सूचनाको शक्ति - The Power Of Information

        

छाडा चौपायका कारण बाँकेमा १९ दुर्घटना, एक जनाको मृत्यु

नेपालगन्जको धम्बोझी चोकमा पुगेका छाडा चौपाया ।

बाँके जिल्ला र नेपालगन्ज सहरका लागि छाडा पशुचौपाया नयाँ समस्या होइन । तर, लामो समयदेखि यो समस्याको स्थायी समाधान नगरिंदा दुर्घटना बढ्दै गएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा सडकमा छोडिएका छाडा चौपायाकै कारण १९ वटा दुर्घटना भएका छन् ।

ती दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना अन्य गम्भीर घाइते भएका छन् । सोही अवधिमा सडक दुर्घटनामा परी १३ चौपाया मरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को हालसम्म छाडा चौपायाका कारण भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

नेपालगन्ज, कोहलपुर र राँझा लगायतका सहरी क्षेत्रमा सडकमा जताततै भेटिने छाडा चौपायाले गर्दा दुर्घटना हुने क्रम भने रोकिएको छैन । चौपायाका कारण जबजब कुनै दुर्घटना हुन्छ त्यति बेला स्थानीय सरकारले चौपाया व्यवस्थापन गरेको जस्तो गर्ने अनि त्यसपछि चुप लागेर बस्ने गरेको नेपालगन्जबासीहरु बताउँछन् । नेपालगन्जका वयवसायी कृष्णप्रसाद श्रेष्ठले यो समस्या उठाउँदा उठाउँदा आफूहरु थाकिसकेको बताए ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिकाले फेरि छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ । रत्न राजमार्गको कोहलपुर नेपालगन्ज खण्डमा चौपायाकै कारण सडक दुर्घटना बढ्न थालेपछि स्थानीय प्रशासनको सहयोगमा फेरि पनि व्यवस्थापन सुरु गरिएको नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले बताए । उनले उपमहानगरपालिका–२१ स्थित विर्तामा निर्माण गरिएको गौशालामा छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालिएको जनाउँदै ३५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको सो गौशालामा गाइगोरु र घोडासहित १२६ चौपाया राखिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार ०८:३३

लोकप्रिय