सूचनाको शक्ति - The Power Of Information

        

टिकटकर विमलाले संसार त्यागेपछि लक्ष्मीदेवी विक्षिप्त

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ की ५५ वर्षीया लक्ष्मीदेवी देउवा श्रीमान्को बरखीमा थिइन् । उनका पति गत जेठ २६ गते बितेका थिए । यहीबीच उनीमाथि बुधबार (भदौ २६ गते) अर्को बज्रपात पर्यो । कान्छी छोरी २१ वर्षीया विमलाले संसार त्यागिन् ।

दिउँसो छोरी, बुहारीसहित परिवारका सदस्यले सँगै खाना खाए । त्यसपछि आमा बाख्रा चराउनतिर लागिन् । बुहारी घाँस काट्न । छोरी विमला घरमै थिइन् । बेलुका सबै घर फर्किँदा विमला आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परिन् ।

‘छोरी हामीसँग आइनन्, कहाँ गइन् भनेर नातिनातिनालाई हेर्न पठाउँदा कोठामा त्यस्तो अवस्थामा भेटिएकी रहेछन्,’ एक स्थानीय भन्छन्, ‘सुरुमा सुन्दा त हामी पत्याएका नै थिएनौँ ।’ लक्ष्मीका जेठा छोरा बुवाको किरिया सकेर रोजगारीका लागि भारतमा छन् । घरमा आमा, बहिनी, बुहारी र ससाना तीन छोराछोरी बस्थे ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दीपक कार्कीका अनुसार बिहीबार विमलाको शव पोस्टमार्टम गरियो भने सोही दिन परिवारले स्थानीय सेती नदीको घाटमा अन्तिम संस्कार पनि गरिसकेको छ । ‘कोठाभित्र शव झुन्डिएको अवस्थामा भेटिएको हो । आत्महत्याको कारण खुलेको छैन,’ डीएसपी कार्कीले भने, ‘घटनाको बारेमा परिवारसँग प्रारम्भिक सोधपुछ गर्दैछौँ ।’

विमला सामाजिक सञ्जाल टिकटकमा सक्रिय थिइन् । उनको टिकटक अकाउन्टमा २ लाख २४ हजार फलोअर्स थिए । उनी डडेल्धुरा सदरमुकामस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा पढ्थिन् । पारिवारिक स्रोतका अनुसार कक्षा १२ को नतिजा बिग्रिएपछि उनी तनावमा थिइन् ।

सदरमुकामबाट घर फर्किएपछि केही दिनअघि आमा लक्ष्मीदेवीसँग उनले ‘मरिदिन्छु’समेत भनेकी थिइन् । ‘रिजल्ट बिग्रियो भन्दैमा त्यस्तो गर्नु हुँदैन, अर्को वर्ष भइहाल्ला’ भनेर आमाले सम्झाएकी थिइन् । ‘परिवारको कुरा सुुन्दा रिजल्ट बिग्रिएपछि केही तनावमा रहेको बुझिन्छ,’ गन्यापधुरा गाउँपालिका–३ का अध्यक्षसमेत रहेका मृतकका छिमेकी चक्र देउवा भन्छन्, ‘नानी राम्रै थिइन् । खै के भएर यस्तो गलत बाटो रोजिन् ।’

विमलाले कोठाभित्रै पंखामा दोपट्टाले झुन्डिएर संसार त्यागिन् । परिवारले आउँदो मंसिरमा उनको बिहे गर्ने तयारी पनि गरिरहेको थियो । श्रीमान् गुमाएको ३ महिनामै छोरी पनि गुमेपछि लक्ष्मीदेवी विक्षिप्त छिन् । उनी छोरीको बिहे गर्ने कुरा सम्झिँदै भक्कानिँदै थिइन् । घटनाले देउवा परिवार मात्र होइन, यतिबेला गाउँ नै शोकमा डुबेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ०८:०९

लोकप्रिय