पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स सङ्क्रमणको जोखिम बढेको छ । भारतमा हालै एक जनामा एमपक्स सङ्क्रमण पुष्टि भए पनि अझै नाकामा सावधानी अपनाइएको छैन । भारतबाट गड्डाचौकी नाका भएर दैनिक ३०० को हाराहारीमा मानिस स्वदेश फर्किंदैछन् ।
भारतबाट फर्किनेको सामान्य जाँच पनि नहुँदा सङ्क्रमणको जोखिम बढेको हो । गड्डाचौकीस्थित ‘हेल्थ डेस्क’मा भारतबाट फर्किनेमा कोरोना, डेङ्गु, एचआइभीलगायत रोग जाँच गर्ने गरिन्छ । उपकरण अभावमा एमपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले बताए ।
‘हामीसँग उपकरण छैन । एमपक्स सम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ,’ उनले भने, ‘नेटमा हेरेर थाहा पाएको लक्षण मिल्दा मानिस आएमा निगरानी राख्छौँ । लक्षण, हाउभाउ हेरेर स्क्रिनिङ मात्रै गर्ने गरिएको छ ।’ उनका शङ्कास्पद लक्षण देखिए अस्पताल रेफर गर्ने गरिएको छ । हालसम्म शङ्कास्पद लक्षण देखिएका सात जनालाई रेफर गरिएको उनको भनाइ छ ।
भारतको विभिन्न ठाउँबाट दैनिक भित्रिने करिब अढाइ सय मानिसको स्क्रिनिङ भइरहेको छ । पैदल हिँडेर आउने मानिस स्क्रिनिङ पर्ने भए पनि सवारीसाधनबाट आउने मानिसको स्क्रिनिङ नै गर्न नसकिएको ल्याब टेक्निसियन धामी बताउँछन् । ‘गाडीमा आउनेहरू नाकामा रोकिँदैनन् । सिधै जान्छन् । त्यसैले उहाँहरूलाई स्क्रिनिङ नै गर्न भ्याइँदैन,’ उनले भने ।
गड्डाचौकी नाका भएर महेन्द्रनगरदेखि दिल्ली र देहरादुनसम्म मैत्री बससेवा पनि सञ्चालनमा छन् । करिब एक दर्जन बसमा आउने यात्रु पनि जाँच नगरिकनै भित्रिने गरेका छन् । कतिपय यात्रु तेस्रो मुलुकबाट दिल्ली विमानस्थल हुँदै पनि आउने गरेका कारण सङ्क्रमणको जोखिम रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीका अनुसार सरकारले नाकामा स्क्रिनिङ गर्नका लागि पत्राचार गरेको छ । ‘एमपक्स जाँचका लागि हामीसँग किट उपलब्ध छैन । स्क्रिनिङ गर्ने भन्ने परिपत्र आएको छ । हामीले त्यहीअनुसार गरिरहेका छौँ,’ उनले भने, ‘स्क्रिनिङमा शङ्कास्पद देखिएकालाई अस्पताल जान भनेर काउन्सिलिङ गर्ने गरेका छौँ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कञ्चनपुर