आइतबार रातीदेखि बेपत्ता भएकी खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेको छ । बालिकाको मङ्गलबार बिहान घर नजिकै रहेको जङ्गलबाट शव फेला परेको हो । खोजतलासका क्रममा बेपत्ता बालिकाको घर नजिकैको जङ्गलबाट मङ्गलबार बिहान ११ बजे बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले मृतक बालिकाको घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलमा जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा खुट्टा फेला परेको उनले जानकारी दिए ।
‘बेपत्ता बालिकाको खोजतलासका क्रममा आज बिहान करिब ११ बजेको समयमा शव फेला परेको छ, उनको शरीरको अन्य भाग भने जङ्गली जनावरले खाइसकेको अवस्था रहेछ, टाउको र दाहिने खुट्टा फेला परेको छ,’ प्रहरी निरीक्षक बुढा मगरले भने, ‘बाघले खायो कि चितुवाले खायो त्यो भने अझै खुलेको छैन, तर कुनै जङ्गली जनावरले खाएको हो ।’
मृतक बालिका आइतबार राती करिब ८ बजेको समयमा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएकी थिइने । उनलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको थियो । आइतबार रातिदेखि नै प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयको टोली, पालिकाका जनप्रतिनिधि, बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक टोली साथै स्थानीयवासीहरु बालिकाको खोजतलासमा लगातार जुटेका थिए ।
सत्यपाटी संवाददाता । बाँके