बाँकेमा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको छ । विगत चार वर्षदेखिको तथ्याङ्क अनुसार बाँकेका विभिन्न पालिकामा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको हो । औलोका बिरामीहरुको सङ्ख्या बढ्दै जाँदा जिल्लामा औलो रोगको जोखिम कायमै रहेको पाइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औलो रोगका बिरामीहरु बढ्दै गएका हुन् । उनका अनुसार स्थानीय समुदायका व्यक्तिभन्दा बाहिरबाट आएका आयातित व्यक्तिहरु सङ्क्रमण भएर समुदायमा आउँदा औलो रोगका बिरामीहरु बढी पाइएको हो । फोकल पर्सन गौतमले पछिल्ला केहि वर्षदेखि जिल्लामा औलोका केसहरु बढ्दै गएको पाइएको बताइन् ।
‘बाहिरबाट सङ्क्रमण भएर आएका आयातित बिरामीहरुमा यो रोग बढि पाइएको छ,’ फोकल पर्सन गौतमले भनिन्, ‘हाम्रो गुणस्तरीय सेवा र प्रभावकारी सेवाका कारण पनि पछिल्लो समयमा धेरै केस पत्ता लागेको छ । सङ्क्रमण भएर हाम्रो सम्पर्कमा आउनुभएका बिरामीहरुको घरमै पुग्छौं, तीन दिनभित्र बिरामीको घरमा गएर एक महिना अघिको ट्राभल हिस्ट्री लिन्छौं बिरामीको वरिपरि रहेका सबै समुदायको समेत रगत चेकजाँच गर्छौं,’ उनले भनिन् ।
उनका अनुसार समुदायमा केस बढ्ने वित्तिकै जोखिम त हुन्छनै, जोखिम न्यूनीकरण गर्नका लागि उच्च सङ्क्रमण भएका ठाउँलाई उच्च, मध्यम र न्यून जोखिम क्षेत्रमा वर्गीकरण गरेर रोकथामका लागि पहल गरिएको छ । उच्च र मध्यम जोखिम क्षेत्रमा विषादीयुक्त झुल वितरण गर्ने, समुदायका सबैको रगत परीक्षण गर्ने तथा लामखुट्टे नियन्त्रणका लागि विषादी छिट्नेलगायतका कामहरु गर्दै आएको फोकल पर्सन गौतमले बताइन् ।
बिरामीहरु सुरुमै सरकारी स्वास्थ्य संस्थामा चेकजाँच गराउन नआउनु, निजी क्लिनिक तथा अस्पतालहरुमा आफूखुसी जाँच गराउन जानु, आफूखुसी औषधीको प्रयोग गर्नु र सिरियस अवस्थामा मात्र औलो रोगको परीक्षण गराउनुले पनि नियन्त्रणमा समस्या देखिएको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६–०७७ मा जिल्लाका विभिन्न पालिकामा ५६ जना सर्वसाधारणलई औलो रोग पुष्टि भएको थियो ।
त्यसपछि आर्थिक वर्ष २०७७–०७८ मा ४२ जना, आर्थिक वर्ष २०७८–०७९ मा १०६ जना, आर्थिक वर्ष २०७९–०८० मा १२२ जना र गत आर्थिक वर्ष २०८०–०८१ मा १६२ जना सर्वसाधारणमा औलो रोग पुष्टि भएको थियो । तथ्याङ्क अनुसार विगत चार वर्षदेखि लगातार रुपमा औलो रोगका बिरामीहरु बढिरहेको पाइएको हो । गत आवमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिकामा औलोका बिरामीहरु फेला परेका हुन् । नरैनापुरमा १३१ जनामा औलो रोग पुष्टि भएको थियो ।
राप्तीसोनारीमा नौ जना, डुडुवामा आठ जना, नेपालगन्जमा सात जना, कोहलपुरमा तीन जना, बैजनाथ र खजुरामा दुई–दुई जनामा औलो रोग पुष्टि भएको थियो । त्यसैगरी जानकीमा भने शून्य थियो । त्यसैगरी, आर्थिक वर्ष २०७९–०८० मा पनि नरैनापुरमा १०३ जना, नेपालगन्जमा १० जना, कोहलपुरमा चार जना, राप्तीसोनारी र खजुरामा दुई–दुई जना, जानकीमा एक जनामा औलो रोग पुष्टि भएको थियो । त्यसैगरी उक्त आर्थिक वर्षमा डुडुवा र बैजनाथमा भने शून्य पाइएको थियो । नेपाल सरकारले औलो रोगलाई सन् २०२५ सम्ममा नेपालबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर, औलो रोगीको सङ्ख्या बढ्दै जाँदा चुनौती देखिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके