सूचनाको शक्ति - The Power Of Information

        

कहीँ नभएको जात्रा सशस्त्र प्रहरीमा, डिआइजीलाई लाग्यो दशैँ

सशस्त्र प्रहरीमा ठूलालाई चैन सानालाई ऐन भएको छ । खासगरी सामाजिक संस्थाले दिने आवासीय तालिममा पठाउदासमेत तत्कालीन मानवस्रोत विभाग प्रमुख सीपी गौतमले सशस्त्र प्रहरी संगठनबाट पाउने सेवा सुविधाबाट बञ्चित गरेपछि यस्तो भएको हो ।

घटनाक्रमअनुसार सशस्त्र प्रहरीमा केही काम कारबाही सिस्टम होइन व्यक्ति केन्द्रित भएर चल्ने गरेका छन् । त्यसमा कुनै पूर्वयोजना भन्दा पनि कसलाई फाइदा हुन्छ भन्ने हेरिने र सेटिङ मिलाएर काम गरिन्छ । केही समयअघि सिटिइभिटीको समन्वयमा सशस्त्र प्रहरीका महिला कर्मचारीलाई ब्युटिसियन तालिम दिने भनेर नाम संकलन गरिएको थियो । काठमाडौँमा तालिम हुने भनेर धेरैको नाम संकलन भएको थियो ।

तर, काठमाडौँमा हुने भनिएको तालिम दशैं तिहारको नजिक पारेर धादिङमा गर्ने निर्णय गराइयो । यसको कारण के थियो भने धादिङ गुल्मकी कमान्डर डिएसपी लक्ष्मी थपलियाको फाइदाका लागि । उनी पहिले सशस्त्र प्रहरीको महिला संघमा समन्वय अधिकृत थिइन् । सशस्त्र प्रहरी परिवार महिला संघले गर्न लागेको तालिम उनकै इन्ट्रेस्टमा धादिङ पु¥याइयो, जुन आफैमा आश्चर्यजनको भएको स्रोतले जनाएको छ ।

काठमाडौँमा तालिम भनेर नाम टिपाइयो तर, पछि धादिङ लगेर तालिम गर्ने भनेपछि धेरैले जान नसक्ने भन्दै नाम काटेका थिए । ‘दशैं तिहारमा लामो बिदा हुने र तालिममा गएकालाई पनि बिदा छोडेर राशनको पैसा उठाउने उदेश्यले मात्र त्यहाँ तालिम गराइएको हो’, स्रोतले भन्यो ।

अब ती तालिमले चाडपर्वमा लामो बिदा गए पनि पुरै राशनको पैसा गुल्ममा बुझाउनुपर्छ हलचोकमा चर्चा चल्ने गरेको छ । त्यतिमात्र होइन तालिममा जान नाम टिपाएकाहरूले फिर्ता लिदा भविष्यमा विभागबाट आउने कुनै पनि तालिममा जान्न र सेवा सुविधा लिन्न भन्ने कबुलियतनामा गराइएको स्रोतले जनाएको छ ।

‘संगठनभन्दा बाहिरबाट आएको कार्यक्रममा जान सक्दिनँभन्दा विभागीय सेवा सुविधा लिन्न भनेर कागज गर्नुपर्ने रहेछ, राम्रो भएन, यसले संगठनमा नकारात्मक सन्देश गएको छ’, एक महिला अधिकृतले भनिन् । तालिमका लागि दुई हप्ता अघि नै सशस्त्र प्रहरीका महिला कर्मचरीलाई धादिङ पठाइएको छ ।

यता, कुनै व्यक्ति कमान्डको लागि केसम्म गर्छ भन्ने सशस्त्र प्रहरीको कीर्तिपुर स्कुलमा देखिएको छ । स्कुल स्थापनाभएदेखि डिएसपी कमान्डेन्ट रहदै आएकोमा अहिले एसएसपी भुपेन्द्र केसीलाई पठाइएको छ । कमाउ अड्डा र कमाण्ड बिना बस्न नस्कने रोग लागेका केसीले केही दिन अघि डिएसपीबाट स्कुलको चार्ज बुझेका छन् ।

एसपी र एसएसपीको दरबन्दी नै भएको स्कूलमा उनी किन गए भन्ने प्रश्न उठेको छ । अझ रोचक त के छ भने, मधेश प्रदेशतिर आफ्नै मातहत जस्तो गरी सशस्त्र प्रहरीका अन्य स्कुलको तामझामका साथ निरीक्षण गर्दै हिंडेका छन् । बिगत देखिनै केही मुठ्ठिभरका व्यक्तिका लागि संगठन उर्भर भूमि भएको छ, जुन आजसम्म पनि कायमै छ’, एक अधिकृतले भने ।

डिआइजीलाई लाग्यो दशैँ

राजश्व चुहावट नियन्त्रण गर्ने, भन्सार कार्यालयलाई चुस्त दुरुस्त राख्ने, सीमा नाकालाई कडिकडाउ गर्ने भाषण प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीले गरिरहेका छन् । नयाँ सरकार बनेदेखि नै यस्तो भाषण निरन्तर कानमा गुन्जिएको छ । अझ सशस्त्र प्रहरी र नेपाल प्रहरीका आइजीपीहरू हल बाँधेर नै देश दौडाह सकेर काठमाडौँ फर्केका छन् ।

तर, सशस्त्र प्रहरीमा उच्च अधिकारीहरूले सीमा नाकालाई व्यवस्थित गर्न सकेका छैनन भने डिआइजीहरू नै घुमुवा परिचालन गरेका समाचारहरू आउन थालेका छन् । मधेश प्रदेशको नजिक रहेको बागमती प्रदेशको कमाण्ड सम्हालेका डिआइजी गणेश ठाडामगरमाथि अहिले सबैतिरबाट प्रश्न सोझिएको छ । रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी, मकवानपुरको मनोहरीजस्ता स्थानमा उनको विशेष चासो रहेको छ ।

मनोहरीमा ढाट चलाउने गरेको स्रोतको दाबी छ । उता, चितवनमा त उनका पुराना घुमुवाहृ परिचालन गरिरहेका छन् । उनी छिन्नमस्ता बाहिनीपति हुँदा सबैभन्दा बढी तस्करी भएको उजुरी सशस्त्र प्रहरी मुख्यालयमा परेको थियो । त्यसको ह्याङओभर अझै नगएकाले पर्सा र बाराबाट काठमाडौ प्रवेश गर्ने नाका मकवानपुरलाई उनले अहिले प्रयोग गरिरहेको स्रोतको दाबी छ ।

मधेश प्रदेशका डिआइजी कालीदास धौबजीलाई समेत सेटिङ मिलाउने काममा उनी लागेको स्रोतको दाबी छ । विगतमा पटक पटक कारबाहीमा समेत परेका डिआइजी गणेश ठाडामगर मकवानपुरमा बसेर लाइन चलाई रहेको स्रोतको दाबी छ । मकवानपुर जानुअघि चलखेलकै आधारमा छिन्नमस्ता बाहिनीमा पुगेका उनले सुरुदेखि नै तस्करीको सेटिङ मिलाएका थिए भने मकवानपुर पुगेपछि त्यसलाई थप निरन्तरता दिएको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा रहँदा उनको तर्फबाट खटिएका सादा पोशाकका वरिष्ठ हवल्दार राजु मगरसहित दुई जना पक्राउ परेका थिए । भारतबाट सामान ओसारपसार गर्ने मदन गुप्ता रुन्चे र इमरानको सामान सिभिलमा खटिएका मगरको टोलीले बरामद गरेको थियो ।

गुप्ताले भन्सार छलीका कपडा ल्याएका थिए भने इमरानले जुत्ता ल्याएका थिए । सादा पोशाकमा रहेको मगरको टोलीले ती सामान समातेपछि भन्सार वरपर रहेका मानिसहरूले सोधीखोजी गर्न थाले । सोधीखोजी गरेपछि विवाद बढ्दै गयो । त्यसपछि प्रहरीले रकम असुल्न खोजेको आरोपमा उनका घुमुवालाई पक्राउ गरेर त्यतिबेला छाडिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १२:२७

लोकप्रिय