सूचनाको शक्ति - The Power Of Information

        

आतङ्कवादमा संलग्न भनिएका डीएसपीसहित तीन नेपालीबारे के भन्छ नेपाल प्रहरी ?

नेपाल प्रहरीका डीएसपीसहित तीन जना नेपालीहरू आतङ्कवादी गतिविधिमा संलग्न रहेको आशङ्कामा सिंगापुर प्रहरीले केही महिनाअघि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । अहिले नेपाल प्रहरीको इन्टरपोल शाखाले त्यसबारे सिंगापुर प्रहरीलाई जवाफ पठाएको छ ।

डीएसपी हेमबहादुर शाही, कालिकोटका महेन्द्रजंग शाह र दीपेन्द्रबहादुर शाह अन्तर्राष्ट्रिय इस्लामिक आतङ्कवादी संगठन (आइएसआइएस)मा आबद्ध भएको आशङ्कामा सिंगापुर प्रहरीले पत्राचार गरेको थियो ।

तर, उनीहरू इस्लामिक आतङ्कवादी संगठनमा ‘आबद्ध नरहेको’ भन्दै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सिंगापुरलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । ती अधिकृतले भने, ‘उनीहरूको संलग्नताबारे केही पनि देखिएन । त्यसबारे सिंगापुरलाई जवाफ पठाइसकेका छौँ ।’

घटना के थियो ?

कालिकोटका महेन्द्रजंग शाह लामो समयदेखि खाडी मुलुकमा बस्थे । एकपटक हेमबहादुर शाही र दीपेन्द्रबहादुर शाह मलेसिया घुम्न जाँदा महेन्द्रजंगको गाडीमा सिंगापुर प्रवेश गर्न खोजे । महेन्द्रजंग पनि सँगै थिए । त्यसपछि सिंगापुरको अध्यागमन कार्यालयले महेन्द्रजंग ‘शङ्कास्पद सूची’मा भएको भन्दै उनीहरूले तीनै जनालाई सिंगापुर प्रवेश गर्न दिएन ।

हेमबहादुर शाहीले आफू नेपाल प्रहरीको डीएसपी भएको कुरा पनि बताएका थिए । तर, पनि उनीहरूले प्रवेश पाएनन् । त्यसपछि आफ्नो विवरण दिएर उनीहरू मलेसिया नै फर्किए । महेन्द्रजंगलाई एकपटक मलेसियाले डिपोर्टसमेत गरेको खुलेको छ ।

मलेसियाले डिपोर्ट गरेपछि नेपाल फर्केका महेन्द्रजंगलाई काठमाडौँमा पक्राउ गरेर प्रहरीले अनुसन्धान पनि गरेको थियो । तर, अहिले उनीहरू तीनै जना कुनै पनि आतङ्कवादी गतिविधिमा संलग्न नरहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘महेन्द्रजंग चाहिँ सिंगापुरको शंकाको घेरामा रहेछन्, अरूको केही देखिँदैन ।’

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार ०७:०७

लोकप्रिय