सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित !

कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना मात्र बाँकी छ । तर, प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापनमा थप दबाब सिर्जना गरेको छ । दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा सम्पन्न भएको थियो ।

त्यसपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मा कर्णालीले लिएको हो । कर्णालीका लागि यो प्रतियोगिता प्रदेश गौरवको आयोजनाको रूपमा लिइएको छ । यस अवसरको तयारीस्वरूप वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतमा बन्दै गरेको रङ्गशाला अब अन्तिम चरणमा पुगेको छ । यो रङ्गशाला १० हजार दर्शकहरूको क्षमता भएको छ । तीन हप्ताअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सुर्खेत पुगेर रङ्गशाला निर्माणको अवस्थाको निरीक्षण गरेका थिए ।

उनले मुख्यमन्त्री यामलाल कँडेल र सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँगको बैठकमा प्रदेश सरकारको १५ दिनपछि रिपोर्टिङबाट निर्धारित समयमा खेल हुने वा नहुने बारे निर्णय लिने कुरा बताएका थिए । यद्यपि २४ दिन बितिसक्दा पनि प्रदेश सरकारबाट कुनै प्रगति सम्बन्धी रिपोर्ट प्राप्त भएको छैन । सामाजिक विकासमन्त्री भण्डारीका अनुसार, खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण कार्य तीव्र रुपमा भइरहेको भए पनि प्रतिकूल मौसमका कारण काममा ढिलाइ भएको बताए ।

उनका अनुसार, रङ्गशालाको वरिपरिको बाटो निर्माणका लागि असारमै ठेक्का लागेर काम भइरहेको छ । विकट भूगोल र मौसमका कारण निर्माण कार्यमा अस्थिरता आउने सम्भावना रहेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद तोकिएको समयमा नगर्ने अवस्था नरहेको बताउँदै, सरकारले चाहेमा निर्धारित समयमै खेल आयोजना गर्न सकिने दाबी गरे ।उनले प्रदेशभर २४ वटा खेल सञ्चालन गर्न सकिने पूर्वाधार निर्माण भइरहेका छन् भनेर जानकारी गराए ।

वीरेन्द्रनगरमा मुख्य रङ्गशाला, क्रिकेट मैदान लगायतका संरचनाहरू पनि निर्माण भइरहेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रङ्गशालाको भौतिक पूर्वाधारको अवस्थाबारे चिन्ता नगर्नु भनेका छन् । तर, खेलाडीहरूको बसोबासको व्यवस्था मिलाउनु चुनौतीपूर्ण रहेको स्वीकार गरे । मन्त्री चौधरीका अनुसार, पूर्वाधारको चिन्ता एक महिनामै समाधान हुने अपेक्षा गरिएको छ । एक हजारभन्दा बढी खेलाडीलाई बसाल्नको लागि स्थानको व्यवस्था गर्दा समस्या भइरहेको छ ।

खेलकुद विकास परिषद्का अनुसार, कर्णाली प्रदेशभर १३ वटा ‘इन्डोर’ हलहरू छन् जसमा १४ वटा खेल खेलाउन सकिन्छ, र १० वटा ‘आउटडोर’ फिल्डहरू पनि उपलब्ध छन् । यसरी, २४ वटा खेल सञ्चालन गर्नको लागि आवश्यक पूर्वाधार यथेष्ट रहेको बताइएको छ । हुम्लामा हकी मैदान, मुगुमा कबड्डीको संरचना, जुम्ला र दैलेखमा इन्डोर हलहरू, कालिकोटमा कभर्डहल, रुकुम पश्चिममा हल, सल्यानमा टेबलटेनिसको हल, र जाजरकोटमा पनि विभिन्न खेल आयोजनाको सम्भावना रहेको छ । त्यसैले, कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा सञ्चालन गर्ने प्रयास जारी राखेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ०७:५९

लोकप्रिय