज्यालो र रातको अँध्यारोसँग थियो त्यतिञ्जेल हामी साँझपख निदाउने तयारी गर्थ्यौँ भने बिहान बिउँझन्थ्यौँ । तर, कृत्रिम प्रकाशका कारण हामीमध्ये धेरैका लागि आजभोलि रात आधा रात बितिसकेपछि सुरु हुन्छ ।’
‘नेचर जर्नलमा अगष्ट २०१७’ मा प्रकाशित ‘आर्टिफिसियल लाइट एट नाइट एज अ न्यू थ्रेट टु पोलुशन’ अध्ययनकाअनुसार मानव सिर्जित रातको कृत्रिम प्रकाशले रातमा विचरण गर्ने, परागशेचन गर्ने चराचुरुङ्गी, किराहरुलाई सबैभन्दा धेरै प्रभावित पार्छ । प्रकाश प्रदुषणले किरा, चराचुरुङ्गी र रुख विरुवाको उत्पादन क्षमता पनि घटाउँछ । अध्यनका अनुसार, कृत्रिम प्रकाशले सजाइएका वा कृत्रिम प्रकाश पर्ने रुखविरुवामा अँध्यारोमा रहने रुखविरुवाको तुलनामा ६२ प्रतिशत भन्दा कम किराहरु आउँछन् ।
यही कारणले गर्दा प्रकाश प्रदुषणको चपेटामा परको रुखविरुवाको उत्पादन क्षमतामा १३ प्रतिशतले कमी आएको छ । ‘डार्क स्काइ एडभाइजरी ग्रुप’का अध्यक्ष तथा ‘व्लर्ड एट नाइट’ रिपोर्टका लेखकमध्ये एक डेभिड वेल्च आफ्नो अनुभवको आधारमा भन्छन्, ‘संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिम क्षेत्रमा रहेको कार्नेगी नामक सिउँडी परागशेचन र प्रजनन्का लागि अँध्यारो रातमा निर्भर हुन्छन् । यो प्रजातीका सिउँडी २४ घण्टाका लागि मात्र फुलछन् ।’
रातमा फूलेर यसका फूल पछिल्लो दिनभर फूलिरहन्छन् । यही समयमा यसको परागशेचन हुनुपर्छ । परागशेचनको यो छोटो सयमा यी सिउँडीमा साँझपख चमेरा र दिउँसो मौरी तथा अन्य पंक्षी आउँछन् र परागशेचन गर्छन् । रातमा हुने कृत्रिम प्रकाशले यी सिउँडी संकटमा परेका छन् भने पंक्षी, किरा र मौरीहरु पनि खाद्यान्नको अभाव झेलिरहेका छन् । हरेक वर्ष लाखौं प्रवासी पंक्षी प्रकाश प्रदुषणका कारण मारिन्छ ।
विशेषगरी रातमा उडान भर्ने हाँस, गिज, स्यान्डपाइपर, संगवर्ड जस्ता पंक्षीमाथि रात्रिकालीन कृत्रिम प्रकाशको गम्भीर खतरा परेको छ । ‘कन्भेन्शन अन दि कन्जरभेशन अफ माइग्रेटरी स्पिसीज अफ वाइल्ड एनिमल’का कार्यकारी सचिव एमी फेन्कलका अनुसार, प्रकाश प्रदुषणका कारण पंक्षीहरुको प्रवासको समयमा र अन्य मौसमी व्यवहारमा परिवर्तन देखिएको छ । प्रकाश प्रदुषणले उनीहरुको ‘बायालोजिक’ घडी प्रभावित पारेका कारण उनीहरुको नियमित व्यवहारमा परिवर्तन आएको उनको बुझाइ छ ।
‘नेचर जर्नल’ सन् २०२३ को जुनमा प्रकाशित एक अध्ययनअनुसार, मानव सिर्जित प्रकाशको सबैभन्दा नकारात्मक प्रभाव चराचुरुङ्गीको प्रवास यात्राका समयमा पर्छ । रातमा यात्रा गर्ने कतिपय चराचुरुङ्गीहरू प्रकाशतर्फ आकर्षित हुन्छन् । कृत्रिम प्रकाशले गर्दा उनीहरु बाटो भुल्छन् । प्रकाश प्रदुषणले गर्दा बाटो बिर्सेका चराहरु घर, हवाइजहाज, जस्ता प्रकाश प्रदुषणका स्रोतमा ठोक्किएर मर्छन् । यसरी अमेरिकामा हरेक वर्ष भवनसँग ठोक्किएर १० देखि १०० करोड चराचुरुङ्गीको मृत्यु हुन्छ ।
जनवरी २०२४ मा सातवटा अन्तर्राष्ट्रिय संस्थाहरुले मिलेर गएको अध्ययन ‘वर्ल्ड एट नाइट’का अनुसार प्रकाश प्रदुषणले गर्दा चरा र किराहरुको जीवन संकटमा परेको छ । चमेराका अधिकांश प्रजाती रात्रिचर हुन्छन् । उनीहरुलाई रातमा उज्यालो भएको मन पर्दैन । चमेराहरु खानाको खोजी र आवगमनका लागि जंगल किनाराका झाडी तथा पानी भएको क्षेत्रको प्रयोग गर्छन् । यी स्थानमा हुने कृत्रिम प्रकाशले गर्दा उनीहरु बाटो भुल्छन् ।
चमेराको बासस्थान वरपरको मानव सिर्जित प्रकाशले गर्दा उनीहरु ढिला ब्युँझन्छन्, कतिपय अवस्थामा उनीहरुले आफ्नो बासस्थान पनि छाडेका उदाहरण छन् । ‘वर्ल्ड एट नाइट’का अनुसार मानव सिर्जित कृत्रिम प्रकाशका कारण किराहरु समाप्त हुँदैछन् । उज्यालोतर्फ आकर्षित हुने किराहरु रातमा उज्यालो भएको ठाउँतिर जान्छन् र बत्तीमै मर्छन् । ‘बायोल्यूमिनसेन्ट’ संकेतमा निर्भर हुने जुनकिरी जस्ता किराहरुलाई रातमा मानव सिर्जित प्रकाशले सबैभन्दा धेरै प्रभाव पारेको छ ।
मानव सिर्जित प्रकाशले निम्त्याएको प्रदुषणले उनीहरुको प्रजनन् क्षमता प्रभावित पारपेको छ । ‘डार्क स्काइ इन्टरनेशनल’ले प्रकाशित गरेको ‘आर्टिफिसियल लाइट एट नाइट ः स्टेट अफ साइन्स २०२४’ प्रकृतिमा हरेक जीवजन्तुको आफ्नो भूमिका हुन्छ । जसलाई पारिस्थितिकीतन्त्र सेवा भन्ने गरिन्छ । पारिस्थितिकीतन्त्र सेवा मानिसले प्रकृतिबाट पाउने निःशुल्क लाभ हो । मानव कल्याणका लागि महत्वपूर्ण पारिस्थितिकीतन्त्र सेवाको एक उदाहरण हो किराहरुले खाद्य उत्पादनको परागशेचन गर्नु ।
यस्ता किराहरुमध्ये कयौं किरा रातमा मात्र सक्रिय हुन्छन् । केही प्रजातीका किरा मधुरो प्राकृतिक उज्यालोमा मात्र परागशेचन गर्न सक्छन् । रातको कृत्रिम प्रकाशले गर्दा परागशेचन गराउने किराहरुको संख्यामा आएको कमीलाई मध्यनजर गर्दै केही वैज्ञानिकहरु प्रकाश प्रदुषणलाई ‘किराको काल’ भन्ने गर्छन् । रिपोर्ट अनुसार, ‘कृत्रिम प्रकाशको सम्र्पकमा आउँदा कतिपय जीवहरुको प्रतिरक्षा प्रणाली नै कमजोर हुन पुग्छ । यस्ता अभिभावकबाट जन्मेका सन्ततीहरुमा पनि प्रकाश प्रदुषणको गम्भीर प्रभाव पर्छ ।’
कृत्रिम प्रकाशको दुष्प्रभाव वन्यजीवसम्म मात्र सीमित छैनन् । यसले मानव स्वास्थ्यमा पनि गम्भीर प्रभाव पार्छ । सन् २०२३ को जुन महिनामा ‘साइन्स जर्नल’मा प्रकाशित ‘रिड्युसिङ्ग नाइट टाइम लाइट एक्सपोजर इन अर्बन इन्भारोमेन्ट टु बेनिफिट ह्युमन हेल्थ एण्ड सोसाइटी’मा प्रकाशित एक रिपोर्टअनुसार, रातमा लामो समयसम्म कृत्रिम प्रकाशको सम्पर्कमा रहने व्यक्तिमा सर्काडिएन (बायोलोजिकल क्लक) फिजियोलोजी, र मेलाटोनिन (निन्द्रा लगाउने र ब्युँझाउने हर्मोन)मा गडबडी हुनसक्छ । यसले निद्रा बिगार्ने र आँखामा समेत प्रभाव पार्छ ।
अध्यनका अनुसार बितेका १२ वर्षमा रातको कृत्रिम प्रकाश वार्षिक रुपमा करिब १० प्रतिशतले बढिरहेको छ । अत्यधिक जनसंख्या भएको सहरमा बस्नुको अर्थ हो अधिकांश मानिस रातको कृत्रिम चहकिलो प्रकाशको सम्पर्कमा आउनु । मान्छेले आफ्नो व्यवहारका कारण दिन लामो र रात छोटो बनाइसकेको छ । हामी राति निदाउनु अगाडि पनि कम्प्युटर, मोबाइल, टेलिभिजनको स्क्रिनबाट आउने प्रकाशका साथसाथै सडक बत्तीलगायतका कृत्रिम प्रकाशको सम्पर्कमा आउँछौं । अध्ययन अनुसार, कृत्रिम प्रकाशको भरमा रातमा काम गर्नेहरु क्यान्सरसँगै मुटु रोगको चपेटामा पर्न सक्छन् ।
यसरी रातमा लामो समय कृत्रिम प्रकाशमा रहेर काम गर्नेहरुलाई मधुमेह, उच्च रक्तचाप, मोटोपना, स्ट्रोकको खतरा हुन्छ । अष्ट्रेलियाको ‘मोनाश विश्वविद्यालयको टर्नर इन्स्टिच्युट फर ब्रेन एन्ड मेन्टल हेल्थ’मा मनोविज्ञानका प्रोफेसर तथा ‘सार्केडियन रिदम’ विशेषज्ञ शान्ताकुमार विल्सन राजारत्नम भन्छन्, ‘कृत्रिम प्रकाशले हाम्रो सार्केडियन रिदम ढिलो चलाउँछ । अर्कोतर्फ यसले र मोलाटोनिन हार्मोन उत्पादन कम गर्छ । मेलाटोनिनले निद्रा लगाउने काम गर्छ, यो हार्मोन सार्केडियन रिदमअनुसार उत्पादन हुन्छ । लामो समयसम्म कृत्रिम प्रकाशमा रहँदा यो हार्मोनको उत्पादन कम हुन्छ ।’
तारा भरिएको सफा आकाश सदियौंदेखि हाम्रो सांस्कृतिक विरासतको प्रतीक हो । हाम्रा अनेक किस्सा, कहानी, गीतहरुको रचना ताराकै वरिपरी भएको छ । बाल्यकालमा हामी छतमा पल्टेर चमचमाउँदा ताराहरु हेर्दै निदाउँथ्यौं । यिनै चमचमाउँदा ताराहरुले नै त हो जेन टेलरलाई करिब दुई सय वर्ष पहिले ‘ट्विङ्कल– टिवङ्कल लिटिल स्टार….’ गीत लेख्ने प्रेरणा दिएको थियो । तर, आज प्रकाश प्रदुषणका कारण यी तारा ओझेलमा पर्नु हाम्रो सांस्कृतिक विरासतको पतन पनि हो ।
‘जर्नल अफ डार्क स्काइ स्टडिज’मा प्रकाशित ‘ह्वाइटनिङ्ग द स्काइ ः लाइट पोलुसन एज अ फर्म अफ कल्चरल जेनोसाइड’ अध्ययनअनुसार ‘विश्वभरका धेरैजसो परम्परा र ज्ञान प्रणाली तारामा आधारित छन् । तारा भरिएको रातको अँध्यारो आकाश समाप्त हुनु भनेको ताराबाट मान्छेको सम्बन्ध तोड्नुजस्तै हो । यो सांस्कृतिक र पारिस्थितिक संहार जस्तै हो ।’ अध्ययन अनुसार, विश्वभरका संस्कृतिले आकाशससँग दार्शनिक, आध्यात्मिक र वैज्ञानिक दृष्टिले नजिकको सम्बन्ध बनाएका छन् । जटिल ज्ञान प्रणाली संरक्षित गर्नका लागि ताराको उपयोग गर्ने गरिन्छ ।
यो ज्ञान प्रणाली सामुद्रिक यात्रा, खाद्य, अर्थव्यवस्था, मौसमको पूर्वानुमान, मौसम परितर्वनको भविष्यवाणी र स्मृतिमा जानकारी संग्रहित गर्न प्रयोग गरिन्छ । अध्ययन अनुसार, प्रकाश प्रदुषणका कारण खुला आँखाले तारा देख्नै मुस्किल बनाएको छ । ५१ हजार ३१५ जना वैज्ञानिकको अनुभव र अवलोकनका आधारमा तयार पारिएको ‘सिटिजन साइन्टिस्टस् रिपोर्ट ग्लोबल र्यापिड रिडक्शन इन द भिजिविलिटी अफ स्टार फ्रम २०११ टु २०२२’ अनुसार आकाशमा प्रत्येक वर्ष ९.६ प्रतिशतले उज्यालो बढिरहेको छ ।
सन् २०११ मा जहाँबाट २५० वटा तारा देखिन्थे त्यही स्थानबाट सन् २०२२ मा एक सयमात्र तारा देखिन्छन् । यो अध्ययनअनुसार, २०११ देखि २०२२को बीचमा आकाशमा देखिने ताराको संख्या हरेक वर्ष ७ देखि १० प्रतिशतले कम हुँदै गइरहेको छ । ‘डार्क स्काइ एडभाइजरी ग्रुप’का अध्यक्ष डेभिड वेल्चका अनुसार ‘रातमा कृत्रिम उज्यालोमा समायोजित पृथ्वीमा कुनै पनि जीव विकसित भएको छैन ।’ शान्ताकुमार विल्सनका अनुसार मान्छेको ‘बायोलोजिकल क्लक’ प्राकृतिक उज्यालो र रातसँग विकसित भएको हो, यो त्यसैअनुसार चल्ने प्रयास गर्छ । तर, कृत्रिम प्रकाशले मान्छेको ‘बायोलोजिकल क्लक’मा गडबडी गर्न थालेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं