पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपदबाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट २२५ जनाको मृत्यु भएको पाइएको हो ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र २८४ जना घाइते भएको जानकारी दिए । प्रभावित परिवारको सङ्ख्या भने अलि कम रहेको छ । प्राधिकरणले ९० दिन (जेठ २८–भदौ २२) सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार ६१५ पुगेको जानकारी गराएको छ ।
गत वर्ष यसै अवधिमा मनसुन सुरु भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, १२६ जना घाइते भएका थिए । विपद् प्रभावितको परिवारको सङ्ख्या भने ६ हजार ३० रहेको थियो । यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ ।
यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट १३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् ।
गत असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्ग्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशूली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेला परेको जानकारी गराइएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ । त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै ६२४ मिलीमिटर वर्षा भएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं