कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बजार छेउको सडकमा बसेर फाटेका जुत्ता, चप्पल सिउने, चम्काउने काम गर्दै आएका ६६ वर्षीय डम्बर सार्कीको दुई दशक बितेको छ । सार्कीको जुत्ता चप्पल सिउने पुर्ख्यौली पेसा भएकाले यही पेसाबाट भएको कमाइले जीविकोपार्जन हुँदै आएको छ ।
नगर प्रहरीले बस्दै आएको ठाउँबाट हटाउन थालेपछि उनलाई पेसा जोगाउन सास्ती हुन थालेको हो । नगर प्रहरीले जुत्ता चप्पल सिउने सामग्री जफत गरेर लगेपछि उनी जस्तै छ जना सार्की समुदायका व्यक्तिको जीविकोपार्जनमा समस्या हुन थालेको छ ।
‘वर्षौँदेखि सडक छेउमा बसेर जुत्ता चप्पल सिउँदै आएका हौँ,’ उनले भने, ‘कहिल्यै कसैले हट्नुपर्छ भनेन, एकाएक आएको नगर प्रहरीले सिउने सामानसहित दिनभरको कमाइ रु ८०० कमिजको खल्तीमा थियो, गर्मी भएकाले कमिज खोलेर सिउने सामानसँग राखेको थिएँ,उनले भने,“सोही कमाइबाट चामल, दाल र तरकारी किन्ने योजना थियो, रकम लगेपछि भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।’
काम गर्ने सामान जफत गरेर लगेपछि रोजीरोटी खोसिएको उनको भनाइ छ । डम्बर जस्तै जुत्ताचप्पल सिउने कार्यमा संलग्न कमले सार्कीको पनि सामान नगर प्रहरीले लगेको छ । सामानसँगै रु दुई हजार र ग्राहकले सिउन दिएका तीन जोर जुत्ताचप्पल पनि जफत गरेर लगेको कमलेले बताए । ‘ग्राहकले सिउन भनेर दिएका समान लगेपछि कहाँबाट उपलब्ध गराउने भन्ने पिरलो छ,’ उनले भने, ‘दैनिक जुत्ता चप्पल सिलाइबाट भएको कमाइले परिवारको दुई छाक टर्छ, ग्राहकको सामान दिनुपर्छ, दिन नसके पैसा दिनुपर्छ, कहाँबाट ल्याउने ?’
पुर्खौँदेखि यही पेसा अगाल्दै आएको बताउँदै धनबहादुर सार्कीले अरु काम गर्ने सीप नहुँदा यसलाई निरन्तरता दिइएको बताए । ‘यसरी सामान लगेर हामीलाई जीविकोपार्जनमा समस्या भयो, हाम्रो रोजीरोटी खोसियो,’ उनले भने । सडक छेउमा बस्न नदिने भए व्यवस्थित स्थान तोकि सोही अनुसारको व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने धर्मे सार्कीले माग गरे ।
‘यसरी हामीलाई कामबाट बञ्जित गर्न हुँदैन । निश्चित स्थान तोकेर सहज रुपमा काम गर्न पाउने वातावरण बनाउनु स्थानीय सरकारको दायित्व हो,’ उनले भने । झलारी बजारका बासिन्दा जयबहादुर ऐरले सडक छेउमा बोरा बिछ्याएर जुत्ता सिलाइ गर्ने बृद्ध सार्की समुदायका व्यक्तिले कमाएको रकम र जफत गरिएको सामान नगरपालिकाले फिर्ता गर्नुपर्ने बताए ।
‘दैनिक काम गरेर जीविकोपार्जन गर्ने समुदायको काम गर्ने सीप खोसिएको छ, नगरपालिकाले निश्चित ठाउँको व्यवस्था गरी जफत गरिएका सामान फिर्ता दिएर काम गर्ने वातावरण बनाउनु पर्छ,’ उनले भने । नगरपालिकाले उनीहरुको व्यवसायलाई आधुनिकीरण गरी बजार क्षेत्रमा स्थान छुट्ट्याएर काम गर्ने वातावरण कायम गर्नुपर्ने ऐरले बताए ।
वर्षौँदेखि झलारी बजारमा जुत्ता सिउने, चम्काउने कार्यमा संलग्न सार्की समुदायका व्यक्तिको रोजीरोटीको वैकल्पिक व्यवस्था नगरी जफत गर्ने कार्य मानव हधिकार विपरित भएको दलित अधिकारकर्मी सिबी लुहारले बताए । ‘समाजमा पछाडी पारिएका परिवारको चुलो बन्द गर्न पाइँदैन,’ उनले भने, ‘नगर प्रमुखलाई भेटेर यसबारे छलफल गर्छौँ, जफत गरिएका सामान र नगद रकम फिर्ता गरी उहाँहरुको दैनिकी सहज बनाउन सहजीकरण गर्नेछौँ ।’
जफत गरिएका सामान फिर्ता गर्न आवश्यक छलफल गरी पहल गर्ने शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता लालबहादुर ऐरले बताए । ‘रोजीरोटी कसैको खोसिनु हुँदैन, वैकल्पिक कुन ठाउँमा बस्न दिने भन्नेबारे छलफल गरी समन्वय गर्नेछौँ, सडकको क्षेत्राधिकार पनि मिच्नु हुँदैन,’ उनले भने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कञ्चनपुर